आज रामनवमीको दिन बनेका छन् यी दुर्लभ शुभ संयोग, मिल्नेछ लाभ

काठमाडौँ : राम नवमी हिन्दू धर्मावलम्बीहरूको महान चाड हो। हिन्दू पञ्चाङ्गअनुसार राम नवमी चैत्र महिनाको शुक्ल पक्षको नवमी तिथिका दिन मनाइन्छ। हिन्दू धर्म ग्रन्थ रामायण अनुसार राम नवमीको दिनलाई भगवान् श्री रामचन्द्रको जन्मदिनको रुपमा लिईन्छ। चैत्र २७ गते आइतबारको दिन परेको राम नवमीमा थुप्रै शुभ योगहरु बनेका छन्। लोकप्रिय ज्योतिषाचार्यका अनुसार राम नवमीको दिन रविपुष्य योग, सर्वार्थ सिद्धि योग र रवियोगको त्रिवेणी संयोजन बनेको छ। यी तीन योगका कारण यस दिनको महत्व अझ बढेको छ।

राम नवमीको दिन भगवान श्रीरामसँगै माता सीता, माता दुर्गा र बजरंगबलीको पूजा गरिन्छ। यस दिन मर्यादा पुरुषोत्तम प्रभु श्रीरामको पूजा गर्दा भक्तहरुका मनोकामना पूरा हुने जनविश्वास छ। चैत्र नवरात्रि रामनवमीसँगै समापन हुनेछ।

त्रेता युगमा अयोध्याका राजा दशरथ र महारानी कौसल्यादेवीको सुपुत्रका रुपमा श्री रामचन्द्रको जन्म चैत्र शुक्ल नवमीकै दिन भएको थियो । विष्णुको सातौँ अवतार मानिने उनको जन्म हुँदा पुनर्वसु नक्षत्र थियो । कुण्डलीमा चन्द्रमाका साथ वृहस्पति रहेको कर्कट लग्नको योग परेको थियो ।

भगवान् रामचन्द्रको कुण्डलीमा पाँचग्रह सूर्य, मङ्गल, गुरु, शुक्र र शनि एकसाथ हुने दुर्लभ योग परेको थियो । वर्षका चार नवरात्रमध्येको वासन्तीय नवरात्रका नवमीका दिन जन्मेका रामचन्द्रले राक्षसी प्रवृत्तिको अन्त्य गरी रामराज्य स्थापना गरे।

रामनवमीको महत्वका विषयमा गाग्र्यतन्त्र कृष्ण वचनअनुसार चैत्र अष्टमीका दिन अष्ट मातृकाको पूजा गरेर नवमीका दिन रामचन्द्रको पूजा गरी जप, पाठ र ध्यान गर्नाले मनले चिताएको काम सफल हुने उल्लेख छ ।

यस अवसरमा नेपालको जनकपुर र भारतको अयोध्यामा रामलीला प्रदर्शन गरिन्छ । रामनवमीका दिन देवी पूजा गरी रामचन्द्रको पूजा, पाठ एवं आराधना गरेमा ‘श्री’ प्राप्त हुने शास्त्रीय मान्यता छ । यसैगरी बत्तीसपुतलीस्थित श्री रामचन्द्र मन्दिरलगायत देशभरका राम मन्दिरमा पनि आज पूजा आराधना गर्ने भक्तजनको भीड लाग्छ ।

परापूर्वकालमा वासन्तीय नवरात्रलाई नै मूल दशैँ मानिन्थ्यो । चैतको गर्मीका कारण असोजको नवरात्रमा मनाउन थालिएको भनाइ छ । चैत र असोजको नवरात्रलाई जाग्रत दशैँका रुपमा महत्वका साथ मनाइन्छ भने पुस र असारको नवरात्रलाई सुप्त दशैँ भनिन्छ ।

यसैगरी व्रतार्क नामक ग्रन्थको अगस्त्य संहितामा चैत्र शुक्ल नवमीमा व्रत उपवास बसी श्रद्धा भक्तिपूर्वक रामचन्द्रको पूजा गर्नाले अनेक जन्मका पाप नाश भई वैकुण्ठ वास प्राप्त हुने उल्लेख छ ।असत्यमाथि सत्यको विजय तथा भगवान् श्रीरामको सम्झनामा मनाइने रामनवमी पर्वका उपलक्ष्यमा भगवान् रामचन्द्रका मन्दिरहरूमा पूजापाठ गरिन्छ । आज जनकपुरस्थित रामजानकीको मन्दिरमा मेला भर्न नेपाल तथा भारतका नरनारीको घुइँचो लाग्छ ।

त्रेतायुगमा आजकै दिन भारतको अयोध्यामा भगवान् श्रीरामको जन्म भएको स्मृतिमा पवित्र नदी, ताल तथा कुण्डहरूमा स्नानका साथ व्रत बसी रामगीता पाठ, अध्यात्म, वाल्मीकिय, तुलसीकृत र भानुभक्तीय रामायण वाचन गर्ने र भगवान् रामको पूजा आराधना गरी रातभरि भजनकीर्तन गर्ने परम्परा छ ।

आजका दिन व्रत बसी श्री रामको पूजापाठ र जपध्यान गर्नाले चिताएको कार्य पूरा हुने र अर्को जन्ममा वैकुण्ठ वास हुने कुरा ‘व्रतार्क’ नामक धर्मग्रन्थमा उल्लेख छ ।

अयोध्याका राजा दशरथका जेठा छोरा भई भगवान् विष्णुको सातौँ अवतारका रूपमा जन्मेका श्रीरामले मिथिलाका राजा जनककी छोरी सीतासँग विवाह गरेपछि संसारबाट पापी तथा दुष्ट राक्षसहरूको नाश गरे । आफ्ना पिताको कठोर आज्ञालाई सहजतापूर्वक ग्रहण गरी श्रीरामचन्द्रले मानव जातिलाई सत्यको मार्गमा लाग्न प्रेरणा दिए । यही सम्झनामा रामनवमी पर्व मनाउन थालिएको धार्मिक ग्रन्थमा उल्लेख छ।

प्रकाशित : आइतबार, चैत २७, २०७८११:५७

आफ्नो मत ब्यक्त गर्नुहोस् :

शुक्र मीन राशिमा गोचर गर्दै, ४ राशिको जीवनमा आउनेछ आनन्द र सुख-समृद्धि