अर्थमन्त्रीले कुनै पनि हालतमा राजीनामा नदिने !

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले बजेटको बिषयलाई लिएर राजीनामा नदिने बताएका छन् । राष्ट्रियसभामा बजेटमाथि भइरहेको छलफलको क्रममा सोमबार उनले बजेटका विषयमा उठेका प्रश्नको आधारमा आफु राजीनामा नबुझाउने प्रस्ट पारेका छन् । साँसदहरुले सोधेको प्रश्नको जवाफमा उनले त्यस्तो बताएका हुन् । यो समाचार सौर्य दैनिकमा प्रकाशित छ।

‘केही मान्छेलाई बजेट अनैतिक लागेर राजीनामा माग गर्दैमा मैले राजनीनामा दिनु पर्दैन । मेरो निर्णयमा म जवाफदेही छु,’ अर्थ मन्त्री शर्माले भने, ‘बजेट जनता र देशको पक्षमा ल्याएका कारण केहीलाई अनैतिक लागेको हुनुपर्छ ।’

करको दर रेट घटाउने र बढाउने कुरा अर्थ मन्त्रालयको क्षेत्राधिकार र नियमित काम भएको भन्दै उनले यसको विरोध गर्नुको औचित्य नभएको बताए । करका दर चलाएर उद्योग क्षेत्र, मुलुक र जनतालाई हित गरेको पनि उनले दाबी गरे ।

‘करको दर घटाउने निर्णयले उद्योग क्षेत्र, मुलुक र जनतालाई हित भन्ने कुरा प्रधान हो,’ अर्थमन्त्री शर्माले भने ‘तर घटाउन पाइन्न भन्न पाइन्न । कसरी अर्थमन्त्री अनैतिक भयो ? मेरो अधिकारको कुरा हो । यसलाई कथा बुनेर अन्यत्र लैजानु मिल्दैन ।’बजेटको लक्ष्य र प्राथमिकता पूरा हुने भन्दै उनले बजेटले सबै वर्ग र क्षेत्रको सुझाव तथा छलफल स्वीकार गरेको पनि बताए । बजेट जनता र देशको पक्षमा ल्याएका कारण आफ्नो खेदो खनिएको पनि अर्थ मन्त्रीले दाबी गरे ।अर्थमन्त्री शर्माले विचौलियालाई फाइदा हुने गरी आफूले बजेट नबनाएको प्रस्ट गरेका छन् । उनले उद्योगी, किसान र व्यवसायीलाई फाइदा हुने गरी ल्याएका कार्यक्रमलाई विचौलियासँग जोड्न नमिल्ने बताए । ‘कहाँनेर के मा विचौलियालाई फाइदा भयो ?’ उनले प्रश्न गरे, ‘औद्योगिक क्षेत्रको विकासका लागि नीति बनाउँदा विचौलियालाई फाइदा भयो भन्ने ?’

निकासी गर्ने उद्योगलाई विद्युत छुट दिँदा करिब २०० उद्योगले फाइदा लिन सक्ने भन्दै उनले निकासी गर्ने उद्योग थपिए उनीहरुले पनि यो सुविधा पाउने बताए । सांसदहरुले अर्थमन्त्री शर्मालाई विद्युतीय गाडीमा कर किन बढाएको भनी प्रश्न गरेका थिए । उनले महंगा विद्युतीय गाडीमा मात्र कर बढाएको बताए ।‘बजारमा धेरै प्रकृतिका गाडी छन्, १२–१३ वटा गाडी छन्, जो सस्ता छन,’ उनले भने,‘८–१० प्रकारका महंगा गाडी छन् ।’ महंगो गाडी किन्न सक्नेसँग कर धेरै संकलन गर्ने उद्देश्य राखिएको पनि मन्त्री शर्माले बताए ।

अर्थमन्त्री शर्माले बजेटको नीतिले स्यानिटरी प्याड उद्योग थप लाभान्वित हुने दाबी गरेका छन् । प्याडमा करको हकमा सरकारले महिला समवेदना र नेपाली उद्योगको भविष्य दुवैलाई ध्यान दिएको उनको दाबी छ । आयातमा कर छुट गरेपनि स्यानिटरी प्याडको स्वदेशी उद्योगलाई वर्षमा २ अर्बको व्यापार सुनिश्चित सरकारले गरेको पनि उनले दाबी गरे । ‘स्वदेशी उद्योग जोगाउन वार्षिक २ सय करोडको व्यापार सुनिश्चित गरिदिएका छौं,’ अर्थमन्त्री शर्माले भने, ‘विस्तारै हाम्रा उद्योगको गुणस्तर बढेपछि आयातलाई निरुत्साहित गर्दै लौजाने हो ।’

सरकारले आगामी आर्थिक बर्ष २०७९।८० को बजेटमार्फत तयारी स्यानेटरी प्याडको आयातमा लाग्दै आएको भन्सार शुल्क १० प्रतिशतमा सीमित गरेको छ । आगामी बर्षको बजेटअनुसार तयारी स्यानेटरी प्याड आयात गर्दा ९० प्रतिशत भन्सार शुल्क छुटको व्यवस्था गरिएको छ ।

प्रकाशित : मङ्गलबार, असार १४, २०७९०८:५८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

जारको पानीमा समेत हैजाका जीवाणु !