‘मलाई हटाएर देउवा सरकारले देशलाई टाट पल्टायो’

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान गठबन्धन सरकार भ्रष्टाचार र कमिसनतन्त्रमा चुर्लुम्म डुबेको बताउँदै गठन्धन सरकारकै कारण देश श्रीलंकाजस्तै टाट पल्टने अवस्थामा पुगेको बताएका छन् । यो समाचार राजधानी दैनिकमा प्रकाशित छ।

अध्यक्ष ओलीले सोमबार राष्ट्रिय सञ्चारमाध्यमका सम्पादकहरूसँग अन्तक्रिया गर्दै वर्तमान गठबन्धन सरकारलाई विस्थापित नगर्ने हो भने देश र जनताले नसोचेको दुःख पाउने ठोकुवा गरे । अध्यक्ष ओलीले आफ्नो पालाको सरकारले समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्न विभिन्न खाले क्रान्तिकारी कार्यक्रम ल्याउँदा प्रक्रियावादीलाई असह्य छटपटी भएको र प्रतिक्रियावादीहरूकै मिलिमतोमा आफू नेतृत्वको अग्रगामी सरकारलाई हटाइएको जिकिर गरे ।

‘हामीले देशमा विकास र समृद्धि कायम गर्न नयाँनयाँ योजना र कार्यक्रम ल्याएका थियौं तर अहिले त्यसलाई रोक्ने काम गरिएको छ,’ अध्यक्ष ओलीले भने । उनले मुलुक आर्थिक रूपमा टाट पल्टनै लागिरहेका बेला सरकारले भने कमिसन खानकै लागि अर्बौं रुपैयाँ खर्चेर हतियार खरिद गर्न लागेको बताए ।

सरकारले अर्थतन्त्रलाई नै ध्वस्त पार्नेगरी मुलुकमा चरम आर्थिक अराजकता मच्चाएको बताउँदै अध्यक्ष ओलीले मुलुकको यो अधोगतिलाई समयमा नै ब्रेक नलगाउने हो भने देश गम्भीर दुर्घटनामा जान सक्ने चेतावनी दिए । ‘अहिले श्रीलंकामा कस्तो अवस्था छ, यो अधोगतिलाई ब्रेक नलगाउने हो भने हाम्रो अवस्था पनि त्योभन्दा अझै बढी दयनीय हुन्छ,’ अध्यक्ष ओलीले आक्रोश पोख्दै भने ।

पूर्वप्रधानमन्त्री ओलीले आपूm प्रधानमन्त्री भएको अवस्थामा भन्दा अहिले सबैखाले आर्थिक सूचक नकारात्मक अवस्थामा पुगेको बताउँदै यो सरकारलाई विस्थापित नगर्दासम्म मुलुक विकास र प्रगतिपथमा लम्कन नसक्ने बताए । सरकार राज्यका सबै अंगलाई कमजोर बनाउने र संवैधानिक निकायलाई विस्थापित गर्ने षड्यन्त्रमा लागिरहेको आरोप उनले लगाए ।

ओलीले सरकारले आफ्नो दल फुटाउनकै लागि गैरकानुनी रूपमा अध्यादेश ल्याएको र सो कार्यले लोकतान्त्रिक शासन व्यवस्थालाई गिज्याउने काम गरेको बताए । अध्यक्ष ओलीले सत्तामा गएर लुट मच्चाउन र भ्रष्टाचार गर्नकै लागि गठबन्धन गरिएको र त्यसखाले गठबन्धन आफूहरूका लागि आवश्यक नपर्ने स्पष्ट पारे । अध्यक्ष ओलीले राष्ट्रियताको सवालमा वर्तमान सरकार अत्यन्तै कमजोर बन्दै गएको र यो सरकारले देशलाई लिलाम गर्न सक्ने भन्दै सबै जना सतर्क हुनुपर्ने आवश्यकता औंल्याए ।

अध्यक्ष ओलीले संघीय शासन प्रणालीको अभ्यासमा केही कमीकमजोरी देखिए पनि तत्काल यो शासन व्यवस्थाको विकल्प खोज्नेबेला भइनसकेका स्पष्ट पारे । उनले भोलिका दिनमा संघीय शासन प्रणाली असफल हुँदै गएको खण्डमा राष्ट्रिय सहमतिका आधारमा यो शासन प्रणालीको विकल्प खोज्न सकिने बताए ।

प्रकाशित : मङ्गलबार, असार २८, २०७९०७:०४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

नेपालमा आठवटा क्यासिनो थपिए ! कहाँ-कहाँ ?