नेपालमा युरेनियम खोज्दै भारतीय प्रहरी, सघाउँदै नेपाल प्रहरी !

काठमाडौँ – नेपालमा युरेनियम रहेको सूचनासँगै नेपाल प्रहरीको विशेष ब्युरोले खोजीमा सक्रियता देखाएको छ। भारतीय सुरक्षाकर्मीको एउटा टोली नेपालमै आएर युरेनियमको खोजी गर्न थालेपछि नेपाल प्रहरीको विशेष ब्युरोले पनि सक्रियता देखाएको हो। यो समाचार नागरिक दैनिकमा प्रकाशित छ।

असार अन्तिम साता भारतीय प्रहरीको सेन्ट्रल ब्युरो अफ इन्भेस्टिगेसन (सिबिआई) र भारतीय गुप्तचर निकाय रिसर्च एन्ड एनालिसिस विङ (रअ) को ६ सदस्यीय टोली नेपाल आएर युरेनियम खोजीमा जुटेको थियो। भारतीय सुरक्षा अधिकारीले नेपालमा २७ केजी युरेनियम रहेको दाबी गरेका छन्। भारतीय टोलीले युरेनियम फेला नपारेपछि नेपाल प्रहरीको टोली त्यसको खोजीमा सक्रिय भएको हो।

सशस्त्र प्रहरी बलको इन्टेलिजेन्स ब्युरोका अधिकारीले यो विषयमा आफूहरू नलाग्ने बताएपछि भारतीय सुरक्षा अधिकारीले नेपाल प्रहरीको विशेष ब्युरोलाई अनुसन्धानमा सघाउन आग्रह गरेको स्रोतको दाबी छ। नेपाल प्रहरीका प्रवक्ता डिआइजी टेकप्रसाद राईले युरेनियमजस्तो विषयलाई अतिरञ्जना गर्न नहुने भएकाले यसको अनुसन्धान गोप्य हुने बताए।

‘यो अत्यन्तै संवेदनशील विषय हो। यसको खोजी नहुने भन्ने हुँदैन। नेपाल प्रहरी मुलुकको आन्तरिक सुरक्षाको जिम्मा लिएको संगठन भएकाले युरेनियमको खोजी, अनुसन्धान गर्दा सचेत छ’, डिआइजी राईले भने। सुरुमा भारतीय अधिकारीले काठमाडौंमा २७ किलो युरेनियम रहेको र गिरोहले त्यसलाई भारततर्फ पठाउन खोजेको सूचना पाएको भन्दै त्यसको जानकारी नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभागलाई गराएको थियो।

यी दुई निकायबाट केही जानकारी नआएपछि भारतीय प्रहरीले सशस्त्र प्रहरीको इन्टेलिजेन्स ब्युरोलाई पनि सूचना दिएको थियो। सशस्त्रको ब्युरो काठमाडौंमा यसको कारोबार हुन सक्ने भन्दै खोजीमा लागेका बेला भारतीय टोली नेपाली सुरक्षा निकायसँग समन्वय गर्दैै काठमाडौं आएको थियो। तर भारतीय टोलीले युरेनियम फेला पार्न सकेन।

मोरङ जिल्ला प्रहरी कार्यालयले बरामद गरेको युरेनियमजस्तो देखिने पदार्थको रिपोर्ट नआउँदासम्म नेपालमै रहेको भारतीय सुरक्षा अधिकारीको टोली खानी तथा भूगर्भ विभागले मोरङ प्रहरीलाई रिपोर्ट दिएपछि स्वदेश फर्केको थियो। खानी तथा भूगर्भ विभागले साउन १० गते मोरङ प्रहरीलाई रिपोर्ट पठाएको थियो।

विभागले त्यस सम्बन्धमा मोरङ प्रहरीलाई रिपोर्ट दिएपछि भारतीय सुरक्षा अधिकारीको टोली १२ गते स्वदेश फर्केको थियो। नेपालबाट एउटा गिरोह/समूहले भारततर्फ युरेनियम पठाउन लागेको सूचना पाएपछि भारतीय सुरक्षा अधिकारीको टोली नेपाल आएको थियो। स्रोतका अनुसार भारतीय सुरक्षा अधिकारीले युरोनियको नमुनासमेत पाएका थिए।

नमुना परीक्षण गर्दा युरेनियम भएको पुष्टि भएपछि त्यसको खोजी गर्न भारतीय सुरक्षा अधिकारीको टोली नेपाल आएको थियो। ‘भारतीय सुरक्षाकर्मीको टोलीले केही नमुना र त्यसको रिपोर्ट छाडेर गएको छ। त्यसैका आधारमा हामीले अनुसन्धान अघि बढाएका छाैं’, नेपाल प्रहरी स्रोतले भन्यो। कुनै बेला कुनै गिरोह÷समूहले अफवाह फैलाउने भएका कारण पनि खोजीमा प्रहरीलाई अप्ठेरो पर्ने गरेको प्रहरी प्रधान कार्यालय स्रोतले जनाएको छ।

प्रकाशित : शुक्रबार, साउन २०, २०७९१०:००

आफ्नो मत ब्यक्त गर्नुहोस् :

भदौ १ देखि ४० माइक्रोनभन्दा पातलो प्लाष्टिक झोला प्रतिबन्ध, नियन्त्रण गर्न प्रहरी नै खटाइने !