पोखरा । पोखरामा पछिल्लो समय एकपछि अर्को एटीएम मेसिन फोड्ने घटना बढिरहेका छन् । पोखरामा यो एक हप्ता नबित्दै दोस्रो एटीएम चोरी भएको छ । त्यो पनि बिनाहातहतियार । पोखरा महानगरपालिका–२६ अर्घौंचोकमा रहेको एनएमबी बैंकको एटीएमलाई बिनाहातहतियार खोलेर त्यहाँ भएको नगद चोरी गरिएको छ । यो समाचार नेपाल समाचारपत्रमा प्रकाशित छ।
नेपाली सेनाको ब्यारेक र इलाका प्रहरी कार्यालय शिशुवा, हंसपुरको बीचमा रहेको अर्घौंचोकबाट एटीएम फोडेर रकम निकालिएको हो । यसअघि पोखरा–९ नयाँ बजारमा पनि एटीएम फोडेर चोरीको प्रयास भएको थियो । शुक्रबार मात्रै उक्त घटना घटेको थियो ।
घटना घटेको ६ दिनमा फेरि अर्को उस्तै घटना भएको हो । दुवै एटीएम रातको समयमा फोडिएको छ । लेखनाथमा भने एटीएमको लक सामान्य तरिकाले नै खोलेर रकम रहेको २ वटा बक्स निकालेर लगेको सीसीटीभी क्यामेरामा स्पष्ट देखिएको छ ।
रकम रहेको बाकस भने विचारी चौतारीमा भेटिएको छ । तर, रकम जति सबै लगिएको छ । उक्त एटीएममा बैंकले सोमबार दिउँसो मात्रै १७ लाख रुपियाँ राखेको र करिब १५ लाख हारहारीमा चोरी भएको हुन सक्ने अनुमान रहेको स्रोतको भनाइ छ ।
‘सबै कुरा अनुसन्धानको पाटोमा रहेको छ । यति नै भनेर भन्न मिल्ने अवस्था छैन । एटीएमबाट कति रकम सेवाग्राहीले निकाले भन्ने कुरा पनि अनुसन्धानमै रहेको छ’ –स्रोतले भन्यो । यस विषयमा बैंकका कर्मचारीहरूमाथि समेत अनुसन्धान भइरहेको बुझिएको छ ।
पोखरा महानगरपालिका–८ न्युरोडमा भने एनआईसी एसिया बैंकको एटीएमबाट रकम चोरीको प्रयास भएको थियो । एटीएमबाट रकम निकाल्न एक युवाले एटीएम मेसिन फोड्ने प्रयास गरेका थिए । रुकुम घर भई हाल पोखरा–९ पृथ्वीचोक बस्दै आएका १९ वर्षीय नरेश पुन मगरले गैचीले हानेर एटीएम मेसिन फोड्ने प्रयास गरेका थिए ।
प्रहरीले उनलाई शनिबार पक्राउ गरेको थियो ।जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवम् निमित्त प्रहरी प्रमुख डीएसपी सुन्दर तिवारीले घटनाबारे अनुसन्धान भइराखेको जानकारी दिनुभयो । उहाँले प्राविधिक बुझेको या सिस्टमसम्बन्धी ज्ञान भएको व्यक्तिले नै रकम चोरी गरेको हुन सक्ने देखिएको बताउनुभयो ।