काठमाडौँ – शीतलनिवासको भव्य महलभित्र बस्छिन्, राष्ट्रपति विद्यादेवी भण्डारी। त्यही महलअघि शुक्रबार एक महिलाले आत्मदाहको प्रयास गरिन्। ती महिलाले शरीरमा एक बोतल पेट्रोल खन्याइन्, अर्को बोतल खन्याउने तरखर गर्दै थिइन्। त्यसपछि सायद सलाई कोरेर शरीरमा आगो लगाउने योजनामा थिइन् उनी। यो समाचार नागरिक दैनिकमा प्रकाशित छ।
त्यत्तिकैमा प्रहरीले झम्टेर उनलाई बचायो। न्यायको भिख माग्दामाग्दै थाकेर उनी आत्मदाहको स्थितिमा पुगेकी हुन्। न्यायका लागि उनले परिवारको साथ खोजिन् तर तिरस्कृत मात्र भइन्, अदालत धाइन्, उल्टै अपमान खेपिन्, सरकारसँग महिनौं गुहार मागिन् तर त्यसले पनि सुन्दै सुनेन।
यसरी महिनौंको चित्कार कसैले नसुनेपछि उनी आत्मदाहको स्थितिसम्मुख पुगेकी हुन् ‘कुमारी आमा’ अर्थात् सोनालकुमारी सिंह (निहारिका राजपुत) । जलेश्वर नगरपालिका-८, महोत्तरीकी २१ वर्षीया निहारिका आफूमाथि बलात्कार भएको भन्दै २९ महिनादेखि न्यायको भिख माग्दै भौंतारिइरहेकी छन्। उनीसँग बलात्कारबाट रहेको गर्भबाट जन्मिएको दुई वर्षीय छोरा समेत छ। यसरी साढे दुई वर्षसम्म एक्लै न्यायका लागि भौंतारिँदा पनि न्याय मिल्ने छाँटकाँट नदेखिएपछि उनी आत्मदाहको स्थितिमा पुगेकी हुन्।
के थियो घटना?
निहारिका धनुषाको जनकपुरधाममा डेरा बसी होटल म्यानेजमेन्ट पढ्दै थिइन्। त्यसपछि धनुषाकै क्षीरेश्वरनाथ नगरपालिका–३ की एक साथीसँग उनको निकट मित्रता भयो। उनले निहारिकालाई सधैंजसो आफ्नो घर लग्थिन्। त्यही क्रममा ती साथीका दाइ २२ वर्षीय शिवराज श्रेष्ठसँग निहारिकाको चिनजान भयो।
२०७६ कात्तिक ६ गते शिवराजले नसालु पदार्थ खुवाएर आफूलाई बलात्कार गरेको निहारिकाले बताउँदै आएकी छन्। उनका अनुसार बलात्कारपछि शिवराजले नग्न तस्बिर लिएको र त्यहीँ तस्बिर सार्वजनिक गर्ने भन्दै धम्क्याउने गरेका थिए। नजिकका जानकारका अनुसार निहारिकालाई शिवराजले माया गर्ने भन्दै फकाएर राखेका थिए। समस्या त्यतिबेला उत्पन्न भयो, जब निहारिकाको पेटमा गर्भ बस्यो। गर्भबारे निहारिकाले जानकारी गराउँदा शिवराजले उल्टै तिरस्कार गरे।
सम्पन्न परिवारकी छोरी निहारिकाले हिम्मत जुटाएर आफ्ना अभिभावकसँग सत्यता बताइन्। तर परिवारले घटना बाहिर ल्याउन मानेन, उल्टै समाजमा इज्जत जाने डरले गर्भपतन गराउन दबाब दियो। परिवारले दिएको दबाब आफूले नमानेको केही समयअघि नागरिकसँग उनले बताएकी थिइन्। त्यसपछि भने उनलाई आफ्नै परिवारले समेत बहिष्कार गर्यो।
यसरी आफूमाथि अन्याय भएको महसुस गरेर निहारिकाले २०७६ फागुन १९ गते शिवराजविरुद्ध जिल्ला प्रहरी कार्यालय धनुषामा जाहेरी दिइन्। जसमा ‘ललाइफकाई बन्धक बनाएर बलात्कार गरेको’ बेहोरा उल्लेख छ। जाहेरीमा बलात्कारपछि रहेको गर्भ फाल्न शिवराजले पनि दबाब दिएको खुलाइएको छ।
जाहेरी दर्तापछि शिवराजलाई प्रहरीले पक्राउ गर्यो। थुनछेक बहसमा जिल्ला अदालत धनुषाले शिवराजलाई पुर्पक्षका लागि जेल चलानसमेत गरेको थियो। जिल्ला अदालतले यो मुद्दा टुंग्याउन लामो समय लगाइदियो। यही क्रममा २०७७ भदौ ५ गते निहारिकाले छोरो जन्माइन्।लामै प्रतीक्षापछि २०७८ माघ २४ गते जिल्ला अदालत धनुषाका न्यायाधीश परशुराम भट्टराईको इजलासले मुद्दाको फैसला सुनायो। जुन फैसलामा निहारिका बलात्कृत नभएको भन्दै शिवराजले सफाइ पाए र पुर्पक्षका लागि थुनामा रहेका उनी छुटे।