काठमाडौँ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले फोहोरको रास लगाएर कुहिएको खेल खेलेर राजनीतिको नाम नदिन आग्रह गरेका छन्। सत्तारुढ दल आबद्ध नेताहरूले फोहोरमैला व्यवस्थापन अवरुद्ध गर्ने चेतवानी दिएसँगै साहले सामाजिक संजाल मार्फत फोहोरको रास लगाएर कुहिएको खेल नखेल्न आग्रह गरेका हुन्।
आइतबार मात्रै सत्तारुढ तीन दल नेपाली कांग्रेस, माओवादी केन्द्र नेकपा एकीकृत समाजवादीका धुनिबेंसी-१ वडा समितिले नगरसमितिलाई संयुक्त पत्र लेख्दै बन्चरेडाँडामा फोहोर मैला दीर्घकालीनरुपमा बन्द गर्न आग्रह गरेको थियो।
बन्चरेडाँडाका स्थानीयहरुले गरिरहेको आन्दोलनलाई समर्थन गर्ने तीनै पार्टीको निर्णय छ। सो निर्णय बाहिर आएसँगै साहले विभिन्न बखेडा झिकेर फोहोर व्यवस्थापनमा अवरोध गर्न खोजिएको बताएका छन्।
संविधानले परिकल्पना गरेको राज्य प्रणालीविपरीत एउटा सरकारले अर्को तहको सरकारलाई असहयोग गर्ने काम भएको साहको भनाई छ। एक स्थानीय तहले अर्को स्थानीय तहलाई असहयोग गर्नु असभ्य र स्वार्थी होइन भन्दै साहले प्रश्न समेत गरेका छन्।
” हामीले र हाम्रो संविधानले जुन राज्य प्रणालीको परिकल्पना गरेको छ, त्यसमा एउटा सरकारको तह र अर्को तहको आपसी समन्वय तथा मेलमिलापको नै कल्पना गरिएको छ । यसका विपरित एउटा सरकारले अर्को तहको सरकारलाई असहयोग गर्नु पर्ने, असफल नै बनाउनु पर्ने खेल किन गरिन्छ ? हामी त्यति धेरै असभ्य र स्वार्थी किन छौँ ? फोहोरको रास लगाएर त्यो भित्र झन् कुहिएको खेल खेलेर त्यसलाई राजनीतिको नाम नदिउँ । राजनीति त्यस्तो हुदैन । त्यस्तो राजनीतिले कसैलाई अगाडि बढाउँदैन । यसमा हेक्का राखौँ ।”,साहले सामाजिक संजालमा लेखेका छन्।
बालेन साहको भनाई जस्ताको तस्तै निम्न छ –
हामीले हिजो जानकारी गराएका थियौँ कि केहि अबरोध नभएमा आजबाट दैनिक २५० देखि ३५० फोहोर बोक्ने गाडीहरुले बञ्चरे डाँडामा फोहोर लैजाने छन् । तर आज दुई स्थानमा अलग अलग कारणले सडक अवरुद्ध गरियो । यसैले आज ९० वटा फोहोरका गाडीहरु मात्र बञ्चरे डाँडा पुग्न पाए ।
आज दुई ठाउँमा सडक अवरुद्ध गर्नुका दुई कारणहरु थिए । १. कसैले फोहोर पानीको मुहानमा लगेर फ्यालिदियो भन्ने । यसमा दोषीलाई पत्ता लगाएर कारबाही पनि भइसक्यो । २. फोहोर बोक्ने गाडीले बाख्रा मारेको भन्ने । यसलाई पनि समाधान गर्यौँ । यी दुई अवरोध हटाउने बित्तिकै अर्को अवरोधको कसरत हुँदै गरेको भन्ने जानकारी पाएका छौँ ।
वास्तवमै त्यो कसरत हो भने त्यो बिडम्बनापुर्ण हुनेछ । बञ्चरे डाँडमा फोहोर व्यवस्थापनका लागि कतिपय संरचनाहरु बनिसकेका छन् । भुमि लिन तथा संरचना निर्माणमा र प्रभावितहरुले पाउने सुविधा तथा मुअब्जा जस्ता काममा ५ अर्ब खर्च भइसकेको छ । यो झुक्याएर गरिएको पनि थिएन । यसका वैधानिक सम्झौताहरु छन् । ति सम्झौताहरुको पालना गर्नु सबैको कर्तव्य हो ।
सँगसँगै, हामीले र हाम्रो संविधानले जुन राज्य प्रणालीको परिकल्पना गरेको छ, त्यसमा एउटा सरकारको तह र अर्को तहको आपसी समन्वय तथा मेलमिलापको नै कल्पना गरिएको छ । यसका विपरित एउटा सरकारले अर्को तहको सरकारलाई असहयोग गर्नु पर्ने, असफल नै बनाउनु पर्ने खेल किन गरिन्छ ? हामी त्यति धेरै असभ्य र स्वार्थी किन छौँ ? फोहोरको रास लगाएर त्यो भित्र झन् कुहिएको खेल खेलेर त्यसलाई राजनीतिको नाम नदिउँ । राजनीति त्यस्तो हुदैन । त्यस्तो राजनीतिले कसैलाई अगाडि बढाउँदैन । यसमा हेक्का राखौँ ।