काठमाडौं – सत्तारुढ दल नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टी माओवादीका सांसदहरूले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीमाथि प्रश्न उठाएका छन् । बुधबार बसेको संसद् बैठकमा नेपाल श्रीलंकाको बाटोमा जाँदैछ भनेर सार्वजनिक रूपमा आतंक फैलाएको भन्दै सांसदहरूले अधिकारीको बोलीमा लगाम लगाउनुपर्ने माग गरेका थिए । यो समाचार नेपाल समाचारपत्रमा प्रकाशित छ।
अधिकारी प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको अर्थ विभागको सदस्य रहेको विषय चर्चामा रहेको बेला सांसदहरूले उहाँमाथि प्रश्न उठाएका हुन् ।बुधबार प्रतिनिधिसभामा विशेष समय लिएर कांग्रेसका तर्फबाट सांसद मीनबहादुर विश्वकर्माले गर्भनर आफैंले मुुलुक श्रीलंकातिर जाँदैछ भनेर गलत हल्ला फैलाउने अभिव्यक्ति दिएकोप्रति आपत्ति जनाउनुभयो ।
देशको अर्थतन्त्र कमजोर हुँदा मित्र राष्ट्रले श्रीलंका हुन्छ भन्नु गलत हुने बताउँदै विश्वकर्माले एउटा देश संकटमा परेको बेला गिज्याउनु उपयुक्त नहुने बताउनुभयो ।रियल स्टेट कारोबारीहरूलाई निषेध गर्ने, निजी क्षेत्रलाई हतोत्साही गर्ने, सेयर मार्केटमा लगानीहरूलाई हतोत्साहित गर्ने काम भइरहेको दावी गर्दै विश्वकर्माले भन्नुभयो–‘गभर्नरले सल्लाहकार भएर सरकारलाई सहयोग गर्नुपर्नेमा सार्वजनिक मञ्चहरूबाट श्रीलंका हुन्छ, अब टाट पल्टिन्छ भनेर आतंक फैलाउने काम गरेका छन्, यो काम बन्द गर्नुपर्छ ।’
गर्भनर जस्तो जिम्मेवार व्यक्तिलाई यस्तो नबोल्न र नागरिकहलाई आतंकित नगराउन रुलिङ हुनुपर्ने बताउँदै उहाँले गभर्नरले जनतालाई आतंकित पार्दा राज्य चुप लागेर बस्न नहुने बताउनुभयो ।त्यसै गरी नेकपा माओवादी केन्द्रका सांसदहरूले गभर्नर अधिकारी नेकपा एमालेको विभागीय सदस्य भएको भन्दै उहाँमाथि कारबाही हुनुपर्ने माग गरेका थिए ।