संसदमा सबै भन्दा बढी गयल हुनेमा ओली र देउवा, को-कति दिन गयल ? [सूची]

काठमाडौँ — आइतबार प्रतिनिधिसभा बैठकको कार्यसूचीमा थियो, नीति तथा अनुसन्धान प्रतिष्ठानसम्बन्धी विधेयक । स्वास्थ्य, शिक्षा, रोजगारी, गरिबी निवारण, वातावरण, प्रशासन, वैदेशिक सम्बन्धजस्ता विषयमा अध्ययन गर्ने यो प्रतिष्ठानसम्बन्धी विधेयक देशकै भविष्यका लागि पनि महत्त्वपूर्ण हो । तर सभामुखले निर्णयार्थ प्रस्तुत गर्दा गणपूरक संख्या पुगेन । यो समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ।

संसद्‌मा गणपूरक संख्या भनेको ५१ प्रतिशत होइन, एक चौथाइ मात्र हो । दुई सय ७५ सांसद भएको सभामा ६९ सांसद पनि उपस्थित नभएकाले बैठक नै स्थगित गर्नुपर्‍यो ।

गणपूरक संख्याको ख्यालै नगरी बैठक चलाउँदै आएका सभामुख अग्निप्रसाद सापकोटाले आइतबार पनि पातलो उपस्थितिमै प्रतिष्ठानसम्बन्धी विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत गरे । प्रस्तावको पक्षमा हुनेहरूलाई ‘हुन्छ’ र विपक्षमा हुनेलाई ‘हुन्न’ भन्न आग्रह गरे ।

यति नै बेला एमाले सांसद झपट रावलले बोल्ने समय मागे । सभामुखले रावललाई आग्रह गर्दै भने, ‘पास भएको छैन बस्नुस् ।’ सभामुखले बारम्बार बस्न आग्रह गरे पनि रावलले समय मागिरहे । तर उनले अडान नछाडेपछि सभामुखले समय दिए । प्रस्ताव निर्णयार्थ पेस गर्दा ‘कोरम’ नपुगेको दाबी गर्दै संसद्को नियमावलीअनुसार उपस्थित सांसदको संख्या यकिन गर्न रावलको माग थियो ।

सभामुखले ३ मिनेटसम्म घण्टी बजाउन लगाएर संख्या यकिन गर्न सचिवालयका कर्मचारीलाई निर्देशन दिए, गणना गर्दा ६३ जना मात्रै सांसद भेटिए जबकि प्रतिनिधिसभाको आइतबारको बैठकमा उपस्थित हुन भनेर १ सय ९० जना सांसदले हस्ताक्षर गरेका थिए ।

यसरीे हाजिर गरेका ट्याक्सी भाडा एक हजार र बैठक भत्ता एक हजार निश्चित गरेका १ सय २७ सांसदले नीति प्रतिष्ठानसम्बन्धी विधेयकलाई भने बेवास्ता गरे ।

यसरी जननिर्वाचित प्रतिनिधिसभालाई उपेक्षा गर्नेमा प्रधानमन्त्री शेरबहादुर देउवा र पूर्वप्र्रधानमन्त्री केपी शर्मा ओली सबैभन्दा अगाडि छन् । उनीहरू दुवै जना ७७/७७ दिन मात्र उपस्थित छन् भने २ सय १९ दिन गयल छन् । त्यस्तै जसपा सप्तरीका सांसद सूर्यनारायण यादव सबैभन्दा बढी अनुपस्थित हुने सूचीको तेस्रोमा पर्छन् । उनी २ सय ४ दिन अनुपस्थित भएका छन् । ‘म बिरामी भएकै कारण नियमित उपस्थित हुन सकिरहेको छैन,’ उनले संक्षिप्त प्रतिक्रिया दिँदै भने ।

कपिलवस्तुबाट निर्वाचित कांग्रेसका अभिषेक प्रताप शाह २ सय २ दिन गयल भएका छन् । गुल्मीबाट निर्वाचित एमाले सांसद गोकर्णराज बिष्ट १ सय ९६ दिन गयल छन् । २ सय ९६ दिन संसद् चल्दा बिष्ट १ सय दिन मात्रै उपस्थित छन् । ‘मन्त्री हुँदा फुर्सद कम भयो, अरू बेला पनि स्वास्थ्य समस्याको कारण नियमित जान सकिएन,’ बिष्टले भने ।

माओवादी अध्यक्ष पुष्पकमल दाहाल पनि कम उपस्थित हुनेमा पर्छन् । उनी १ सय ३ दिन हाजिर हुँदा १ सय ९३ दिन गयल छन् । उनी पछि गयल हुने सूचीमा माओवादीकै बिना मगर छिन् । उनी एक सय ४ दिन हाजिर र १ सय ९२ दिन गलय छिन् । माओवादीका शिवकुमार मण्डल १ सय ९१ बैठकमा अनुपस्थित छन् । जसपाका सांसद मोहम्मद इस्तियाक राई पनि १ सय ९१ दिन अनुपस्थित छन् ।

कांग्रेसका किशोरसिंह राठौर १ सय ९१, कांग्रेसकै नागेन्द्रकुमार १ सय ८६ दिन अनुपस्थित छन् । नगेन्द्रकुमारले सुरुमा सर्लाही कांग्रेसको सभापतिको जिम्मेवारीमा व्यस्त भएकाले र पछि स्वास्थ्यमा समस्या देखिएकाले उपस्थिति कम भएको बताए । ‘प्रेसर पनि पनि छ । अहिले पनि जिल्लामै भएकै कारणले उपस्थित हुन सकेको छैन,’ उनले भने ।

समाजवादीका डोल्पाका सांसद धनबहादुर बुढा १ सय ८८ दिन, जसपा महोत्तरीका सांसद सुरेन्द्रकुमार यादव १ सय ८३, जसपाका अध्यक्ष उपेन्द्र यादव १ सय ७६ दिन गयल छन् । कांग्रेसका कर्मा घले १ सय ७२ र विनोद चौधरी १ सय ७० दिन गयल छन् । जसपाकी रेनुकुमारी यादव १ सय ६९, एमालेका जगतबहादुर सुनार १ सय ६५ दिन, माओवादीका चक्रपाणि खनाल १ सय ६१ दिन, कांग्रेसका सीताराम महतो १ सय ६० दिन गयल भएको संसद् सचिवालयको हाजिरबाट देखिन्छ । उपचार गराइरहेका अर्का सांसद् प्रदिप गिरी १ सय ५४ दिन अनुपस्थित छन् ।

एमालेका गोकुल बाँस्कोटा १ सय ५४ दिन, कांग्रेसका देवेन्द्रराज कँडेल १ सय ३० दिन, लोसपाका शरतसिंह भण्डारी १ सय ५० दिन, जसपाका प्रमोद साह १ सय ५० दिन गयल भएका छन् । माओवादीका शक्तिबहादुर बस्नेत १ सय ४९, एमालेका छविलाल विश्वकर्मा १ सय ४९ दिन गयल भएका छन् ।

प्रकाशित : सोमबार, असार १३, २०७९०८:४४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

काठमाडौँमा बढ्दै हैजाका बिरामी !