साप्ताहिक राशिफल : मङ्सिर २४ गतेसम्म तपाईको दिन शुभ-अशुभ कस्तो रहला ?

• ज्योतिषाचार्य दामोदरनाथ लोहनी [साताको राशिफल : मङ्सिर १८ गते देखि मङ्सिर २४ गतेसम्म]

♦ साताका चाडहरु : १८ गते दर्श श्राद्ध । १९ गते चन्द्रोदय । २२ गते विवाह पञ्चमी

मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) : –

मिश्रित खालको साता छ । पूरा काम नबने पनि निराश हुनुपर्ने छैन । व्यावसायिक कामले अलिअलि सहयोग होला । मित्रबाट पाइने सदाशयताले भने निकै काम बन्नेछन् । मङ्गलबारको दिनमा सतर्क भएर हिँड्नुहोस् र गणेशको दर्शन गर्नुहोस् ।

वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) : –

सुरुको दिनमा काम बन्लाबन्ला जस्तो भए पनि आइतबारदेखि त्यसमा बाधा आउन थाल्नेछ । स्वास्थ्य त्यति राम्रो रहला जस्तो छैन । यात्रा हुने सम्भावनासमेत देखिन्छ तर विशेष उपलब्धि भने हुने छैन । शिक्षाको क्षेत्रमा लगाएको श्रम खेर जाने छैन ।

मिथुन राशि  – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) : –

साता राम्रै खालको छ । प्रशस्त सङ्घर्ष गर्नु परे पनि काममा सफलता पाइनाले मन प्रसन्न नै होला । मुद्दामामिला एवं वादविवादमा तपाईंको विजय हुने निश्चित छ । व्यापारमा आएको बाधा पनि क्रमिक रूपमा हटेर जाला । पारिवारिक स्वास्थ्यले भने खर्च गराइरहने छ ।

कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) : –

आर्थिक स्थिति त्यति राम्रो देखिन्न । पैसाको बचत पटक्कै हुनेछैन । हातले समातेको व्यवसाय एवं व्यापारमा पनि डाह गर्ने बढी छन् र बिगारी दिन सक्छन् । त्यसलाई हटाउन नारायणको दर्शन गर्नुहोस् । मनमा अनेक चिन्ता र तर्क, कुतर्क चल्न सक्छ ।

सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) : –

पूर्वाद्र्ध त्यति राम्रो देखिन्न । मङ्गलबारको बेलुकीदेखि मात्र सुधार आउला । पढाइमा नराम्रो छैन । त्यसैले बढी समय शिक्षामा नै दिनुहोस् । व्यापारबाट सामान्य लाभ मात्र हुनेछ । रिस गर्नेहरू बढी छन् । गणेशको आराधनाले मात्र तिनीहरूलाई हटाउन सकिने छ ।

कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) : –

शनिबारको दिनमा केही काम होला होला जस्तो भएर बिग्रनेछ । आइतबार एवं सोमबार स्वास्थ्यका लागि राम्रा छैनन् । मङ्गलबारदेखि मात्र काम बन्न थाल्नेछ । हौसला घट्ने छैन । मित्र असल खालका छन् भने पारिवारिक सहयोगले पनि प्रशस्त भरथेग गर्नेछ ।

तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) : –

खर्च नभईकन कुनै पनि काम बन्ने छैन । अलिकति पैसा थपेमा केही गतिला कामसमेत बन्न सक्छन् । मित्रको सहयोग मिलिरहला । विशेष गरेर प्राविधिकखाले कामबाट प्रशस्त आर्जन गर्न सक्नुहुनेछ । खर्च नघटे पनि आय राम्रो हुनाले चिन्ता भने लिनुपर्ने स्थिति छैन ।

वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) : –

मनमा डर लागिरहला तैपनि सातालाई खराब भन्न सकिन्न । सुरुकै दिनमा इष्टमित्रसँग भेट हुने र भोजभतेरको कार्यक्रम बन्न सक्छ । ज्यादा मनोरञ्जन नगर्नुहोस्, ́गडासमेत पर्न सक्ने सम्भावना छ । स्वास्थ्यको स्थिति मध्यम मात्र रहला ।

धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) : –

यो सातामा भोजभतेर गर्नुपर्ने बाध्यता पर्ला भने त्यसैका लागि खर्च पनि प्रशस्तै हुनेछ । पैसाको बचत होला जस्तो छैन । मङ्गलबारको बेलुकीदेखि मात्र केही सुधार आउला । साथीको मात्रै भर नपर्नुहोस् । बरु शिक्षामा समय दिए प्रशस्त उपलब्धि हुन सक्छ ।

मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) : – 

अलिअलि आय त भइरहला तर त्यसले तपाईंको बढ्दो आवश्यकतालाई पूरा गर्न सक्दैन । हालको ग्रह स्थितिले कुनै पनि क्षेत्रलाई पूर्णता दिने देखिन्न । सामान्य खाले फाइदा मात्रै लिन सक्नुहुनेछ । जागिरतिरसमेत सन्तोष हुने छैन । पीपलमा नित्य जल हालिरहनुहोस् ।

कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) : –

यो सातालाई राम्रै रूपमा लिन सकिन्छ । पहिलेको जस्तो विकृति हाल देखिन्न । काम गर्ने हौसला बढी नै रहला । मित्र असल खालका छन् भने गतिलो सहयोग दिनेछन् । समाजमा प्रतिष्ठा बढिरहेको छ । नेतृत्व शक्ति पनि विकसित भएर आएको छ ।

मीन राशि  – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) : – 

सातालाई राम्रो रूपमा लिन सकिन्छ । शनिबारको दिनमा मनमा शङ्का र भय भए पनि आइतबारबाट त्यो हट्दै जाला । गरेका काम अलिकति विलम्ब भएर बन्दै जानेछन् । बचत त हुने छैन तर आर्थिक स्थिति हाल पहिलेको भन्दा प्रशस्त सप्रिएको छ ।

प्रकाशित : शनिबार, मङि्सर १८, २०७८१३:०७

आफ्नो मत ब्यक्त गर्नुहोस् :

भोलि मङ्सिर १९ गते आईतबार, कस्तो रहला तपाईको दिन ? हेर्नुहोस् राशिफल !