सिबिआई र रअका ६ जना एक साता देखि के गर्दैछन् नेपालमा ?

काठमाडौँ – नेपालमा युरेनियम खोजी गर्न भारतीय सुरक्षाकर्मीको एउटा टोली आएको छ। भारतीय प्रहरीको सेन्ट्रल ब्युरो अफ इन्भेस्टिकेसन (सिबिआई) र भारतीय गुप्तचर निकाय रिसर्च एन्ड एनालिसिस विङ (रअ) को ६ सदस्यीय टोली एक सातादेखि नेपालमा छ। यो समाचार नागरिक दैनिकमा प्रकाशित छ।

स्रोतका अनुसार भारतीय सुरक्षाकर्मीको टोली नेपालमा एउटा गिरोहसँग रहेको भनिएको २७ किलो युरेनियमको खोजीमा छ। सुरुमा भारतीय अधिकारीले काठमाडौंमै युरेनियम भएको सूचना पाएको भन्दै त्यसको जानकारी नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभागलाई दिएको थियो। यी निकायबाट केही जानकारी नआएपछि भारतीय प्रहरीले सशस्त्र प्रहरी बलको इन्टेलिजेन्स ब्युरोलाई पनि यसबारे सूचना दिएको थियो। सशस्त्रको इन्टेलिजेन्स ब्युरोले काठमाडौंमा यसको कारोबार हुन सक्ने भन्दै खोजी गरिरहेका बेला भारतीय टोली नेपालको सुरक्षा निकायसँग समन्वय गर्दैै यहाँ आएको स्रोतको दाबी छ।

‘नेपालको कुनै एउटा समूहले भारततर्फ युरेनियम पठाउन लागेको सूचना पाएपछि भारतीय सुरक्षा अधिकारीको टोली नेपाल आएको हो तर अहिलेसम्म फेला पार्न सकेको छैन। त्यसको अनुसन्धानमा नेपालका सुरक्षा अधिकारी पनि लागेका छन्,’ नेपालको सुरक्षा स्रोतले भन्यो। भारतीय अधिकारीले नेपालका सुरक्षा अधिकारीलाई यसबारे सूचना दिएका थिए। उनीहरूको सूचनालाई नेपाली सुरक्षा अधिकारीले पुष्टि गर्ने प्रयास गरिरहेका बेला भारतीय सिबिआई र रअको टोली नेपाल आएको हो।

स्रोतका अनुसार भारतीय सुरक्षाकर्मीको टोली नेपालमा एउटा गिरोहसँग रहेको भनिएको २७ किलो युरेनियम खोजीका लागि आएको हो। एक सातादेखि भारतीय सुरक्षाकर्मीको टोली युरेनियम खोजीमा लागे पनि नेपाल प्रहरीले भने यसबारे जानकारी नभएको जनाएको छ।

‘युरेनियम खोजीमा भारतीय सुरक्षाकर्मीको एउटा टोली नेपालमा छ, नेपाली सुरक्षा अधिकारी पनि साथमा छन् तर अप्रेसन सफल हुन सकेको छैन,’ स्रोतले भन्यो, ‘एक साता भयो, टुंगो लागेको छैन।’ स्रोतका अनुसार गिरोहले बेच्न प्रस्ताव गरेको युरेनियमको नमुनासमेत बोकेर भारतीय सुरक्षा अधिकारी नेपाल आएका हुन्।

नेपाल प्रहरीले भने यो विषयमा जानकारी नभएको जनाएको छ। नेपाल प्रहरीका प्रवक्ता डिआइजी टेकप्रसाद राईले सुरक्षाकर्मीको टोली औपचारिक र अनौपचारिक रुपमा आउनेजाने भइरहने तर युरेनियम खोजीका

लागि नेपाल आएको भन्ने जानकारी प्रहरीलाई नभएको बताए। ‘यस्तो विषयमा भारतीय सुरक्षा अधिकारी नेपाल आएका छन् भन्ने जानकारी नेपाल प्रहरीलाई छैन,’ प्रवक्ता राईले भने।

सुरक्षा निकायसम्बद्ध उच्च स्रोतका अनुसार नेपालबाट युरेनियम भारततर्फ निकासी गर्न लागेको सूचनालाई आधार मानेर उनीहरू नेपाल आएका हुन्। उनीहरूले नेपाली सुरक्षा अधिकारीको विश्वास नगरेर आफैं कोभर्ड अप्रेसनका लागि आएकाले नेपाली सुरक्षा अधिकारीले सकारात्मक मानेका छैनन्। ‘सूचना दिनु सकारात्मक कुरा भए पनि उनीहरू आफैं आउनु राम्रो कुरा होइन,’ एक सुरक्षा अधिकारीले भने।

प्रकाशित : बुधबार, साउन ०४, २०७९०८:३०

आफ्नो मत ब्यक्त गर्नुहोस् :

संसदीय छानबिनमा गठबन्धनको छाया, जनार्दन जोगाउन देउवा नै खटिए !