असारको मासिक राशिफल : ग्रहगोचर अनुसार यी राशिलाई शुभ छ, तर यिनलाई शनिले पिरोल्नेछ

मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) :

तपाईंका लागि आषाढ महिनाका ग्रहगोचर सामान्य रहेकाले महिना सफलताको आधारमा मध्यम फलदायी हुने देखिन्छ । मन्द गतिले अगाडि बढेको अध्ययन कार्य महिनाको उत्तरार्द्धपछि तीव्रगतिले अगाडि बढ्ने छ । गुरुको अनुकूलताले गर्दा मानसिक प्रसन्नता बढे र जानुका साथै भाग्यले साथ दिनाले नयाँ काम पाउने सम्भावना, गरेको काममा सफलता, मान प्रतिष्ठा बढ्नुका साथै सोचेका योजनामा सफलता मिल्नेछ ।

प्रारम्भमा गर्न आँटेका काममा केही बाधाअड्चन आइपरे पनि क्रमशः सफल बन्दै जानेछन् । कर्मचारी वर्गका लागि मानसम्मानका साथै पदप्रतिष्ठामा समेत वृद्धि गराउनेछ । महिनाको उत्तरार्द्धमा युवकयुवतीका लागि प्रेम मनोरञ्जनका अवसर जुर्ने देखिन्छ। दाम्पत्य सम्बन्धमा माधुर्यको आभास हुने छ । पशुपालन एवं कृषिकर्म गर्नेका लागि महिना राम्रो देखिन्छ । स्वास्थ्य स्थिति अनुकूल रहने छ भने पारिवारिक सुख सन्तोषप्रद हुने देखिन्छ ।

वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) :

यस महिनामा तपाईंका ग्रहगोचर अनुसार प्रेमसम्बन्ध गाँसिने, पठनपाठनमा अभिरुचि बढ्नुका साथै मनोरञ्जनका अवसर मिल्ने छन् । पारिवारिक भेटघाटका साथै दाम्पत्य सुखसम्बन्ध अनुकूल रहनेछ । उत्तरार्द्धमा स्वास्थ्यमा सामान्य झमेला देखापर्ने योग छ ।

इष्टमित्र एवं आफन्तसँगको सरसहयोगको अपेक्षा नराख्दा नै राम्रो होला। नयाँ काम एवं आर्थिक लगानी गर्न पनि महिना अनुकूल छैन। नयाँ कारोबार गर्नका लागि यो महिना हानिनोक्सानी पुग्न सक्ने देखिएकाले सावधानी अपनाउनुपर्ने छ ।

मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) :

तपाईंका लागि यस महिनामा पठनपाठनमा भन्दा अन्य मनोरञ्जनका विषयमा अभिरुचि रहने छ । अढैया शनिका कारण अनावश्यक झमेला, चोटपटकको भय एवं आर्थिक हानिनोक्सानीको सम्भावना देखाउँछ भने महिनाको उत्तरार्द्धमा घरायसी समस्याबाट छुट्कारा मिल्ने , स्वास्थ्य एवं कारोबारमा सुधार हुँदै जानुका साथै पठनपाठनमा समेत अभिरुचि बढेर जानेछ । आर्थिक पक्षका कामबाट सन्तोषप्रद लाभ हुँदैन ।

आफन्त एवं इष्टमित्रसँगको भेटघाट एवं रमाइलो यात्राको योग समेत छ । सन्तान एवं पारिवारिक सुखसन्तोष अनुकूल रहने छ । युवकयुवतीमा नयाँ प्रेमसम्बन्ध गाँसिने देखिन्छ । ठूलो लगानी एवं लेनदेनसम्बन्धी कारोबारमा भने सतर्कता अपनाउनुपर्ला ।

कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) :

महिनाको पूर्वार्द्धमा यात्रा एवं  स्थान परिवर्तनको सम्भावना छ । आर्थिक पक्ष अनुकूल रहनाले कारोबारमा प्रगति हुँदै जाने छ । साहस, धैर्य एवं पराक्रम बढेर जाने छ । महिनाको प्रारम्भमा भूमि एवं वाहनको लाभ हुने योग छ ।

उत्तरार्द्धमा पठनपाठनमा अनावश्यक बाधाअड्चन आइपर्ने, घरायसी समस्याले पिरोल्ने, सन्तानको चिन्ताले सताउनुका साथै आर्थिक हानि-नोक्सानीको सम्भावना देखिन्छ । पठनपाठनमा क्रमशः प्रगति हुँदै जाने योग छ ।

सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) :

महिना मध्यम फलदायी छ । आँटेका-ताकेका काममा सामान्य बाधाअड्चनका साथै ढिलासुस्ती गराउने देखिन्छ । महिनाको उत्तरार्द्धमा पठनपाठनमा अभिरुचि बढेर जाला ।

बोलीको प्रभावले महत्वपूर्ण काम बन्ने छन् । इष्टमित्र एवं आफन्तको सुख राम्रै पाइएला । पारिवारिक सुखसन्तोष अनुकूल रहने छ साथै धार्मिक एवं सामाजिक काममा समेत अभिरुचि बढ्ने छ।

कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) :

महिना राम्रो छ । शारीरिक आरोग्यताका साथै मानसिक चिन्ता हटेर जाने छन् ।  रोकिएका काम क्रमशः बन्दै जानेछन् । आर्थिक कारोबारमा लाभ हुने छ । पठनपाठनका साथै धर्मकर्ममा समेत अभिरुचि बढेर जाने छ ।

महिनाको उत्तरार्द्धमा भने ग्रहको अनुकूलताले गर्दा पारिवारिक सुखसन्तोष, आर्थिक लाभ, मनोरञ्जनका साथै आँटेको काममा सफलता मिल्नेछ । घर परिवारमा धार्मिक कार्यका साथै माङ्गलिक कार्यको समे त सम्भावना छ । यात्रा एवं मनोरञ्जनका अवसर समेत मिल्ने छन् ।

तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) :

तपाईंको अढैया शनिदशा प्रारम्भ भएको हुनाले आँटेको काममा अनावश्यक बाधाअड्चनका साथै ढिलासुस्ती समेत गराउला । नयाँ लगानी एवं ठूलो लेनदेनसम्बन्धी कारोबार गर्नका लागि त्यति राम्रो देखिन्न । अन्य कामको हिसाबले भने महिना मध्यम फलदायी छ । प्रारम्भमा काममा बाधाअड्चन, स्वास्थ्यमा उतार चढाव एवं ढिलासुस्ती गराउने छ ।

शनिको जपपाठका साथै पीपलमा शनिबार जलार्पण गर्दा राम्रो होला । पठनपाठनमा मन्द प्रगति गराउला । कृषि क्षेत्रका व्यक्तिका लागि भने महिना फलदायी छ । कर्मचारी वर्गका लागि खासै सन्तोष मिल्ने देखिन्न । यात्रा एवं स्थान परिवर्तनको सम्भावना समेत रहेको छ।

वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) :

यस महिनामा तपाईंका ग्रहगोचर शुभाशुभ मिश्रित फलदायी देखिन्छन् । दाजुभाइसँगको सम्बन्धमा चिसोपना आउने छ । पठनपाठनमा अभिरुचि बढेर जाने छ । रमाइलो भ्रमण एवं वैदेशिक यात्राको सम्भावना छ । आर्थिक पक्ष मध्यम हुनेछ भने रोकिएका काम क्रमशः बन्दै जाने छन् ।

महिनाको पूर्वार्द्धमा धार्मिक एवं सामाजिक कार्यमा सहभागी हुनुपर्ने, सन्तान एवं पारिवारिक सुख राम्रो मिल्ने छ भने उत्तरार्द्धमा रमाइलो भेटघाट, नयाँ प्रेम सम्बन्ध गाँसिनुका साथै मनोरञ्जनका अवसर मिल्ने छन्।

धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) :

साढे सात शनिदशा चलेकाले स्वास्थ्यमा उतारचढावको स्थिति उत्पन्न हुने छ । काममा बाधाअड्चन एवं ढिलासुस्ती एवं अपजश समेत गराउला ।

पूर्वार्द्धमा पारिवारिक झमेलाले सताउनुका साथै घर जग्गा-जमिनसम्बन्धी किचलो निस्कने, अनावश्यक वादविवादमा तान्ने, काममा अपजश आइपर्ने देखिन्छ भने उत्तरार्द्धमा आर्थिक कारोबारमा सफलता मिल्ने, पठनपाठनका साथै धार्मिक एवं सामाजिक काममा अभिरुचि बढेर जाने, सन्तान एवं परिवारको सुखसन्तोष मिल्ने, रोकिएका काम बन्दै जानुका साथै मनोरञ्जनका अवसर मिल्ने छन् ।

मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) :

तपाईंका लागि साढे सात शनिदशाका कारणले यस महिनामा पारिवारिक झमेला, आर्थिक हानिनोक्सानी, अनावश्यक कलह जस्ता दोष आइपर्ने देखिन्छ । अध्ययन अध्यापनमा केही बाधाअड्चन आइपर्नाले सोचे अनुसारको सफलता नमिल्न पनि सक्छ ।

महिनाको मध्यभागमा धार्मिक कार्यको सम्भावना छ साथै स्वास्थ्यमा सामान्य उतारचढावको स्थिति उत्पन्न हुनुका साथै काममा बाधाअड्चन आइपर्ने, अनावश्यक खर्चको मात्रा बढ्ने देखिन्छ ।

कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) :

तपाईंका लागि यस महिनाका ग्रहस्थिति मध्यम फलदायी छन् । पूर्वार्द्धमा स्वास्थ्योपचारमा खर्च गराउने, अध्ययन अध्यापनमा अनावश्यक अवरोध उत्पन्न हुने , घरायसी समस्याले सताउनुका साथै व्यर्थको चिन्ताले समेत पिरोल्ने देखिन्छ । पठनपाठनमा मन्द प्रगतिको योग छ ।

महिनाको उत्तरार्द्धमा साथीभाइ एवंं आफन्तको सहयोग पाइने, गर्न आँटेको काममा भाग्यले राम्रै साथ दिने, यात्रासम्बन्धी अवसर मिल्नुका साथै पठनपाठनमा समेत अभिरुचि बढेर जाने छ।

मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) :

यस महिनामा तपाईको जोश, जाँगर, पराक्रम बढेर जानाले महत्वपूर्ण काममा सफलता मिल्नेछ । नयाँ कामको अवसर मिल्ने , साथीभाइ एवं आफन्तको सहयोगले महत्वपूर्ण काम बन्ने, सन्तान एवं दाम्पत्य सुखसम्बन्ध राम्रो भएर जाने छ । धर्मकर्मका साथै पठनपाठनमा समेत अभिरुचि बढेर जानेछ ।

कर्मचारी वर्गका लागि मान प्रतिष्ठा बढ्नुका साथै पदोन्नतिको सम्भावना छ । महिनाको उत्तरार्द्धमा सामान्य आँखा र पेटसम्बन्धी समस्या आइपर्ने देखिएको छ । रमाइलो ठाउँको यात्रा एवं मनोरञ्जनका अवसर प्रशस्त रहेका छन् ।

प्रकाशित : मङ्गलबार, असार ०१, २०७८२३:२२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

आज असार २ गते बुधबार : तपाईको दिन शुभ-अशुभ कस्तो रहला ? अचानक पैसा खर्च हुने योग छ