राष्ट्रपतिले फिर्ता गरेको नागरिकता विधेयक ‘फास्ट ट्र्याक’मा अगाडी बढ्ने !

काठमाडौँ, राष्ट्रपति विद्यादेवी भण्डारीबाट पुनर्विचारका लागि प्रतिनिधि सभामा फिर्ता पठाइएको विधेयक फास्ट ट्र्याकमा अघि बढ्ने भएको छ । राष्ट्रपतिबाट विधेयक फिर्तासम्बन्धी जानकारी प्रतिनिधि सभामा मङ्गलबार पेस भइसकेको छ । यो समाचार गोरखापत्र दैनिकमा प्रकाशित छ।

सत्ता गठबन्धनले समेत फिर्ता पठाइएको विधेयकको प्रक्रिया तत्काल अघि बढाउने निर्णय गरिसकेको छ । दलहरूसँगको परामर्शका आधारमा संसद् सचिवालयले भदौ २ गतेको बैठकमा विधेयक अघि बढाउने तयारी गरेको छ । सम्भवतः भदौ २ गतेको बैठकमा विधेयकको प्रक्रिया अघि बढ्नेछ ।

सत्तारूढ दल नेपाली कांग्रेसका संसदीय दलका सचेतक मीन विश्वकर्माले विधेयक चाँडो टुङ्ग्याउने दलहरूकै निर्णयअनुसार अघि बढ्ने बताउनुभयो । उहाँले भन्नुभयो, “चाँडो टुङ्गोमा पु-याउनुपर्ने अवस्था छ । दलहरूको निर्णय पनि त्यही छ । आउँदो बैठकबाट अघि बढ्न सक्छ ।”

तर प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले भने विधेयक फिर्तापछि कसरी अघि बढाउने भन्नेमा औपचारिक रूपमा आफूहरूसँग कुनै परामर्श नभएको जनाएको छ । संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले भन्नुभयो, “हामीसँग यसबारे औपचारिक परामर्श भएको छैन ।”

यसअघि पनि नागरिकता विधेयकको प्रक्रिया फास्ट ट्र्याकमा नै अघि बढेको थियो । विधेयक दफावार छलफल समितिमा नपठाई सदनमै भएको थियो । पारितका अन्य प्रक्रिया भने यथावत् राखिएको थियो । राष्ट्रिय सभामा पनि विधेयक समितिमा नपठाई छलफल गरेर पारित गरिएको थियो ।

अब विभागीय मन्त्रीले विधेयकको पुनर्विचारका विषयमा सदनमा प्रस्ताव गर्नुपर्ने छ । त्यसरी प्रस्ताव गर्दा विधेयकमा सदनमै वा समितिमा पठाएर छलफलको प्रस्ताव हुनेछ । संसद्ले विधेयकलाई यथास्थितिमा वा परिमार्जन गरेर पठाउन सक्नेछ । प्रतिनिधि सभाको प्रक्रिया पूरा भएपछि विधेयक राष्ट्रिय सभामा जानेछ । दुवै सदनबाट पारित विधेयक प्रमाणीकरणका लागि पेस भएको १५ दिनभित्र प्रमाणीकरण हुनुपर्ने संवैधानिक व्यवस्था छ ।

दुवै सदनबाट पारित भई साउन १५ गते प्रमाणीकरणका लागि पठाइएको थियो तर विधेयक प्रमाणीकरण नगरी राष्ट्रपति भण्डारीले केही व्यवस्थामा ध्यानाकर्षण गराउँदै पुनर्विचारका लागि फिर्ता पठाउनुभएको थियो । फिर्तामा सत्ता गठबन्धनमा आबद्ध दलका नेताहरूको मिश्रित प्रतिक्रिया हुँदा प्रमुख प्रतिपक्ष दल एमालेले भने स्वागत गरेको छ ।

प्रकाशित : बुधबार, भदौ ०१, २०७९०६:५०

आफ्नो मत ब्यक्त गर्नुहोस् :

७ वर्ष हन्डर र ठक्कर खाएपछि अन्ततः माओवादीकै शरणमा !