कसरी भयो रहस्यमयी ग्रह राहु-केतुको जन्म ? यिनको दुष्प्रभावबाट बच्न अपनाउनुहोस् महाउपाय

काठमाडौँ : ‘राहु र केतु’ यी २ नाम तपाईले धेरैपटक सुन्नुभएको होला। यी दुई ग्रहको उल्लेख ज्योतिष शास्त्रमा गरिएको पाइन्छ। यी दुवै वास्तविक ग्रहहरु नभएर छाया ग्रह हुन्। यद्यपि यिनको स्थिति परिवर्तनले समस्त १२ वटै राशिहरुमा प्रभाव पार्छ। यी दुवै ग्रहले सधैँ प्रतिगामी चाल चाल्छन्।

धार्मिक ग्रन्थहरू अनुसार यी एक राक्षसको शरीरको दुई भाग हुन्। राहु राक्षसको शिर हो भने केतु जिउ हो। राहु-केतु अशुभ भए राजा पनि भिखारी बन्ने जनविश्वास छ। आज हामी तपाईलाई यसबारे किंवदन्ती सुनाउँछौँ।

राहु-केतुको कथा

एकपटक देवता र दानव मिलेर समुन्द्र मन्थन गरिरहेका थिए। यसबाट थुप्रै रत्नहरु निक्लिए। देवता र दानवहरूले तिनीहरूलाई एक-आपसमा बाँडे। अन्तमा भगवान धन्वन्तरि अमृतको कलश लिएर बाहिर निस्किए। यो अमृतपान गर्ने सधैँका लागि अमर हुन्थे। त्यसैले यस विषयमा देवता र दैत्यबीच युद्ध भयो। यस्तो अवस्थामा भगवान विष्णुले मोहिनी अवतार लिएर दुवै पक्षलाई अमृत पिलाउन थाले। यद्यपि उनले दानवलाई अमृत पिलाएको नाटक मात्र गरेका थिए। वास्तवमा अमृत देवताहरुलाई मात्र पिलाईएको थियो।

यस कुराको छनक स्वरभानु नामक दैत्यले पाए। उनी आफ्नो रुप बदलेर देवताहरुसँग बस्न गए। जब मोहिनी रूपी विष्णुले उनलाई अमृत पिलाउन थाले तब सूर्य-चन्द्रले उनलाई चिने। र सबैलाई यस कुराको जानकारी दिए।

त्यसपछि मोहिनी रुपी भगवान विष्णुले सुदर्शन चक्रले उनको बध गरी टाउको र जिउ अलग बनाए। तर अमृतपान गरिसकेको कारण उनको मृत्यु भएन्। उनको शिरलाई राहु र जिउलाई केतु भन्न थालियो। ज्योतिष शास्त्रमा यी दुवैलाई ग्रहको मान्यता छ। यसले मानव जीवनमा कुण्डली अनुसार शुभ-अशुभ फल प्रदान गर्दछ।

राहुको उपाय : – 

शनिबारको दिन भगवान कालभैरवलाई मदिरा र दही चढाउनुहोस्। दैनिक “ॐ भ्रां भ्रीं भ्रौं सः राहवे नमः॥” राहु जप गर्नुहोस्। पानीमा कुश हाली नुहाउनुहोस्। शनिबार गुलियो चीज नखानुहोस्। दैनिक ॐ नमः शिवाय र महामृत्युञ्जय मन्त्रको जप गर्नुहोस्। यी उपायहरूले राहुसँग सम्बन्धित सबै दोषहरू हट्नेछन्।

केतुको उपाय : – 

कालो रङ्गको गाई दान गर्नुहोस्। यदि काली गाई दान गर्ने सामर्थ्य छैन भने काली गाईलाई आहारा दिनुहोस्। गरिब, असहाय, अपाङ्ग व्यक्तिलाई भोजन र धन दान दिनुहोस्। तिनको अपमान नगर्नुहोस्। केतुको मुख्य मन्त्र “ॐ स्रां स्रीं स्रौं सः केतवे नमः” जप गर्नुहोस्। भगवान श्रीगणेशको पूजा गरी गणपति अथर्वशीर्ष पाठ गर्नुहोस्। घरका बुढापाकाको सेवा गर्नुहोस्। यी सबै उपायहरूले केतुसँग सम्बन्धित दोषहरू हटाउँछ।

प्रकाशित : मङ्गलबार, बैशाख ०६, २०७९१७:३८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

आउँदो ५ दिन ४ राशिलाई वरदान समान, हुनेछ लाभै-लाभ