कलियुगमा भगवान विष्णुले लिनेछन् कल्कि अवतार, कहिले र कसरी हुन्छ श्रीहरिको जन्म

काठमाडौँ : हिन्दु धर्मग्रन्थहरुमा भगवानका अवतारका धेरै घटनाहरु बताईएका छन्। धर्मग्रन्थहरुका अनुसार धर्तीमा पाप बढ्दा या प्राणीको जीवनमा कुनै आपत् आउँदा भगवानले तिनलाई बचाउन अवतार लिन्छन्। भगवानले कहिले मानव रुपमा जन्म लिएर त कहिल्यै अन्य रुपमा अवतार लिन्छन्। भगवान विष्णुले मानव कल्याण र धर्म रक्षाको लागि धेरै अवतारहरु लिएका छन्। शास्त्र अनुसार भगवान विष्णुले कलियुगमा पनि अवतार लिनेछन्।

ऋग्वेदका अनुसार कालचक्र ४ युगमा चल्छ । यी युगहरु सत्य युग, त्रेतायुग, द्वापरयुग र कलियुग हुन्। अहिले कलियुग चलिरहेको छ । यस कलियुगमा श्रीहरि विष्णुले कल्किको अवतार लिनुहुनेछ। पौराणिक कथा अनुसार जब-जब पृथ्वीमा पापीहरूको पाप र अत्याचार बढ्छ तब-तब पृथ्वीमा भगवान श्रीहरि विष्णुले अवतार लिएर पृथ्वीलाई अत्याचारीहरूको आतंकबाट मुक्त गराउँछन्।  हरेक युगमा भगवान विष्णुले अलग-अलग अवतार लिएर मानिसहरुलाई ज्ञान र मर्यादाको पाठ सिकाएका छन्। धार्मिक पुराणहरूमा सत्ययुगदेखि कलियुगसम्म भगवान विष्णुका कुल २४ अवतारको वर्णन गरिएको छ। यीमध्ये भगवान विष्णुले २३ अवतार लिईसकेका छन् र अन्तिम एउटा कल्कि अवतार कलियुगमा हुन बाँकी छ।

पुराणमा उल्लेख गरेको अनुसार भगवान विष्णुले २४ औँ अवतार कलियुग र सत्ययुगको सन्धिकालमा लिनेछन्। जब कलियुगमा मानिसहरूले धर्मको अनुसरण गर्न बन्द गर्छन्, सर्वत्र लुटमार हिंसा अत्याचार बढ्छ तब यो अवतार हुने विश्वास छ। त्यस समयमा अधर्मी पापीहरूको नाशसँगै कलियुग समाप्त हुन्छ र सत्य युगको आरम्भ हुन्छ भन्ने हिन्दू धर्म ग्रन्थको मान्यता छ। पुराण अनुसार भगवान विष्णुको यो अवतार साउन महिनाको शुक्ल पक्षको पञ्चमीको दिन हुनेछ । यसकारण हरेक वर्ष यहीँ तिथिमा कल्कि जयन्ती मनाइन्छ। भगवान कल्किको जन्मको समयमा बृहस्पति, सूर्य र चन्द्रमा एक साथ पुष्य नक्षत्रमा हुनेछ र भगवानको जन्मसँगै सत्ययुगको सुरुवात हुनेछ। भगवान श्रीकृष्ण बैकुण्ठ फर्किएपछि कलियुग सुरु भएको थियो।

श्रीमद्भागवत् पुराणका अनुसार भगवान विष्णुको कल्की अवतार ६४ कलाले पूर्ण हुनेछ। भगवान कल्किले सेतो घोडामा सवार भएर पापीहरुको विनाश गरी पृथ्वीमा धर्मको स्थापना गर्नेछन्।

प्रकाशित : शुक्रबार, माघ २८, २०७८१२:५५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

निकै चमत्कारी हुन्छ गुलाबको यस उपाय, धन प्राप्तिको साथै सधैँ घरमा हुन्छ माता लक्ष्मीको बास !