भारतले धोका दिए पनि चीनले दिने भयो साथ, किन्ने भयो नेपाली चिया !

काठमाडौँ, नेपाली चिया आयात गर्न चिनियाँ सरकार सकारात्मक रहेको जनाइएको छ । नेपालले चिया निर्यातका लागि जीटुजी (सरकार–सरकारबीच) सम्झौताको प्रस्ताव गरेकामा चिनियाँ पक्षले सकारात्मक प्रतिक्रिया दिएको राष्ट्रिय चिया तथा कफी विकास बोर्डका निर्देशक डा. दीपक खनालले जानकारी दिनुभयो । यो समाचार गोरखापत्र दैनिकमा प्रकाशित छ।

त्यहाँ भएको दुईपक्षीय छलफलमा नेपाली चिया आयातका लागि चीन सकारात्मक भएको त्यहाँ रहेको नेपाली दूतावासका अधिकारीले आफूलाई जानकारी पठाएको निर्देशक खनालले बताउनुभयो ।

परराष्ट्रमन्त्री नारायण खड्काको नेतृत्वमा चीन भ्रमणमा गएको टोलीले सो प्रस्ताव गरेको हो । मन्त्री खड्कासहितको टोलीले गत साता चीनको भ्रमण गरेको थियो ।

नेपाली चिया निर्यातका विषयमा चीनसँग यसअघिदेखि नै कुराकानी भइरहेको थियो । त्यसबारे केही कागजात पनि आदानप्रदान भइसकेको छ । यस पटक दुवै सरकारबीच सम्झौता गर्नका लागि प्रस्ताव नै पठाएको उहाँले बताउनुभयो ।

चिया नेपालको मुख्य निर्यात वस्तु हो । आव २०७७/७८ मा तीन अर्ब ७९ करोड रुपियाँको ११ हजार ९२० मेट्रिक टन र २०७६/७७ मा दुई अर्ब ७८ करोड रुपियाँको ११ हजार १८५ मेट्रिक टन चिया निर्यात भएको थियो ।

अहिले नेपाली चियाको मुख्य बजार भारत हो । नेपालको कुल चिया निर्यातको ९० प्रतिशत भारतमा हुने गरेको छ तर नेपाली चिया भारतमा निर्यात गर्दा समयसमयमा झन्झट आउने गरेको छ ।

भारतले बेलाबेलामा नेपाली चियाबारे भ्रम सिर्जना गरेका कारण बजारमा नकारात्मक धारणा फैलने गरेको र त्यसले निर्यात प्रभावित हुने गरेपछि भारतको विकल्पमा बजार खोज्नुपर्ने बाध्यता आएको उहाँले बताउनुभयो ।

भर्खरै भारतको लोक सभा र राज्य सभामा प्रस्तुत विधेयकमा भारतमा निर्यात हुने चियामा परिमाणात्मक बन्देज लगाउनुपर्ने र भन्सार कर लिनुपर्ने प्रावधान राखिएको छ ।

भारतको संसदीय समितिले चियाबारे अध्ययन गर्दै नेपाललगायत विभिन्न देशको चिया न्यून गुणस्तरको भएको प्रतिवेदन दिएको छ ।

प्रकाशित : मङ्गलबार, साउन ३१, २०७९०९:२६

आफ्नो मत ब्यक्त गर्नुहोस् :

जब निर्वाचन आयोगले कांग्रेस दल दर्ता गर्न मानेन …