एजेन्सी : बलिउड स्टार अर्जुन कपूर आज आफ्नो ३६ औँ जन्मदिन मनाईरहेका छन्। अर्जुन आफ्नो अभिनयको कारण कम लव लाइफको कारण बढी चर्चामा रहन्छन्। बलिउडमा अर्जुन कपूरको नाम थुप्रै अभिनेत्रीहरुसँग जोडिए। अहिले अरबाज खानकी पूर्व पत्नी मलाइका अरोडासँग सम्बन्धमा छन्।
अर्जुन कपूरले फिल्म इन्डस्ट्रीमा सन् २०११ मा रिलिज भएको फिल्म ‘इशकजादे’ बाट कदम राखेका थिए। त्यसपछि उनले एक पछि अर्को गरी थुप्रै धमाकेदार फिल्महरु दिए। जसमा गुन्डे, टु स्टेट्स र हाफ गर्लफ्रेन्ड जस्ता फिल्म शामिल छन्। मलाइका अघि अर्जुन कपूरले कुन-कुन अभिनेत्रीलाई डेट गरे त ?
अर्जुन कपूर र अर्पिता खान :
भारतीय सञ्चारमाध्यमहरुका अनुसार १८ वर्षको उमेरमा अर्जुन कपूर सलमान खानको बहिनी अर्पिता खानसँग सम्बन्धमा थिए। यी दुईलाई एक साथ धेरैपटक मिडियाले भेट्टाएका छन् र तस्बिर कैद गरेका थिए। तर केही कारण २ वर्षसम्म डेट गरेपछि ब्रेकअप भयो। अर्जुन कपूरले एक मिडियाको अन्तर्वार्तामा आफ्नो एकमात्रा गम्भीर रिलेशनशिप अर्पिता खानसँग रहेको खुलासा गरेका थिए।
अर्जुन कपूर र परिणीति चोपडा :
अर्पितासँग ब्रेकअप भएपछि अर्जुन कपूरसँग परिणीति चोपडाको नाम जोडियो। दुवैले इशकजादे फिल्मबाट डेब्यु गरेका थिए। र यहीँ फिल्मको शूटिङको क्रममा यी दुई नजिकिएका थिए। अर्जुन र परिणीति दुवैले आफ्नो सम्बन्धबारे कहिल्यै मुख खोलेनन् तर सञ्चारमाध्यममा यिनको प्रेम कहानीको खुब चर्चा हुने गर्थ्यो।
अर्जुन कपूर र सोनाक्षी सिन्हा :
अर्जुन कपूर र सोनाक्षी सिन्हाले एक-अर्कालाई डेट गरिसके। अर्जुन कपूरले सोनाक्षी सिन्हासँगको आफ्नो अफेयरबारे भनेका थिए, ‘केही सम्बन्ध यस्ता हुन्छन् जुन लामो समयसम्म चल्छ र केही फिल्मको शूटिङबित्तिकै समाप्त हुन्छ। हामी एक-अर्कालाई मन पराउँछौं। यस बाहेक हामी एक-अर्काको सम्मान पनि गर्छौं।’
अर्जुन कपूर र मलाइका अरोडा :
अर्जुन कपूर अहिले सलमान खानकी भाउजु मलाइका अरोडासँग प्रेम सम्बन्धमा छन्। यी दुईको विवाहबारे पनि बेला-बेलामा मिडियामा चर्चा चलिरहन्छ। दुवैले आफ्नो सम्बन्ध सार्वजनिक रुपमा स्वीकार गरिसके। विभिन्न कार्यक्रम तथा अरु ठाउँहरुमा पनि यी दुई एकसाथ देखा पर्छन्।