‘छोराछोरीलाई एक्लै छोडेर जान सकिन, सँगै लिएर गएँ’

काठमाडौँ — भीमसेन थापा गाउँपालिका–६ गोरखा स्थायी घर भई तारकेश्वर नगरपालिका–२, पदमसालमा बस्दै आएका एकै परिवारका चार जना सोमबार बिहान घरैमा मृत भेटिए । यो समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ ।

बिहान परिवारका कोही पनि बाहिर ननिस्केको र घरमा भित्रबाट चुकुल लगाएको पाइएपछि छिमेकीले प्रहरीलाई खबर गरे । प्रहरी ढोका फोडेर भित्र जाँदा ४१ वर्षीय दिनेश पाण्डे, उनकी पत्नी ३९ वर्षीया सुनीता, १३ वर्षकी छोरी आशिका र ८ वर्षीय छोरा आशिकको शव बीभत्स अवस्थामा भेटियो ।

घटनास्थलमा फेला परेको सुसाइड नोटमा दिनेशले ‘श्रीमती र छोराछोरीको हत्या गरेर आफूले आत्महत्या गर्न बाध्य भएको’ उल्लेख गरेका छन् । १२ वर्ष कुवेत बसेर केही वर्षअघि मात्रै फर्किएका दिनेश र श्रीमती सुनीताको केही वर्षयता पारिवारिक सम्बन्ध राम्रो नभएको र त्यसबाटै उत्पन्न विवादले बीभत्स हत्याको रूप लिएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । सुसाइड नोटमा दिनेशले पत्नीसँग सम्बन्ध बिग्रिएको, माइती पक्षसँग मिलेर सम्पत्ति हडप्न खोजेको, आफूलाई घरेलु हिंसाको आरोपमा प्रहरीमा थुनाएको लगायत विषय उल्लेख गरेको अनुसन्धानमा संलग्न एक प्रहरीले बताए । उनले छोराछोरीलाई एक्लै राख्न नसकेर सँगै लानुपरेको उल्लेख गरेका छन् । अनुसन्धानमा संलग्न एक प्रहरीका अनुसार छोराछोरी र श्रीमतीलाई मार्न दिनेशले पेट, छाती र टाउकामा धारिलो हतियार प्रहार गरेका छन् ।

प्रहरीका अनुसार पारिवारिक विवाद तीन पटक बालाजु प्रहरी र एक पटक महाराजगन्ज वृत्तसम्म पुगेको थियो । पछिल्लो पटक दिनेशले आफू बस्दै आएको घर पत्नीलाई थाहै नदिई बिक्रीको प्रयास गरेका थिए तर घर सुनीताका नाममा रहेको र उनले बेच्न नमानेपछि झनै विवाद बढेको थियो । मृतक सुनीता ‘सिजनल काम’ का लागि बेलायत जान भिसासमेत लगाएर बसेकी थिइन् । त्यसअघि छोराछोरीलाई माइतीको जिम्मा लगाउनेबारे कुराकानी भइरहेका बेला दिनेशले पत्नी र दुई छोराछोरीको बीभत्स हत्या गरेर आफैंले आत्महत्याको बाटो रोजेका हुन् ।

काठमाडौं प्रहरी प्रवक्ता एसपी दिनेश मैनालीले प्रारम्भिक अनुसन्धानमा दिनेशले श्रीमती र दुई छोराछोरीको हत्या गरेर आत्महत्या गरेको हुन सक्ने देखाएको तर पोस्टमार्टम रिपोर्ट र प्रहरीको विस्तृत अनुसन्धानपछि मात्रै घटना कोबाट र कसरी भयो भन्ने यकिन हुने बताए । काठमाडौं प्रहरी प्रवक्ता मैनालीका अनुसार मृतक चारै जनाको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्ज लगिएको छ ।

त्रिवि शिक्षण अस्पतालमा कार्यरत फरेन्सिक विज्ञ डा. गोपाल चौधरीले दिनेशले परिवारका तीन जनाको हत्या गरेर आत्महत्या गरेको प्रारम्भिक जाँचमा देखिएको बताए । चौधरी सोमबार घटनास्थल पुगेका थिए । ‘घटनास्थलको अवस्था र सुसाइट नोट विश्लेषण गर्दा छोराछोरी र श्रीमतीको हत्यापछि दिनेश आफैंले आत्महत्या गरेको देखिन्छ, स्थलगत मुचुल्का र शवको अवस्थाले पनि त्यही देखाउँछ,’ चौधरीले भने, ‘बाँकी विषय पोस्टमार्टम रिपोर्टबाट आउला ।’

प्रकाशित : मङ्गलबार, साउन १७, २०७९०६:३५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अख्तियारले छानबिन गर्ने भएपछि सर्वोच्चमा तरंग !