काठमाडौं । आगामी ४ मंसिरमा तय प्रतिनिधि सभा निर्वाचन प्रत्यक्षतर्फको १ सय ६५ सिटमा सय सिट हात पर्नेगरी माग दाबी गर्न कांग्रेस नेतृत्वमाथि दबाब बढेको छ । यो समाचार राजधानी दैनिकमा प्रकाशित छ।
प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको कांग्रेस पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकमा सय सिट हात पर्नेगरी गठबन्धनमा आबद्ध दलबीच तालमेलसहित अघि बढ्न सुझाइएको छ ।
‘चुनावी तालमेल गर्दा पार्टीको स्थिति विश्लेषण हुनुपर्छ, आमनेताकार्यकर्ताको भावनाअनुसार हुनुपर्छ, हामीले सभापतिलाई स्पष्ट भनेका छौं, सय सिट माग दाबी कांग्रेसले राख्नुपर्छ,’ एक पदाधिकारीले बैठकमा भएको छलफलबारे जानकारी दिँदै राजधानीसँग भने ।
बैठकमा प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवाले भने ‘पार्टीका नेताका सुझाव र गठबन्धनमा आबद्ध दलका नेतासँग छलफल गरेर सिट बाँडफाँटबारे निर्णय हुने’ जानकारी गराएका छन् । त्यसक्रममा देउवाले ‘विपक्षी दलको रणनीतिसमेत आधार बनाएर सिट बाँडफाँट निर्णय हुने’ जवाफ दिएका छन् ।
‘पार्टी नेताका सुझाव र गठबन्धनमा आबद्ध दलका नेतासँग छलफल गरेर सिट बाँडफाँट निर्णय हुन्छ भन्ने सभापतिको धारणा छ,’ ती नेताले भने, ‘मुख्य कुरा विपक्षी दलको रणनीतिसमेत आधार बनाएर सिट बाँडफाँटको निर्णय हुने सभापतिको दृष्टिकोण देखियो ।’
बैठकमा कांग्रेस सभापति देउवा गठबन्धनभित्रका शक्ति जोगाएर र बढीभन्दा बढी सिट जित्नेगरी सिट बाँडफाँट गर्नेगरी प्रस्तुत भए । कार्यदलको पहिलो बैठक बस्नुअघि नै देउवाले पदाधिकारी र पूर्वपदाधिकारीसँग सिट बाँडफाँटबारे धारणा बुझेका हुन् ।
कांग्रेस महामन्त्री गगनकुमार थापाका अनुसार बैठकमा नेताहरूले आ–आफ्ना धारणा सुनाएको र थप छलफल हुँदै जानेछन् । ‘बैठकमा नेताका आफ्ना धारणा आएको छ, थप छलफल हुँदै जान्छ,’ थापाले भने ।
बैठकमा कांग्रेस एक्लै चुनाव लड्दा पनि ८० देखि ८५ सिट जित्ने आँकलनबारे प्रधानमन्त्रीसमेत रहेका देउवालाई नेताहरूले पुनः ‘ब्रिफिङ’ गरेका थिए ।
बैठकमा नेता विलेन्द्र निधिले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)लाई पनि सत्तारूढ गठबन्धनमा ल्याउनुपर्ने राय राखेका थिए । सो विषयमा प्रधानमन्त्री देउवा पनि सकारात्मक रहँदै आएका छन् ।