एजेन्सी : बहुमुखी प्रतिभाका धनी अभिनेता आर माधवनलाई उनका छोराले गौरवान्वित बनाएका छन्। भारतीय सञ्चारमाध्यमहरुका अनुसार बेङ्गलोरमा आयोजित जुनियर नेशनल एक्वाटिक च्याम्पियनशिपमा महाराष्ट्रको लागि आर माधवनका छोराले ७ मेडल जितेका हुन् । १६ वर्षीय छोरा वेदान्तको यस उपलब्धिबाट आर माधवन अत्यन्तै खुशी छन्।
सामाजिक सञ्जालमा मानिसहरुले वेदान्तको यस उपलब्धिको दिल खोलेर तारिफ गरिरहेका छन्। उनले बासवनगुडी एक्वाटिक सेन्टरमा आयोजित स्विमिङ च्याम्पियनशिपमा चार रजत र तीन कास्य पदक हात पारेका हुन्।
यसको साथै यहीँ वर्षको मार्चमा वेदान्तले ब्रोन्ज मेडल जितेर आफ्नो पितालाई गर्व महसुस गराएका थिए। वेदान्तले लाटवियन ओपन स्विमिङ च्याम्पियन इभेन्टमा मेडल हासिल गरेका थिए। यसबारे जानकारी स्वयम माधवनले सामाजिक सञ्जालमा दिएका थिए। भारतीयहरुले आर माधवन र उनका छोरा वेदान्तलाई आदर्श पिता-पुत्रको जोडी भन्दै प्रशंसा गरेका छन्।
वर्कफ्रन्टको कुरा गर्ने हो भने आर माधवन पछिल्लो पटक सन् २०२० मा फिल्म निशब्दममा देखिएका थिए। उनको यो फिल्म अमेजन प्राइम भिडियोमा रिलिज गरिएको थियो। जिरो उनको पछिल्लो अन्तिम हिन्दी फिल्म थियो। त्यसपछि माधवन हिन्दी फिल्ममा देखिएका छैनन्। उनको आगामी फिल्मको कुरा गर्ने हो भने ‘रकेट्री : द नाम्बी इफेक्ट’ हो।
यस फिल्ममा आर माधवनले लिड रोल निभाउने छन्। यसको निर्देशन र कहानी लेखन उनले आफैँले गर्नेछन्। पछिल्लो समय आर माधवनको छोराको तुलना शाहरुख खानको छोरा आर्यन खानसँग गरिँदै आएको छ। मानिसहरुले वेदान्तको खुलेर तारिफ गरेका छन् भने आर्यन खानलाई निकम्मा भन्दै गालीगलौज गरेका छन्।