कांग्रेसमा ‘प्रधानमन्त्री’ बन्नेको लर्को !

काठमाडौँ – ‘मैले ग्रास रुटदेखि नम्बर टु भएर काम गरेको छु। अहिलेसम्म नम्बर वान भएर काम गर्न पाएको छैन। मलाई कुनै कुराको लोभ छैन। नम्बर वान म्यान भएँ भने लोभलालच नभएको, कुनै स्वार्थ नभएको नेता ठाउँमा पुग्यो भने उसले गर्न सक्छ भनेर पुष्टि गर्छु, म काम गरेर देखाउँछु।’ यो भनाइ हो, नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहको। यो समाचार नागरिक दैनिकमा प्रकाशित छ।

सरकारले मंसिर ४ गतेका लागि प्रदेश र प्रतिनिधिसभा निर्वाचन घोषणा गरेलगत्तै शनिबार राजधानीमा आयोजित एक कार्यक्रममा आगामी निर्वाचनपछि प्रधानमन्त्री बन्ने चाहना राख्दै पूर्वमहामन्त्री सिहंले पार्टी नेता तथा कार्यकर्तालाई सो कुरा सुनाएका हुन्।

सरकारको उपप्रधानमन्त्रीदेखि पार्टी उपसभापतिसम्मको जिम्मेवारी सम्हालिसकेका सिंहले कांग्रेसको १४औं महाधिवेशनमा सभापतिका लागि प्रतिस्पर्धा गरे। तर पार्टी नेतृत्वमा पुग्न असफल भए पनि काठमाडौं–१ बाट प्रतिनिधिसभा सदस्य रहेका सिंहले आगामी निर्वाचनबाट फेरि अनुमोदित हुँदै प्रधानमन्त्री बनेर देश र जनताको पक्षमा निःस्वार्थ रूपमा काम गर्ने बताएका हुन्।

जनप्रतिनिधिका रूपमा आफूले धेरै काम गरेको बताएका सिंहमा आगामी निर्वाचनबाट जनअनुमोदित नहुने पो हो कि भन्ने भय पनि देखिन्छ। आफूले जनप्रतिनिधिका रूपमा गर्नुपर्ने धेरै काम गरे पनि अनावश्यक प्रचार गरेर नहिँडेको भन्दै उनले थपे, ‘हुन त अहिले हाम्रो चुनावी परिणाम हेर्दा बोल्नेको पिठो बिक्छ, नबोल्नेको चामल पनि बिक्दैन भन्ने उखान साबित भएजस्तो लाग्छ।’

२०७४ सालमा भएको प्रतिनिधिसभा निर्वाचनमा झिनो मतान्तरले मात्र सिंह निर्वाचित भएका थिए। वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा वडाध्यक्षहरूले पाएको मत पनि कांग्रेसको केही सयले मात्र धेरै देखिन्छ।

कांग्रेसभित्र मौलाएको गुटगत विवाद त छ नै, आगामी प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीबीच तालमेल भयो भने वैशाख ३० मा सम्पन्न स्थानीय निर्वाचनमा कांग्रेस वडाध्यक्षहरूले पाएको मतलाई आधार मान्दा परिणाम सिंहको पक्षमा देखिन्न।

त्यसमाथि प्रधानमन्त्री चयनमा संविधान र संसदीय प्रक्रियाअनुसार छुट्टै व्यवस्था छ। तर नेता सिंहसहित कांग्रेस नेताहरू मंसिर ४ गते प्रदेश र प्रतिनिधिसभा निर्वाचन नभएर प्रधानमन्त्रीकै चुनावको मिति घोषणा भएजस्तो गर्दै एकपछि अर्को प्रधानमन्त्रीका आकांक्षी देखिन थालेका छन्। प्रधानमन्त्रीको आकांक्षीका रूपमा देखिनेमा कांग्रेस महामन्त्री गगनकुमार थापा पनि छन्। थापाले पार्टीका पहिलो तहका नेताले आगामी निर्वाचनमा बिदा लिएर सरकार र पार्टी नेतृत्व अर्को पुस्तालाई हस्तान्तरण गर्नुपर्ने बताउँदै आएका छन्।

२०६४ सालको संविधानसभा निर्वाचनपछि काठमाडौं र पछि काठमाडौं–४ का जनप्रतिनिधिका रूपमा काम गरेका थापाले आगामी निर्वाचनपछि प्रधानमन्त्रीका लागि आँट गर्ने बताउँदै पार्टीभित्र छलफल भइरहेको दाबी गरे। ‘मैले प्रतिनिधिसभा सदस्य र मन्त्रीका रूपमा अनुभव लिएँ। यो अनुभवले मलाई नेतृत्व लिन सघाउँछ भन्ने लागेको छ। अब पहिलो तहका नेताले सम्मानजनक बहिर्गमन खोज्नुपर्छ भनेर पार्टीभित्र बहस पनि सुरु भएको छ,’ राजधानीमा शनिबार आयोजित एक कार्यक्रममा थापाले भने, ‘पछिल्लो पुस्ताले नेतृत्व लिनेबारे पार्टीभित्र एक तहसम्म छलफल पनि गरिसकेको छु।’

प्रकाशित : आइतबार, साउन २२, २०७९०८:३३

आफ्नो मत ब्यक्त गर्नुहोस् :

चिप्लिँदै दाहाल, जे पायो त्यहि बोलेपछि पनि लाज पचाउँदै !