काठमाडौं । विश्वभरको राहदानी (पासपोर्ट) को सर्वेक्षण गर्ने एक अन्तर्राष्ट्रिय संस्थाको पछिल्लो प्रतिवेदनअनुसार नेपालको राहदानी अत्यन्तै कमजोर सूचीमा परेको छ । उक्त सूचीमा नेपालको राहदानी निकै तल्लो क्रममा रहेको छ । यो समाचार सौर्य दैनिकमा प्रकाशित छ।
बेलायतमा रहेको हेन्ली कम्पनीले गरेको ‘पासपोर्ट इन्डेक्स’ नामक अध्ययनमा नेपालको राहदानी निकै कमजोर देखिएको हो । उक्त सूचीमा नेपालको राहदानी १०६औँ स्थानमा रहेको छ । सूचीमा सबैभन्दा तल ११२औँ स्थानमा अफगानिस्तानको राहदानी रहेको छ ।नेपाली राहदानी उत्तर कोरियाभन्दा पनि तल रहेको छ । सूचीमा उत्तर कोरिया नेपालभन्दा एक स्थान अगाडि (१०५औँ) स्थानमा छ । गत वर्ष नेपाल १०९औँ स्थानमा रहेको थियो । संसारका कति देशले भिसाबिना नै आफ्नो देशमा प्रवेश गर्न दिन्छन् भन्ने आधारमा उक्त सूची तयार गरिन्छ ।
उक्त अध्ययनले सबैभन्दा बलियो राहदानी जापानको रहेको देखाएको छ । जापानको राहदानी पहिलो नम्बरमा छ । दोस्रो नम्बरमा सिंगापुर र दक्षिण कोरियाको राहदानी रहेको छ । पहिलोदेखि तेस्रो स्थानसम्म एसियाली राष्ट्रले कब्जा जमाएका हुन् । जापानको भिसा—फ्रि स्कोर १ सय ९३ तथा सिंगापुर र दक्षिण कोरियाको १ सय ९२ रहेको छ ।
नेपालको भिसा–फ्रि स्कोर भने ३८ रहेको छ । यसको अर्थ जापानी नागरिकले अग्रिम भिसा नलिई १ सय ९३ राष्ट्रको भ्रमण गर्न पाउँछन् भने नेपाली नागरिकले अग्रिम भिसा नलिई ३८ राष्ट्रको मात्र भ्रमण गर्न पाउँछन् ।
सिंगापुर र दक्षिण कोरियाको राहदानी भएका व्यक्तिले अग्रिम भिसा नलिई १ सय ९२ देशको भ्रमण गर्न पाउँछन् । उक्त सूचीको तेस्रो स्थानमा जर्मनी र स्पेन रहेका छन् । जर्मनी र स्पेनका नागरिकले अग्रिम भिसा नलिई १ सय ९० देश घुम्न पाउँछन् ।
फिनल्यान्ड, इटाली र लग्जम्बर्ग संयुक्त रूपमा चौथो स्थानमा छन् । यी तीन राष्ट्रको राहदानी भएका व्यक्तिले अग्रिम भिसा नलिई संसारका १ सय ८९ राष्ट्रको भ्रमण गर्न पाउँछन् । अस्ट्रिया, डेनमार्क, नेदरल्यान्ड्स र स्विडेन संयुक्त रूपमा पाँचौँ स्थानमा छन् । यी राष्ट्रका नागरिकले अग्रिम भिसा नलिई १ सय ८८ राष्ट्रको भ्रमण गर्न पाउँछन् ।
कुल १ सय ८७ स्कोरसहित फ्रान्स, आयरल्यान्ड, पोर्चुगल र बेलायत संयुक्त रूपमा छैटौँ तथा १ सय ८६ अंकसहित बेल्जियम, न्युजिल्यान्ड, नर्वे, स्विट्जरल्यान्ड र अमेरिका सातौँ स्थानमा रहेका छन् । अस्ट्रेलिया, क्यानडा, चेक गणतन्त्र, ग्रिस र माल्टा १ सय ८५ अंकसहित आठौँ स्थानमा छन् ।
दक्षिण एसियाली राष्ट्रमा सबैभन्दा अगाडि माल्दिभ्स ६३औँ स्थानमा छ । माल्दिभ्सको राहदानी भएका व्यक्तिले अग्रिम भिसा नलिई संशारको ८९ राष्ट्रको भ्रमण गर्न पाउँछन् । भारत ८७औँ स्थानमा रहेको छ । भारतको राहदानी भएका व्यक्तिले संसारका ६० देशमा अग्रिम भिसा नलिई भ्रमण गर्न पाउँछन् ।
यसैगरी ५४ स्कोरसहित भुटान ९३औँ, ४२ स्कोरसहित श्रीलंका १०३औँ, ४१ स्कोरसहित बंगलादेश १०४औँ र ३२ स्कोरसहित पाकिस्तान १०९औँ स्थानमा रहेका छन् । सबैभन्दा तल रहेको अफगानिस्तानको २७ स्कोर छ ।