बाजुरा : स्वामीकार्तिक खापर गाउँपालिका–१ बाजुराकी ३५ वर्षीया कार्तिका विकलाई बिहीबार दिउँसो सुत्केरी बेथा लाग्यो। आफन्तले गाउँबाट १ घण्टा दूरीमा रहेको माझगाउँ स्वास्थ्य इकाइ केन्द्र पुर्याए। केन्द्रमा चिकित्सक हुने र सहजै सेवा पाउने उनीहरूको आशा थियो। तर, जब स्वास्थ्य केन्द्र पुगे चिकित्सक भेटिएनन्। केन्द्रमा ताला झुण्डिएको थियो। सबै खिन्न भए। सुत्केरी बेथाले च्यापेकी कार्तिकालाई झनै पीडा थपियो। तर, पनि उनीहरूले हरेस खाएनन्। चिकित्सक आउने र सेवा पाउने आस मारेनन्। एक घण्टासम्म पर्खेर बसे। यो समाचार अन्नपुर्णपोस्ट दैनिकमा प्रकाशित छ।
सुनसान स्वास्थ्य केन्द्र। चिकित्सकको चहलपहल पनि नदेखेपछि खिन्न हुँदै कार्तिकाका आफन्तले घर फर्कने निर्णय गरे। तर, कार्तिका बाटोमै सुत्केरी भइन्। ‘धन्न भगवान्ले साथ दिए। उनले बाटोमै छोरा जन्माइन्। भगवान्को कृपाले स्वास्थ्य समस्या भएन। नत्र गाह्रो पर्ने थियो। स्वास्थ्यकर्मी नहुँदा यसरी बिजोग अवस्थामा बच्चा पाउनुपर्ने पीडा यहाँ सुरु भएको छ’, स्थानीय बलबहादुर विकले भने। कार्तिकाको यो तेस्रो सन्तान हो।
स्वामीकार्तिक खापर–१ का वडाध्यक्ष अजयबहादुर विक करारका कर्मचारी निकालिएपछि स्वास्थ्य केन्द्रमा चिकित्सक नभएको बताउँछन्। गाउँपालिकाले करारका कर्मचारीसमेत हटाएपछि नागरिकले सास्ती भोग्नुपरेको छ। गाउँपालिकाले गरेको यस्तो निर्णयको सजाय बिहीबार कार्तिकाले भोगिन्। ‘गाउँपालिकाले करार कर्मचरीको म्याद थप गरेन। यो साउनदेखि करारका कर्मचारी आउँदैनन्। त्यसैले अहिले स्वास्थ्यचौकी खाली छ। यसको असर यसरी नागरिकले भोग्न सुरु गरिसके’, वडाध्यक्ष विक भन्छन्।
स्वास्थ्यकर्मीसमेत गाउँपालिकाले कटान गरेपछि समस्या भोगेकी कार्तिका विक गाउँकी सामान्य परिवारकी बुहारी हुन्। नियमित स्वास्थ्य जाँच गर्नसमेत उनले पाइन्। त्यसमाथि स्वास्थ्य संस्था टाढा र नियमित स्वास्थ्यकर्मी नहुने समस्या सधैं। सुत्केरी त स्वास्थ्य संस्थामा नै हुने चाहना पनि उनको पूरा भएन। यसअघि उनले एकपटक मात्र गर्भ जाँच गराएको आफन्तले बताएका छन्। ‘सुत्केरी बेथा लागेको थाहा पाएपछि घरभन्दा पनि स्वाथ्य इकाइमा लिएर सुत्केरी गराउँदा राम्रो हुने भन्दै लगियो। तर, स्वास्थ्य इकाइमा स्वास्थ्यकर्मी नै नभएपछि फिर्ता लिएर आउँदा बाटोमा सुत्केरी भइन्’, स्थानीय बलबहादुर विक भन्छन्, ‘न त अब सुत्केरीको स्वास्थ्य चेक गर्ने चिकित्सक छन्, न त सन्तानकै।’
कार्तिकाले यसअघि दुईवटा सन्तान घरमै जन्माएकी थिइन्। एक सन्तानको २ वर्ष पहिला मृत्युसमेत भएको विकले बताए। ‘दुई सन्तान घरमै जन्माएकी कार्तिकालाई तेस्रो सन्तान जन्माउन स्वास्थ्य केन्द्र लगियो। स्वास्थ्य केन्द्रमा जन्मिएका निरोगी हुन्छन् भन्ने आशा सबैको हो। उनले पनि त्यही चाहना रोखेकी थिइन्। तर, त्यहाँ स्वास्थ्यकर्मी नभएरपछि फिर्ता फर्कनुपर्दा सबैको मन खल्लो भयो’, उनले भने।
यो एउटा प्रतिनिधि घटना भए पनि करारका कर्मचारी हटाएपछि यहाँका नागरिकले स्वास्थ्य सेवा पाउनु अब मुस्किल भएको उनी बताउँछन्। माझ गाउँ स्वास्थ्य इकाइ केन्द्रमा कार्यरत अनमी र अहेब दुवै करारका थिए। म्याद थप नगरेपछि उनीहरू काममा आउन छोडे। अहिले स्वास्थ्य इकाइ केन्द्र कर्मचारीविहीन छ। दैनिक सेवा लिन आउने नागरिक त्यसै फर्कन बाध्य छन्। नागरिकलाई किन स्वास्थ्य केन्द्रमा कर्मचारी आएनन् भन्ने पनि थाहा छैन। गाउँपालिकाले कर्मचारी कटाएको विषयमा पनि नागरिक अनभिज्ञ छन्।