बागमती नदीमै भेटियो डल्फिन !

काठमाडौं । माछा मार्ने क्रममा बागमती नदीको रौतहट खण्डमा डल्फिन भेटिएको छ । पिपरा भलोहिया गाउँका राजकुमार सहनी मल्लाहले माछा मार्ने क्रममा पिपरा घाटमा मंगलबार डल्फिन फेला पारेका हुन् । ‘माछा मार्न बागमतीमा जाल हान्न गएको थिएँ तर अनौठो खालको माछा जालमा पर्यो,’ सहनीले भने, ‘जालमा परेको माछा लिएर पिपरा बजारमा ल्याएपछि हेर्नेको घुँइचो लाग्यो ।’

करिब १२ केजीको उक्त माछालाई स्थानीय जनप्रतिनिधिले डल्फिन भएको बताएपछि आश्चर्यमा परेको उनले बताए । दुर्गा भगवती गाउँपालिकाका अध्यक्ष शम्भू सिंहले बडहर्वा जाने क्रममा गत सोमबार नै बागमती नदीमा डल्फिनजस्तो माछाको एउटा ठूलो समूह उफ्रिरहेको देखेको बताए ।

उता, माछा विशेषज्ञ राधेश्याम झाले पनि सहनीले जालमा पारेको माछा डल्फिन नै भएको बताए । ‘अब पिपरा घाटलाई व्यवस्थित गरेर डल्फिन संरक्षणमा लाग्नुपर्छ, डल्फिनका बारेमा जनतालाई सुसूचित गर्नुपर्छ,’ झाले भने । गंगा नदी हुँदै डल्फिन बाग्मती आएको हुनसक्ने उनको अनुमान छ ।

डल्फिनहरू नदीको उल्टो बहाव भएको पानीको भुमरी पर्ने ठाउँमा बस्न रुचाउने बताइन्छ । एक घण्टामा झण्डै ६० किलोमिटरसम्मको गतिमा यात्रा गर्न सक्ने डल्फिन नेपालमा पाइने एक मात्र स्तनधारी जलचर प्राणी हो ।

जानकारहरूका अनुसार ७५ देखि १ सय ५० मिटर उचाइमा पाइने डल्फिनको तौल ६० देखि ८५ किलोसम्म हुन्छ । नेपालको कोसी, नारायणी र कर्णाली नदीमा डल्फिन पाइएको छ । कोसी र गण्डक नदीमा नेपाल–भारत सीमाक्षेत्रमा निर्माण गरिएका बाँधका कारणले नेपालका डल्फिन भारतीय क्षेत्रमा पसेपछि पुनः नेपाल फर्किन सक्ने संरचना नहुँदा ती नदी प्रणालीमा धेरै वर्षदेखि डल्फिन देखिन छाडेका छन् ।

कर्णाली नदीको शाखा नदी मोहना, कान्द्रा, काँडा तथा पथरैया नदीको दोभानमा हरेक बर्खाका बेला विचरण गरेको देख्न सकिन्छ । विश्वमै दुर्लभ र लोपोन्मुख डल्फिन डाइनोसर युगदेखि हालसम्म पृथ्वीमा अस्तित्वमा रहँदै आएको मानिन्छ । डल्फिनलाई चेतनशील र चलाख प्राणी पनि मानिन्छ ।

प्रकाशित : बिहिबार, असार ३०, २०७९०८:२८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

कस्तुरीको बिना बरामद प्रकरण: प्रहरीकै मिलेमतोको आशंका !