भोलि ‘सरस्वती पूजा’ को दिन बन्दैछ ३ दुर्लभ संयोग, यिनका लागि रहनेछ सबैभन्दा शुभ

काठमाडौं : प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन विद्याकी अधिष्ठात्रीदेवी सरस्वतीको पूजाराधना गरी देशभर श्रीपञ्चमी मनाइन्छ । यो वर्ष वसन्त पञ्चमी माघ २३ गते आइतबारको दिन परेको छ।  वसन्त पञ्चमीका दिन सरस्वतीको पूजा गरे विद्या बुद्धि बढ्ने विश्वास छ।

देशभरका सरस्वती मन्दिरमा पूजाआराधना गर्न श्रद्धालुको भीड लाग्छ । विद्यालय नपठाइएका साना बालबालिकालाई श्रीपञ्चमीको दिनदेखि अक्षरारम्भ गराउने चलन छ। यस दिन लेखपढ गर्न सिकाए राम्रो विद्या आउने जनविश्वास छ।

ज्ञान, बुद्धि र विवेक प्राप्तिका लागि विद्याकी अधिष्ठात्री देवीका रुपमा सरस्वतीको पूजाआजा गरिन्छ। हिन्दूको धार्मिकग्रन्थ पुराणमा उल्लेख गरिएनुसार, माघ शुक्ल पञ्चमी तिथिका दिन ब्रह्माले सृष्टिमा देवी सरस्वतीलाई आह्वान गरेपछि सरस्वती अवतरित हुनुभएको विश्वास गरिन्छ।

विद्यार्थी, कर्मचारीका साथै कलमजीवीले यस पर्वलाई उत्सवको रुपमा मनाउने गर्छन्। शिशुको अन्नप्रासनसमेत विधिपूर्वक गराइन्छ। आजका दिनमा विवाह, नयाँ भवनमा बासलगायतका शुभकार्यका लागि साइत हेर्नु नपर्ने मान्यता रहेको छ।

विद्यार्थी बिहानै स्नान गरी आ–आफ्ना पुस्तक, कापी र कलम माता सरस्वतीको तस्वीर नजिक राखेर पूजापाठ गर्ने गर्छन्। सरस्वतीको पूजाको लागि प्रसादमा बयर, केरा, सुन्तला र बेसनले बनाइएका बुनियाका साथै विभिन्न प्रकार फलफूल र मिठाई पनि चढाउने गरिन्छ।

ज्योतिषाचार्यहरुका अनुसार यो वर्ष वसन्त पञ्चमीको दिन ३ विशेष संयोग बन्दैछ। वसन्त पञ्चमीको दिन सिद्ध, साध्य र रवि योग गरी त्रिवेणी योगको निर्माण हुँदैछ। यो योग विद्यार्थीहरुका लागि राम्रो मानिन्छ। यो योगमा पूजा-पाठ गर्दा विशेष लाभ पनि मिल्छ। ज्योतिषीहरुका अनुसार विद्यारम्भका लागि त्रिवेणी योग निकै शुभ मानिन्छ। यस योगमा विद्यारम्भ गर्दा माता सरस्वतीको आशीर्वाद प्राप्त हुन्छ।

ज्योतिषशास्त्रका अनुसार वसन्त पञ्चमीको दिन सूर्य र बुध मकर राशिमा सँगै रहनेछन्। सूर्य र बुधको यो योगले बुधादित्य योग बन्नेछ। बुध वास्तवमा बुद्धिको ग्रह हो। यसर्थ यो योगमा विद्या र बुद्धिकी देवी सरस्वतीको पूजा गर्नु शुभ र फलदायी साबित हुनेछ। यसबाहेक सबै ९ ग्रह चार राशिमा रहनेछन्। जसले गर्दा केदार योगको संयोग बन्नेछ। यहीँ कारण यी योगका कारण यस वर्षको वसन्त पञ्चमी विशेष छ।

वसन्त पञ्चमीका दिन सरस्वती पूजाको लागि शुभ मुहूर्तको सुरुवात बिहान ३ बजेर ३२ मिनेटमा हुनेछ। सरस्वती पूजाका लागि सूर्योदयदेखि मध्यान्हसम्मको समय शुभ मानिन्छ ।

प्रकाशित : शनिबार, माघ २२, २०७८२०:४८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

ग्रहचक्रमा ५ ठूला ग्रहको महासंयोग, ३ राशिलाई हुनेछ अत्यन्त शुभ