साम्पाङको सक्रियतामा १० दिनमै बिजुली, जनताले पनि दिए राम्रो साथ !

धरान, धरानको सर्दु खोलाबाट बिजुली उत्पादन भएको छ । धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राई (साम्पाङ)को सक्रियतामा १० दिनको श्रमदानबाट ७५० वाट क्षमताको टर्बाइन जडान गरी मिनी माइक्रो हाइड्रोपावर सञ्चालन गरेर बिजुली उत्पादन गरिएको हो । यो समाचार गोरखापत्रमा प्रकाशित छ।

पावर हाउसमा ३१ मिटरको हेडबाट पानी झारेर टर्बाइन घुमाएर बिजुली निकालिएको योजनाका प्रबन्धक तर्क मगरले जानकारी दिनुभयो । वाटको हिसाबले तीन सय र भोल्टको हिसाबले २४० भोल्ट बिजुली उत्पादन भएको र यसबाट हाललाई २० वटा चिम बाल्न सकिने उहाँले जानकारी दिनुभयो ।

स्थानीय सर्वसाधारणको उपस्थितिमा प्रमुख साम्पाङले पावर हाउसको उद्घाटन गर्नुभएको थियो । सानो परीक्षणका लागि गरिएको अभियानले सफलता पाएको अब बृहत् योजना अघि बढाउने लक्ष्य रहेको उहाँले बताउनुभयो । “यो सानो तर नमुना परियोजना हो । यसले धरानमा पनि बिजुली उत्पादन गर्न सकिन्छ भन्ने उदाहरणलाई पुष्टि गरेको छ,” उहाँले भन्नुभयो ।

स्थानीय बानियाँटारमा पोखरी बनाएर त्यहाँबाट धरानभरि बाल्ने गरी बिजुली उत्पादन गरिछाड्ने उहाँले प्रतिबद्धता पनि व्यक्त गर्नुभयो । हिउँदको समयमा हावाबाट बिजुली निकाल्ने आफ्नो योजना रहेको पनि उहाँले जानकारी दिनुभयो ।

धरानका उपप्रमुख आइन्द्रविक्रम बेघाले यो प्रोटोटाइपको मिनी माइक्रो हाइड्रोपावर हाउस भएकाले यसबारेमा अध्ययन गर्न चाहने विद्यार्थीलाई महत्त्वपूर्ण अध्ययन केन्द्र बनेको बताउनुभयो । परियोजनाको सफलतासँगै स्थानीय खोलानाला, खोल्सा आदिबाट पनि बिजुली उत्पादन गर्न सकिने सन्देश प्राप्त भएको धरानका स्थानीय रुपक खड्काको भनाइ छ । यो योजना सम्पन्न गर्न श्रमदानबाहेक करिब तीन लाख ५० हजार लगानी भएको छ । पावर हाउस निर्माणको क्रममा प्रोटोटाइपका लागि आवश्यक जेनेरेटर, भोल्ट मिटर, टर्बाइनजस्ता आवश्यक सामान इटहरीको इन्जिनियरिङ प्रालिले निःशुल्क उपलब्ध गराएको थियो । धरानमै पहिलो पटक बिजुली उत्पादन भएकामा स्थानीयवासीले खुसी व्यक्त गरेका छन् ।

प्रकाशित : शनिबार, साउन २८, २०७९०९:५८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

नागढुंगा सुरुङमार्गमा टनेलकाे काम ६० प्रतिशत सकियो !