काठमाडौँ : हिन्दू धर्म ग्रन्थमा उल्लेख व्रत संस्कार मध्येको एक बुधाष्टमी शुक्ल अष्टमीमा बुधवारका दिन पर्ने पर्छ। बुधाष्टमीमा विशेषत शिव पार्वतीको पूजा-अर्चना गर्ने चलन छ र यस दिन व्रत बसे मृत्युपछि नर्क जानु नपर्ने लोकमान्यता छ। यो वर्षको बुधाष्टमी माघ २६ गते परेको छ। ग्रहहरुको राजकुमार मानिने बुध ग्रहलाई प्रसन्न पार्ने र जन्मकुण्डलीमा बुधसँग सम्बन्धित समस्त दोषहरु हटाउने यो प्रमुख दिन भएकोले यो दिनलाई बुधाष्टमी भनिएको हुनुपर्दछ। सन् २०२२ मा बुधाष्टमी तीन पटक आउनेछ। यो वर्ष ९ फेब्रुअरी, ८ जुन र ३० नोभेम्बरमा बुधाष्टमी परेको छ। बुध ग्रहसँग सम्बन्धित सबै दोष हटाउन यो दिन विशेष हो। सुख र सौभाग्यको कामनामा यस दिन माता पार्वतीको पनि पूजा गरिन्छ।
यस दिन के गर्ने ?
• बुधाष्टमीको दिन व्रत राख्नुहोला। हरियो वस्त्र धारण गरी ‘ऊं ब्रां ब्रीं ब्रौं स: बुधाय नम:’ मन्त्र १७, ५ या ८ माला जप गर्नुहोस्। एक समय मात्र भोजन गर्नुहोस्। भोजनमा नुन सेवन नगर्नुहोस्। मुङ्गको दाल आदि खानुहोस्। भोजन अघि तुलसीको पातलाई चरणामृत या जलसँग सेवन गर्नुहोस्। यो व्रत गर्दा विद्या, धन लाभ हुन्छ। व्यापारमा प्रगति हुनुका साथै शरीर स्वस्थ रहनेछ। यसले बुध ग्रहसँग सम्बन्धित सम्पूर्ण दोषहरु हटाउँछ।
• कुण्डलीमा बुध ग्रह पापी ग्रहसँग छ या अशुभ फल दिईरहेको छ भने यस दिन गाईलाई हरियो घाँस खुवाउनुहोला। • बुध अत्यन्तै खराब छ भने बुधाष्टमीको दिन तामाको भाँडामा प्वाल पारी जल प्रवाहित गर्नुहोस्।
• बुध ग्रहलाई प्रसन्न पार्न चाँदी या कासको टुक्रा पर्समा राख्नुहोस्। • बुधाष्टमीमा गणेशजीलाई मुङ्गको २१ लड्डु अर्पित गरे बुध र गणेशजी दुवै प्रसन्न हुन्छन्। • यस दिन रत्न धारण गरे बुधसँग सम्बन्धित जन्मकुण्डलीका सम्पूर्ण दोष दूर हुन्छन्।