विशेष हुनेछ यो वर्षको माघे संक्रान्ति, बन्दैछ ३ शुभ संयोग

काठमाडौँ : सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गरी उत्तरायण शुरु हुने भएकाले माघ १ गतेलाई मकर संक्रान्ति भनिन्छ। साउन १ गतेदेखि शुरु भएको दक्षिणायन अन्त्य भई माघ १ गतेदेखि नै उत्तरायण शुरु हुने भएकाले दिनभन्दा रात छोटा हुँदै जान्छन्। उत्तरायण शुरु हुने दिनमा स्नान, जप, तप, ध्यान, साधना, दान आदिलाई पुण्यदायक मानिन्छ।

माघे संक्रान्तिका दिनदेखि साउने संक्रान्तिसम्म सूर्य उत्तरको बाटो हिँड्ने भएकाले यो छ महिनाको समयलाई उत्तरायण भनिन्छ। लोकप्रिय ज्योतिषाचार्यले भने,‘सूर्य उत्तरायण भएका बेला गरिएको स्नान, दान, जप, तप, तीर्थ, व्रतलाई उत्तम मानिएको छ, यो समयमा भएको जन्म र मरण उत्तम हुन्छ, प्रयागमा गई स्नान गरेर जन्म मरणको दुःखमा पर्नु नपर्ने हेमाद्रि, पुराणलगायत ग्रन्थमा उल्लेख गरिएको छ।’

उत्तरायणमा पनि माघ र वैशाख महिना उत्तम मानिन्छ। कर्म गर्नका लागि माघको शुक्ल पक्ष अझ बढी महत्वपूर्ण समय मानिन्छ। तराईवासीले पनि माघ १ लाई ‘नहान्’ अर्थात् नुहाउने पर्वका रुपमा मनाउँछन्।

तिलले स्नान गर्नु, तिलको तेल घस्नु, पितृलाई तिलयुक्त जल दिनु, तिल हवन गर्नु, तिल दान गर्नु र तिल खानु गरी छ प्रकारले तिलको प्रयोग माघ महिनामा गर्नाले यो लोकमा सुख शान्ति पाई परलोकमा मोक्ष पाइने धार्मिक विश्वाससमेत छ। माघ शुक्ल पक्षमा तिललाई छ प्रकारले प्रयोग गर्ने षट्तिला एकादशी पर्व समेत पर्दछ।

यस दिन बिहानै तीर्थस्थलमा गई स्नान गरेर तिल दान गर्नाले सुन दान गरे सरहको पुण्य प्राप्त हुने धार्मिक विश्वास छ। धर्मसिन्धुमा माघ १ मा घ्यू, चाकु, तिलका परिकार तथा खिचडी नखाने, दान नगर्ने, जलाशयमा गई स्नान नगर्ने, ध्यान नगर्ने व्यक्ति जीवनभर रोगी हुने उल्लेख छ। स्नान, दान, व्रत, ध्यान गर्ने व्यक्तिले पुण्य प्राप्त गरी मनोकामना पूर्ण हुन्छ भन्ने शास्त्रीय मान्यता छ।

माघे संक्रान्तिका दिन घ्यू, चाकु, तिलका परिकार, तरुल, पालुङ्गो, खिचडी आदि खाने चलन छ। यी परिकारले जाडोमा न्यानो प्रदान गर्ने भएकाले चिसो समयमा पर्ने पर्वमा ताता परिकार खाने गरिएकोमा स्वास्थ्य विशेषज्ञहरुले पनि सकारात्मक टिप्पणी गर्ने गरेका छन्। यी खानाले त्रिदोष नाश हुने धार्मिक विश्वास छ।

यस दिन शरीरमा तिलको तेलले मालिस गर्दा दूषित पदार्थ बाहिर निस्कन्छ भन्ने विश्वास छ। शरीरका नाडी, स्नायुमण्डल र हड्डीलाई तिलको तेल मालिसबाट सुदृढ र स्वस्थ राख्न सकिन्छ।

सूर्य उत्तरायण भएपछिको मृत्युलाई उत्तम मानिन्छ। महाभारत युद्धमा मृत्यु शैयामा पुगेका भीष्मले ईच्छा मृत्युको वरदान पाएअनुसार सूर्य उत्तरायणपछि नै शरीर त्यागेका थिए।

हिन्दु धर्ममा मकर संक्रान्तिको विशेष महत्व रहेको छ। ज्योतिषविदहरुका अनुसार यस वर्षको मकर संक्रान्ति धेरै खास रहनेछ। केही विशेष संयोगले यो पर्वलाई विशेष बनाइदिएको छ।

यो वर्ष मकर संक्रान्ति रोहिणी नक्षत्रमा सुरु भई साँझ ८ः०३ बजेसम्म रहने ज्योतिषीहरुले बताएका छन्। रोहिणी नक्षत्रलाई निकै शुभ मानिन्छ। शास्त्र अनुसार यस नक्षत्रमा दान र पूजा गरे धेरै फलदायी हुन्छ। यसका साथै मकर संक्रान्तिमा ब्रह्म योग र आनन्दादि योग पनि बन्दैछ।

ज्योतिषीहरुका अनुसार ब्रह्मयोगलाई शान्तिपूर्ण कार्यको शुरुवात गर्न निकै शुभ मानिन्छ। त्यस्तै आनन्दादी योगले सबै प्रकारका असुविधाहरु हटाउँछ। यस योगमा गरिएका प्रत्येक कार्य बाधा र चिन्ताबाट मुक्त रहन्छ। कुनै पनि शुभ कार्य गर्नको लागि आनन्दादी योगलाई शुभ मानिन्छ।

प्रकाशित : बुधबार, पुष २१, २०७८१४:३६

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अबको १० दिन घारमा ल्याउनुहोस् यस्ता चिज बदलिन्छ भाग्य, जान्नुहोस् !