काठमाडौँ – विवेकशील साझा पार्टीका पूर्व अध्यक्ष रविन्द्र मिश्रले पूर्वराजा ज्ञानेन्द्र शाहका नाति हृदयन्द्र शाहलाई राजाका रूपमा देख्ने चाहना व्यक्त गरेका छन्। हृदयेन्द्रको २१ औं जन्मदिनमा शुभकामना दिनेक्रममा मिश्रले हृदयन्द्रलाई राजाका रूपमा देख्न चाहेको बताएका हुन्।
सामाजिक संजाल मार्फत शुभकामना दिँदै हृदयन्द्रलाई एकदिन राजाको रुपमा देख्न चाहेको स्पष्टसँग उल्लेख गरेका छन्। देशलाई नराम्रो संकटबाट जोगाउँन संकटका बेलामात्र सदुपयोग गर्ने उद्देश्यका साथ संसदले बाँधेर खोपामा भए पनि राजसंस्था राख्नुपर्ने मिश्रको भनाई छ।
“२० वर्षको पत्रकारिता, ५ वर्षको राजनीति तथा अन्य अनुभव र अध्ययनले पुर्याएको निष्कर्ष के हो भने – बदलिएको विश्व भूराजनीतिको भूमरी, लगभग पूर्णत: आर्थिक परनिर्भर्ता, भ्रष्ट र कमजोर संस्था र आन्तरिक अवस्था तथा अन्य कतिपय कारणले यो देश ढिलोचाँडो नराम्रो संकटमा फस्छ-फस्छ। त्यसैले, संकटका बेलामात्र सदुपयो गर्ने उद्येश्यका साथ संसदले बाँधेर ‘खोपामा भए पनि’ राजसंस्था राखौँ।”,मिश्रले लेखेका छन्।
मिश्रले २१ औं जन्मदिनको अवसरमा हृदयन्द्रलाई जन्मदिनको मात्र शुभकामना दिएका छैनन्, भावी गद्दी-आसनका लागि समेत शुभकामना दिएका छन्। मिश्रले लेखेका छन्,”२१औँ जन्मदिनमा सुस्वास्थ्य, दिर्घायु, देशभक्ती, असल चरित्र र भावी गद्दी-आसनको हार्दिक मंगलमय शुभकामना! म यहाँलाई एकदिन राजाका रूपमा देख्न चाहन्छु।”
यस्तै मिश्रले संसदले बाँधेको भनेको कस्तो हो भन्ने कुरालाई पनि खुलाएका छन्। त्यसक्रममा उनले सन् १९९० मा बेल्जियमका राजालाई राष्ट्रप्रमुखको पदबाट निलम्वन गरी पुनः गद्दी आसिन गरेको उदाहरण दिएका छन्।
उनले संसदले बाँधेको राजतन्त्रको उदाहरण दिँदै भनेका छन्,”सन् १९९० मा बेल्जियमका राजा बोदवाँले आफू क्याथोलिक धर्मावलम्वी भएका कारण गर्भपतन सम्वन्धी विधेयक अनुमोदन गर्न मान्दै मानेनन्। त्यसपछि, सरकारले उनलाई कयौँ दिनसम्म राष्ट्रप्रमुखको पदबाट निलम्वन गरी सामान्य नागरिक बनायो। र, संसदले विधेयक अनुमोदन गरेपछि उनलाई पुनस् गद्दी आसिन गरायो। त्यस्ता उदाहरण अरू पनि छन्, जुन मेरो प्रकाशोन्मूख पुस्तकमा उल्लेख गरेको छु।”