काठमाडौँ – नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य वर्षमान पुन अनन्तले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को टोल-टोलमा सालिक बनाएर पूजा गर्ने दिन आउने दावी गरेका छन्।
रामेछापको दोरम्बास्थित डाडाकटेरीमा आयोजित एक कार्यक्रममा सम्बोधन गर्नेक्रममा पुनले प्रचण्डको टोल-टोलमा सालिक बनाएर पूजा गर्ने दिन आउने दावी गरेका हुन्। केन्द्रीय कार्यालय इन्चार्ज समेत रहेका पुनले राजनीतिक परिवर्तन र सामाजिक जागरणका लागि प्रचण्डले ठूलो भूमिका खेलेको बताए।
जनयुद्ध प्रचण्डको नेतृत्वमा भएको र जनयुद्धले नै दलित, महिला, मधेसी र जनजाति समुदायमाथि वर्षौंदेखिको थिचोमिचो र अत्याचार अन्त्य गराएको पुनको दावी छ। त्यसक्रममा पुनले प्रचण्डले शुरु गरेको अभियानकै कारण डाक्टर रामवरण यादव र विद्यादेवी भण्डारी राष्ट्रपति बन्ने अवस्था बनेको पुनले बताए।
पुनका अनुसार यादव र भण्डारीले प्रचण्डसँगको भेटमा पटक-पटक आफूहरू राष्ट्रपति हुनुमा माओवादीको योगदान रहेको भन्दै धन्यवाद दिने गरेका छन्। पूर्वराष्ट्रपति यादवले तराईमा भैंसी चराउने मानिसलाई माओवादी जनयुद्धले उच्च पदमा पुर्याएको बताउने गरेको पुनले सुनाए।
“मधेसी जनता, महिला, जनजाति, दलित सबैलाई बोल्न सक्ने र राज्य सञ्चालनको तहमा ल्याउने काम प्रचण्ड नेतृत्वको माओवादीले गरेको हो। अहिले प्रचण्डको धेरै गाली गरेको सुनिन्छ। तर, समाज रुपान्तरण र जागरणका लागि खेलेको भूमिकाका कारण कुनै दिन चोक–चोकमा प्रचण्डको शालिक बनाएर पूजा गर्ने दिन आउँछ।”,पुनले भने।