धनी, सुन्दर र सौखिन बनाउँछ शुक्र ग्रहले, कुण्डलीका १२ भावहरुमा यसको प्रभाव कस्तो रहला ?

काठमाडौँ : नौ ग्रहहरुमध्ये सबैभन्दा सुन्दर, विलासी र धनी ग्रहको दर्जा शुक्रलाई दिइएको छ। ज्योतिष विज्ञानमा शुक्र ग्रहलाई भौतिक सुख र विलासितापूर्ण जीवनको प्रतीक मानिन्छ। कुण्डलीमा शुक्र ग्रहले शुभ फल दिएको छ भने उक्त जातकले धन, यश, ऐश्वर्य एवं सबै प्रकारका सुख-सुविधाहरु प्राप्त गर्न सक्छन्।

मानिसको जीवनमा कस्तोखाले सुख लेखिएको छ, धन, सम्पत्ति र रोजगारीको मामिला पनि शुक्रको स्थितिमा नै निर्भर गर्दछ। व्यक्तिको कुण्डलीमा शुक्र कुन भावमा बसेर के फल दिन्छ त ? यहाँ कुण्डलीको १२ भावका लागि शुक्रको फलबारे आँकलन गरिएको छ।

शुक्र कुण्डलीको पहिलो भावमा छ भने…

पहिलो भावलाई लग्न भाव भनिन्छ। यदि यहाँ शुक्रग्रह बसेको छ भने मानिसले महँगा कपडा लगाउन रुचाउँछ र विलासी जीवन बिताउँछन्। यस्ता मानिसहरुले सौन्दर्य व्यवसायमा बढी कमाउँछन्। यस्ता मानिसहरुलाई पैसाको कमी कहिल्यै हुँदैन्।  स्वभावको कुरा गर्ने हो भने शुक्रको प्रभावले व्यक्तिलाई मिठाई मन पर्छ, कलाप्रिय हुन्छन्। साथै चतुर र राम्रो वक्ता हुन्छन्।

शुक्र कुण्डलीको दोस्रो भावमा छ भने…

यस्ता मानिसहरुले अथाह धन कमाउँछन् र बचत पनि गर्छन्। साझेदारीको व्यवसायमा बढी चाख लिन्छन्। कला क्षेत्रमा प्रसिद्ध बन्छन्। स्वभावमा उनीहरु धैर्यवान् हुन्छन्। उनीहरुले बिना सोचविचार निर्णय लिँदा अनेक कष्ट उठाउनुपर्दछ।

शुक्र कुण्डलीको तेस्रो भावमा छ भने…

यस्ता मानिसहरु मनोरञ्जनप्रेमी, हँसिलो, सामान्यतया खुशी, धनी, यात्रा र कलाप्रेमी हुन्छन्। यस्ता व्यक्तिले दिदीबहिनीको भरपूर सहयोग पाउँछन्।  यस्ता व्यक्तिले रङ्गमञ्च, होटल व्यवसाय र मनोरञ्जनको क्षेत्रमा सफलता पाउँछन्। यस्ता मानिसहरू लामो यात्रा मन पराउँछन्।

शुक्र कुण्डलीको चौथो भावमा छ भने…

यस्ता व्यक्तिहरु हृदयमा उदार, कलाप्रेमी, विद्वान र संगीत प्रेमी हुन्छन्। उनीहरु सामान्यतया मृदुभाषी हुन्छन् र सबैको भलाई सोच्छन्। उनीहरुले स्त्री जातिको सहायतामा धनार्जन गर्छन्।

शुक्र कुण्डलीको पाँचौं भावमा छ भने…

यस्ता मानिसहरु स्वभावले उदार, कला प्रेमी र ठूलो परिवारका हुन्छन्। उनीहरुलाई एक या दुई भन्दा बढी सन्तानको योग हुन्छ। उनीहरुले महिलाको कारण व्यापारमा आम्दानी र नाफा बढाउँछन्।

शुक्र कुण्डलीको छैठौँ भावमा छ भने…

यस्ता मानिसहरु धनवान् हुन्छन् र संकीर्ण मनोवृत्तिका हुन्छन्। उनीहरु प्रायः गुप्त रोगबाट ग्रसित, स्त्री सुखबाट हीन र खर्चालु हुन्छन्। उनीहरुले मातृपक्षबाट प्रशस्तै लाभ उठाउँछन्। यिनको साथीभाई पनि धेरै हुन्छन्।

शुक्र कुण्डलीमा सातौँ भावमा छ भने…

यस्ता मानिसहरु परम स्नेही, धनी, सौन्दर्यप्रेमी र जीवनमा खुशी हुन्छन्। यस्ता व्यक्तिहरूका मित्रताको दायरा फराकिलो हुन्छ, पारिवारिक सुख प्राप्त गर्छन् र मिलनसार हुन्छन्। उनीहरु व्यवसायिक जीवनमा बुद्धिमान ठहरिन्छन्। र स्वभावमा उनीहरु चञ्चल हुन्छन्।

शुक्र कुण्डलीमा आठौँ भावमा छ भने…

यस्ता मानिसहरु स्वभावले अल्छी हुन्छन् तर आफ्नो कामबाट चाँडै प्रसिद्धि पाउँछन्। प्रेम सम्बन्धमा प्राय: असफल हुन्छन्। यी व्यक्तिहरूले परिवारको सुख र धनधान्य प्राप्त गर्छन्। समयअनुसार उनीहरु क्रोधी एवं निर्दयी पनि हुन्छन्।

शुक्र कुण्डलीमा नवौँ भावमा छ भने…

यस्ता मानिसहरु धार्मिक, सर्वगुण सम्पन्न र मनोरञ्जन प्रिय हुन्छन्। यस्ता व्यक्तिहरू प्रतिभाशाली हुन्छन् र अरूप्रति सहानुभूति राख्छन्। भाग्यमानी हुनुका साथै स्वभावले चञ्चल र प्रशंसा सुन्न मन पराउँछन्।

शुक्र कुण्डलीको दशम भावमा छ भने…

यस्ता मानिसहरु विद्वान र तर्क वितर्कमा कुशल हुन्छन्। उनीहरु धार्मिक कार्यमा रुचि राख्ने, विलासी, भाग्यशाली, धनी हुन्छन्। यस्ता व्यक्तिले माताको माया-ममता र कृपा प्राप्त गर्दछन्। घर-जग्गा-जमिन सबैथोक पाउँछन्।

शुक्र कुण्डलीको एघारौँ भावमा छ भने…

यस्ता व्यक्तिहरू गुणवान, धनी, सफल, धेरै सन्तान भएका, प्रभावशाली, उदार र कलाप्रेमी हुन्छन्। उनीहरु भगवानमा विश्वास गर्छन् र धन-सम्पत्तिको कहिल्यै कमी हुँदैन्। यस्ता व्यक्तिहरुले कर्मक्षेत्रमा महिला पक्षको विशेष सहयोग प्राप्त गर्छन्। जसकारण आम्दानीको क्षेत्रमा विशेष प्रगति हुने देखिन्छ।

शुक्र कुण्डलीको बाह्रौँ भावमा छ भने…

यस्ता मानिसहरु धेरै विलासी तर भाग्यशाली हुन्छन्। उनीहरु मनोरञ्जनमा धेरै खर्च गर्छन्। उनीहरु नयाँ र साहसिक काम गर्न रुचाउँछन्। उनीहरु आम्दानीभन्दा बढी खर्च गर्छन्। जसकारण उनीहरुले धेरै आर्थिक सङ्कट ब्होर्नुपर्छ। क्षणिक आवेशमा बिना सोचविचार काम गर्दा मानसिक तनाव झेल्नुपर्नेछ।

प्रकाशित : बुधबार, बैशाख १४, २०७९१८:२०

आफ्नो मत ब्यक्त गर्नुहोस् :

कालो आँखा भएका मानिस हुन्छन् रहस्यमयी, आँखाको रङ्गअनुसार जान्नुहोस् व्यक्तिको स्वभाव