अन्ततः फेरिए एकीकृत समाजवादीका मन्त्री !

काठमाडौं । पार्टीले आधिकारिक रूपमा निर्णय गरेको २२ दिनपछि अन्ततः नेकपा एकीकृत समाजवादीको तर्फबाट सरकारमा प्रतिनिधित्व गर्ने मन्त्रीहरू हेरफेर भएका छन् । लामो समयको आनाकानीपछि प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबार मन्त्रिपरिषद् पुनर्गठन गरेका हुन् । यो समाचार सौर्य दैनिकमा प्रकाशित छ।

मन्त्रिपरिषद् पुनर्गठन गर्ने प्रधानमन्त्री देउवाको निर्णयसँगै एकीकृत समाजवादीको तर्फबाट सरकारमा सहभागी चार जना मन्त्री फिर्ता भएका छन् भने रिक्त स्थानमा सोही पार्टीबाट नयाँ व्यक्ति सरकारमा सहभागी हुनेछन् । एकीकृत समाजवादीबाट जीवनराम श्रेष्ठ संस्कृति पर्यटन तथा नागरिक उडड्यनमन्त्री, भेटमणि चौधरी सहरी विकासमन्त्री, शेरबहादुर कुँवर श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री र भवानी खापुङ स्वास्थ्य तथा जनसंख्या मन्त्री बनेका छन् ।

यसैगरी हिरा केसी स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री बनेका छन् । राष्ट्रपति कार्यालयले आइतबार साँझ एक विज्ञप्ति जारी गरी प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद् पुनर्गठन गरेको उल्लेख गरेको छ । नवनियुक्त मन्त्रीहरूको सपथ ग्रहण भने सोमबार हुने बताइएको छ ।

एकीकृत समाजवादीले गत जेठ २२ गते सरकारमा रहेका आफ्ना मन्त्रीहरूलाई फिर्ता बोलाएर नयाँ व्यक्तिलाई सरकारमा पठाउने निर्णय गरेको थियो । तर, पार्टीले आधिकारिक रूपमा निर्णय गरेको २२ दिनपछि मात्र उक्त निर्णय कार्यान्वयन भएको हो । यसबीचमा सरकारमा रहेका एकीकृत समाजवादीका मन्त्रीहरूले नै आफ्नो पार्टीको निर्णयलाई अटेर गर्दै आएका थिए । आइतबारको पुनर्गठनअघि एकीकृत समाजवादीको तर्फबाट सरकारमा रहेका मन्त्रीहरू विरोध खतिवडा, रामकुमारी झाँक्री, कृष्णकुमार श्रेष्ठ र प्रेम आलेले पार्टीको निर्णयलाई चुनौती दिँदै विभिन्न क्रियाकलाप गरेका थिए ।

पार्टीले मन्त्री परिवर्तन गर्ने निर्णय लिएसँगै असन्तुष्ट बनेका उनीहरू पार्टीभित्र छलफल चलाउनुभन्दा पनि सत्ता गठबन्धनमै आबद्ध दल नेपाली कांग्रेसका सभापति देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास धाउन व्यस्त बनेका थिए । सरकारबाट फिर्ता बोलाइएका मन्त्रीहरू देउवा र प्रचण्डको सहयोगमा कुनै पनि हालतमा मन्त्री पद थमौती गर्न चाहन्थे ।

त्यसैले पनि प्रधानमन्त्री देउवाले विभिन्न वहानामा मन्त्रिपरिषद् पुनर्गठन गर्न लामो समय आलटाल गरेका थिए । सुरुमा संसद्मा आगामी आर्थिक वर्षको बजेटमाथि छलफल भइरहेको कारण देखाउँदै प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद् पुनर्गठन केही समयका लागि लम्ब्याउन समर्थन जुटाएका थिए ।तर, त्यसपछि पनि प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद् पुनर्गठन गर्न आनाकानी गरेपछि एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र शीर्ष नेता झलनाथ खनालले सार्वजनिकरूपमै चर्को असन्तुष्टि व्यक्त गर्दै आएका थिए ।

त्यसो त एकीकृत समाजवादीले आफ्ना मन्त्रीहरूलाई सरकारमा पठाउँदा नै ६ महिनामा मन्त्री हेरफेर गर्ने सर्त राखेरै पठाएको थियो । अध्यक्ष नेपालले पनि यसबीचमा आफ्ना मन्त्रीहरूलाई पटकपटक यो सर्त स्मरण गराएका थिए । यसका बाबजुद चारै जना मन्त्रीहरू पार्टीको निर्णय स्वीकार्दै सहजरूपमा सरकारबाट फर्कन तयार देखिएनन् ।

प्रकाशित : सोमबार, असार १३, २०७९०८:२९

आफ्नो मत ब्यक्त गर्नुहोस् :

प्रेम आलेलाई ठूलो राहत, सर्वोच्चले दियो यस्तो आदेश !