चैत ५ देखि ११ गतेसम्मको साप्ताहिक राशिफल : • ज्योतिषाचार्य दामोदरनाथ लोहनी, • साताका चाड : –५ गते बिहान तेल लगाई स्नान गर्ने, आँपको मजुरा खाने । ८ गते मङ्गल चौथी व्रत । ११ गते अष्टमी व्रत, शीतलाष्टमी, (दुदु च्याँच्याँ) ।।।
• मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) : –
खर्च घट्ने क्रममा छैन । त्यसैले मनमा डर लागिरहला । स्वास्थ्य र पारिवारिक समस्या धान्नका लागि नै खर्च हुनेछ । शिक्षाको क्षेत्रमा हाल राम्रो समय छ । व्यापारसम्बन्धी कामबाट फाइदा नै होला । शनिबारको दिनमा सानोतिनो कुरामा समेत विवाद पर्नसक्छ ।
• वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) : –
साता त्यति नराम्रो छैन । अलिकति परिश्रम थपेमा काम बन्नेछन् । सोमबारको दिनमा सानोतिनो विवाद परे पनि सजिलैसित हल हुनेछ । व्यवसायबाट प्रशस्त लाभ होला । मद्दत दिने मित्र पनि त्यत्तिकै छन् । शुक्रबारको दिनमा भने निराशा मात्रै हात लाग्न सक्छ ।
• मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) : –
सुरुको दिनमा पेटमा गडबडी हुनेछ । आइतबारदेखिका दिन राम्रा खालका छन् । गरेका काम बन्नुका साथै वादविवाद र मुद्दामामिलामा समेत विजय नै हुनेछ तर मङ्गलको स्थिति राम्रो नभएकाले डाह गर्ने र काम बिगार्न खोज्ने प्रशस्त छन् । गणेशको नित्य दर्शन गर्नुहोस् ।
• कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) : –
मनमा अलि अलि डर लागिरहला । परिवारको समस्याले तपाईंलाई छोड्ने छैन । व्यावसायिक कामबाट लाभ भइरहला । प्राविधिकखाले काममा भने ठूलो सफलता देखिन्न । जागिरको सन्दर्भमा यात्रा हुने सम्भावना छ । विवाहसम्बन्धी कुरामा हाल बाधा नै पर्न सक्छ ।
• सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) : –
पाइला–पाइलामा सङ्घर्ष गर्नुपर्ने समय छ । त्यसैले मुखबाट वाणी निकाल्दा पनि विचार गर्नुहोस् । मद्दत गर्नेको सङ्ख्या थोरै छ भने रिस गर्नेहरू प्रशस्त छन् । आर्थिक स्थिति भने त्यति कमजोर हुने देखिन्न । व्यापारको कामलाई लिएर बढी घुमफिर गर्नु पर्नेछ ।
• कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) : –
सुरुको दिन रमाइलो खाले हुनेछ । मन मिलेका नातेदारसँग भेट हुनुका साथै भोजभतेरसमेत पर्न सक्छ । बौद्धिकस्तरको विकास हुन अझै केही दिन पर्खनु पर्ला । बगलामुखीको नित्य दर्शनले त्यसलाई निराकरण गर्न सकिनेछ ।
• तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) : –
भोजभतेर प्रशस्त पर्नेछन् । त्यसैका लागि खर्च पनि निकै गर्नु पर्ला । पैसाको बचत हुने देखिन्न । हातले समातेको व्यापार र व्यवसायले मात्र केही टेवा होला । स्वास्थ्यको स्थिति हाल मध्यम मात्र छ । विवादमा विजय हुने सम्भावना छ । सूर्यको दर्शन गर्नुहोस्।
• वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) : –
अति परिश्रमसँग काम गर्नुहुनेछ र त्यसैले तपाईंलाई राम्रो फाइदा दिनेछ । पढाइमा अलिकति भए पनि गति आउन थालेको छ । निराशा त्यति देखिन्न । खर्च गरे पनि राम्रो काममा नै हुनाले खिन्नता होलाजस्तो छैन । निर्माणसम्बन्धी काममा व्यस्तता होला ।
• धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) : –
सम्मान र प्रतिष्ठा बढ्ने बेला छैन । बरु त्यसमा ह्रास भने आउला । मुखबाट वाणी निकाल्दा अत्यन्त संयमित हुनुहोस् । तैपनि मित्रको सहयोगले केही नयाँ काम हातमा पर्न पनि सक्छ । नारायणको दर्शन गर्नाले त्यस्तो सम्भावनाबाट गहकिलो लाभ हुनसक्छ ।
• मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) : –
काम गर्ने हौसला बढिरहला । पढाइतिर पनि राम्रै गति आउला । तपाईंको प्रतिभाको कदर गर्नेहरू धेरै हुनेछन् । मित्रबाट पाइने सहयोगमा कति पनि कमी हुने छैन । घरपरिवारमा राम्रो स्थिति रहला । शुक्रबारको दिनमा बढी खर्च हुने देखिन्छ ।
• कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) : –
मनमा डर लागिरहला । जागिरतिर स्थानान्तरण होला कि जस्तो छ । त्यसलाई छिमोल्न पीपलमा नित्य जल हालिरहनुहोस् । आर्थिक स्थिति पनि हाललाई मध्यम रहला । सोच्दै नसोचेका समस्या आएर खर्च गर्नुपर्ने बाध्यता पर्ला ।
• मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) : –
मध्यम खालको साता छ । आधा काम बन्ला भने आधा बाँकी नै रहनेछन् । आइतबार र सोमबारको दिनमा बढी रकमको लगानी नगर्नुहोस् । हानि हुन पनि सक्छ । मङ्गलबारदेखिका दिन भने राम्रा छन् । नारायणको नित्य दर्शनले धेरै समस्या हल हुनेछन् ।