एजेन्सी : बलिउड अभिनेता ऋतिक रोशनको बहुप्रतिक्षित फिल्म फाइटरको प्रदर्शन मिति घोषणा गरिएको छ। सिद्धार्थ आनन्दको यो फिल्ममा पहिलोपटक ऋतिक रोशन र दीपिका पादुकोण सँगै देखिनेछन्। फ्यानहरू पर्दामा यी दुई कलाकारको रोमान्स हेर्न आतुर छन्।
फिल्ममा अनिल कपुर पनि महत्वपूर्ण भूमिकामा देखिनेछन्। सामाजिक सञ्जालमा ऋतिकका फ्यानहरू पनि यो फिल्मको प्लट जान्न निकै उत्सुक देखिन्छन्। सामाजिक सञ्जाल इन्स्टाग्राममा एक टिजर अपलोड गर्दै ऋतिक रोशनले फिल्म सन् २०२३ को सेप्टेम्बर २८ तारिखमा रिलिज हुने बताएका छन्।
ऋतिक रोशनको फिल्म फाइटरमा दर्शकले भरपूर एक्सन दृश्य देख्न पाउनेछन्। फाइटरमा ऋतिक पाइलटको भूमिकामा देखिनेछन्। फिल्ममा दीपिका पादुकोणको एक्सन अवतारले मानिसहरुको मन जित्ने पक्का छ। फिल्म यसअघि २६ जनवरी २०२३ मा रिलिज हुने तय भएको थियो।
शाहरुख खानको फिल्म पठान २५ जनवरी २०२३ मा हुँदैछ। यो फिल्ममा पनि दीपिका पादुकोण मुख्य भूमिकामा देखिनेछिन्। शाहरुख खानको फिल्मसँग भिडन्त हुन नदिन निर्माताले फाइटरको नयाँ रिलिज मिति घोषणा गरेका हुन्।
फाइटर बाहेक ऋतिक रोशनको पोल्टामा अरु बिग बजेट फिल्महरु पनि छन्। छिट्टै उनी एक्शन थ्रिलर फिल्म ‘विक्रम वेधा’ मा पनि देखिनेछन्। यस फिल्ममा सैफ अलि खान, राधिका आप्टे र योगिता बिहानी पनि महत्वपूर्ण भूमिकामा देखिनेछन्। यससँगै कृष फ्रेन्चाइजीको अर्को भाग बारे पनि धेरै समाचारहरु बाहिरिएका छन्। ऋतिक रोशनले छिट्टै कृष ४ को बारेमा घोषणा गर्ने सम्भावना छ।