दक्षिण भारतीय सुपरस्टार अल्लु अर्जुन अभिनित बहुप्रतिक्षित फिल्म ‘पुष्पाः द राइज’ शुक्रबार अर्थात् आजबाट भारत सहित नेपालका विभिन्न हलमा रिलिज भएको छ । विशेष कुरा के छ भने फिल्मबाट मानिसले जस्तो अपेक्षा गरेका थिए त्यसतै प्रतिफल पाएका छन् । चलचित्रलाई दर्शक र समीक्षकले निकै रुचाइरहेका छन् । तर यसै बीच अहिले एउटा ठूलो खबर सार्वजनिक भएको छ ।
अहिले फिल्म ‘पुष्पा’ रिलिज भएको केही समयमा नै पाइरेसीको सिकार भएको छ । फिल्म भव्य रिलिज भएको केही घण्टापछि नै धेरै वेब साइटहरूमा एचडी प्रिन्टमा अनलाइन लिक भएको छ। अहिले यो खबरले निर्मातालाई स्तब्ध बनाएको छ । यस्तो अवस्थामा पहिलो दिनमै फिल्म लीक भएपछि यसको बक्स अफिस कमाईमा पनि गहिरो असर पर्न सक्छ ।
यसरी फिल्म पाइरेसीको सिकार भएको यो पहिलो पटक भने हैन । यसअघि पनि बलिउड र साउथका धेरै फिल्म रिलिज भएको केही समय मै अनलाइनमा लिक भइसकेका छन् । यस्ता समस्याबाट बच्नको लागि निर्माताहरूले निकै सजग भए पनि लाखौँ प्रयासका बाबजुद पनि अहिलेसम्म धेरै फिल्मले पाइरेसीको सामना गर्नु परेको छ । फिल्म ‘पुष्पा’ तेलुगुको साथै तमिल, कन्नड र हिन्दी भाषामा पनि रिलिज भएको छ । तर फिल्म मलयालम भाषामा भोलि अर्थात् डिसेम्बर १८ मा रिलिज हुनेछ ।