काठमाडौँ – नेपाली बजारमा चिनियाँ सामानको वर्चस्व छ। चाडपर्वका लागि ल्याइएका लत्ताकपडालगायत विभिन्न सामग्री उतै रोकिएपछि नेपाली बजारमा सामान महँगिन सक्ने व्यवसायीहरूको अनुमान छ। यो समाचार नागरिक दैनिकमा प्रकाशित छ।
नेपालको दोस्रो ठूलो व्यापारिक कारोबार हुने मित्रराष्ट्र चीनले नेपालसँगका दुई नाका अघोषित रूपमा बन्द गरेको छ। परराष्ट्रमन्त्री नारायण खड्का चीन भ्रमणबाट फर्किएर कूटनीतिक सम्बन्ध सुधार भएको दाबी गरे पनि चीनले नाका बन्द गरेको हो। चिनियाँ पक्षले नाका बन्द गरेको विषयमा औपचारिक जानकारी भने नेपाल सरकारलाई दिएको छैन।
नेपालसँग सीमा जोडिएको तिब्बततर्फ कोभिडको संक्रमण फैलिएको भन्दै तातोपानी र रसुवागढी नाकाबाट मालसामान पठाउन रोक लगाएको हो। चीनबाट सामान ल्याउने दुई प्रमुख नाका यिनै हुन्। चिनियाँ पक्षले तातोपानी नाका सिल गरेपछि बुधबारदेखि गाडी आउन रोकिएको तातोपानी भन्सार कार्यालयका प्रमुख नारद गौतमले बताए।
‘चीनले कोभिडको कारण देखाउँदै गाडी पठाउन रोक लगाएको छ,’ गौतमले भने, ‘कहिले खुल्छ भन्ने निश्चित छैन।’ चिनियाँ पक्षले कुनै जानकारी नदिइकन नाका बन्द गरेको हो। तातोपानी नाका हुँदै दैनिक ८–१० वटा मालवाहक ट्रकमा सामान आउने गरेका थिए। चीनले बिनाजानकारी एक्कासि सामान पठाउन रोक लगाएपछि व्यवसायीहरू समस्यामा परेका छन्।
नाका बन्द भएपछि चाडपर्वलाई लक्षित गरेर ल्याइएका लत्ताकपडा बीच बाटोमै रोकिएको नेपाल हिमालय सीमापार वाणिज्य संघ महासचिव भरत कार्कीले बताए। ‘तीजका लागि ल्याएका कपडालगायत सामग्री उतै रोकिए,’ कार्कीले भने, ‘एक्कासि नाका बन्द हुँदा व्यवसायी मर्कामा परेका छन्।’ नाका कहिलेसम्म बन्द हुन्छ भन्ने यकिन छैन। कोभिडको संक्रमण देखिए पनि सावधानी अपनाएर सामान आयात गर्न पाउनुपर्ने व्यवसायीको माग छ।
नेपाली बजारमा चिनियाँ सामानको वर्चस्व छ। चाडपर्वका लागि ल्याइएका लत्ताकपडालगायत विभिन्न सामग्री उतै रोकिएपछि नेपाली बजारमा सामान महँगिन सक्ने व्यवसायीहरूको अनुमान छ। व्यवसायीहरूले दसैंका लागि लत्ताकपडा पनि यही मार्गबाट ल्याउने तयारी गरेका थिए। नाका बन्द भएपछि उनीहरू अन्योलमा परेका छन्। दुई नाका बन्द भएपछि त्यसको असर बजारमा पर्ने व्यवसायी नवराज तिमिल्सिनाले बताए।