काठमाडौं – पछिल्लो पटक नेपाल मामिलामा आफ्नो उपस्थिति कमजोर भएको निष्कर्ष निकालेको चीनले भूराजनीतिक शक्ति सन्तुलन गर्न र आगामी निर्वाचनमा सम्भावित वाम एकताको अवस्था बुझ्न चिनियाँ कम्युनिस्ट पार्टीका वरिष्ठ अधिकारीलाई भ्रमणमा पठाउँदै छ।
पछिल्लो पटक नेपालमा अमेरिकी प्रभाव बढ्नु, तिब्बती शरणार्थीले खुलेआम आफ्ना गतिविधि सञ्चालन गर्नु अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अनुमोदनपछिको परिणाम भनी चिनियाँहरूले आकलन गरेका छन्।
चिनियाँ विदेशमन्त्री वाङ यी फर्किएको चार महिना बित्न नपाउँदै चिनियाँ कम्युनिस्ट पार्टीका प्रभावशाली नेता एवं विदेश विभाग प्रमुख लिउ जियान्चाओ आइतबार काठमाडौं आउँदै छन्। चिनियाँ विदेशमन्त्री वाङ यी गत चैत ११ गते नेपाल आएका थिए।
चिनियाँ कम्युनिस्ट पार्टीको ६ सदस्यीय टोलीको नेतृत्व गर्दै आइतबार बिहान ११ बजेर ५ मिनेटमा एयर चाइनाको ४३७ नम्बर उडानबाट लिउ त्रिभुवन विमानस्थलमा ओर्लिंदै छन्। नेपालस्थित चिनियाँ दूतावासले उनको भ्रमणको संयोजन गरेको छ।
दूतावासले नै शीर्ष नेताहरूको सम्भावित भेट तय गरेको छ। चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का नेताहरू फङ स्यौपिन, छाङ ज्यौछिन, छोइ च्याङ, चङ योया र वन चाङ्ता पनि विदेश विभाग प्रमुख लिउको प्रतिनिधिमण्डलमा छन्। चिनियाँ कम्युनिस्ट पार्टीको विदेश विभाग प्रमुख भएपछि लिउको यो पहिलो विदेश भ्रमण हो। उनले नेपालबाट विदेश यात्र सुरु गरेका छन्।
पार्टीको विदेश विभाग प्रमुख भएपछि लिउले असार ९ मा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल र असार १० मा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भर्चुअल संवाद गरेका थिए। लगत्तै असार १६ मा लिउले परराष्ट्रमन्त्री नारायण खड्कासँग भर्चुअल संवाद गरे। त्यसकै शृंखलास्वरूप नेपालका राजनीतिक दलसँग सम्बन्ध विस्तार गर्न लिउ नेपाल आउन लागेको स्रोतले बतायो।
अमेरिकाको बढ्दो प्रभाव कम गर्ने उपाय खोज्नु र सके वर्तमान सत्ता गठबन्धनलाई भत्काएर आगामी निर्वाचनका लागि कम्युनिस्ट गठबन्धन बनाउन पहल गर्नु भ्रमणको उद्देश्य रहेको चिनियाँ अधिकारीहरूले अनौपचारिक रूपमा पुष्टि गरेका छन्। यद्यपि, बेइजिङस्थित विदेश मन्त्रालयले नेपालस्थित चिनियाँ दूतावासलाई पठाएको पत्रमा विदेश विभाग प्रमुख लिउको नेपाल भ्रमणलाई फ्रेन्ड्ली भिजिट (मैत्रीपूर्ण भ्रमण) भनेको छ।
चिनियाँ विश्वविद्यालयका एक प्राध्यापकका अनुसार चीनले नेपाललाई हेर्ने विगतको दृष्टिकोणलाई परिवर्तन गर्न चाहेको छ। सातपटक नेपाल आएको बताए पनि ती प्राध्यापकले आफ्नो नाम समाचारमा उद्धृत गर्न चाहेनन्।
उनले अन्नपूर्ण पोस्ट्सँग भने, ‘चीनविरुद्ध यहाँबाट भइरहेका गतिविधिलाई नजिकबाट अध्ययन गरिरहेका छौं। यस्तै अवस्था कायम रहे नेपाल र चीनको सार्वभौम सुरक्षाका लागि हामी दबाबमूलक कूटनीतिमार्फत उपस्थित हुन पनि सक्छौं।’
नेपालका कम्युनिस्ट शक्तिहरू एक भए यहाँको सार्वभौमिकता बलियो हुने भएकाले चीनले ती शक्तिहरूको एकताका लागि सुझाव दिनु स्वाभाविक रहेको उनको भनाइ छ। एमाले र माओवादी केन्द्रका नेताहरू चिनियाँ कम्युनिस्ट पार्टीको नियमित सम्पर्कमा रहको र सम्भव भए पार्टी एकता नत्र चुनावी मोर्चा बनाउनेबारे यहाँका नेताहरूसँग छलफल भइरहेको उनले सुनाए।
यद्यपि, एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल पार्टी एकीकरणका लागि तयार हुन्छन् भन्नेचाहिँ चीनलाई पनि पूर्ण विश्वास नरहेको उनले बताए। एकीकरण सम्भव नभए चुनावी गठबन्धन गर्न सुझाव दिइरहेको उनले जानकारी दिए।