काठमाडौँ : बि.सं. २०७८ सालको पहिलो सूर्यग्रहण अहिले लागिरहेको छ। नेपाली समय अनुसार दिउँसो १ बजेर ५७ मिनेटदेखि सूर्यग्रहण लाग्न सुरु भएको हो। सुदूरपूर्वी एवं उत्तर अमेरिका, मङ्गोलिया, चीन, नर्वे, ग्रीनल्याण्ड, युके, युरोप र प्यासिफिक क्षेत्रबाट देखिने सूर्य ग्रहणको नेपालमा भने कुनै प्रभाव नहुने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।
नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य सचिव ज्यो.पं.सूर्यप्रसाद ढुङ्गेलका अनुसार नेपालमा सूर्यग्रहण नदेखिने भएकोले ग्रहणको सूतक काल लाग्नेछैन र बार्नुपर्ने जरुरी हुँदैन।
ज्येष्ठ कृष्णपक्षको औंसी तिथिमा लागिरहेको यो सूर्यग्रहण साँझ ६ बजेर ५६ मिनेटसम्म लाग्नेछ। तर नेपालको कुनैपनि भू-भागबाट देखिने छैन। नेपालबाट ग्रहण नदेखिएपनि १२ वटै राशिहरुमा यसको प्रभाव भने पर्ने देखिन्छ।
‘रिङ्ग अफ फायर(Ring of Fire)’ यानी वलयाकार सूर्यग्रहणमा जब चन्द्रमा पृथ्वीको धेरै टाढा रहेर पृथ्वी र सूर्यको बीचमा आउँछ अर्थात चन्द्रमाले सूर्यलाई यस प्रकारले छेक्दछ कि सूर्यको मध्य भाग मात्र छाया क्षेत्रमा आउँदछ र पृथ्वीबाट हेर्दा चन्द्रमा द्वारा सूर्य पूरा छेकिएको देखिन्न बरु सूर्यको बाहिरको क्षेत्र प्रकाशित हुनाले चुरा या वलयको रूपमा चम्किने देखिन्छ । चुरा आकारमा बनेको सूर्यग्रहणलाई नै वलयाकार सूर्यग्रहण भनिन्छ ।
मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) : मेष राशिको जीवनमा ग्रहणको कारण पारिवारिक समस्या बढ्न सक्छ। अनावश्यक खर्च बढ्दा मन अत्तालिनेछ। १५ दिनसम्म आफ्नो आँखाको विशेष ख्याल गर्नुहोला।
वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) : अहिले लागिरहेको सूर्यग्रहण वृष राशि र मृगशिरा नक्षत्रमा लागिरहेको छ। यसकारण यस राशिका जातकमा सबैभन्दा बढी प्रभाव पर्ने देखिन्छ। ग्रहणको प्रभावले तपाईको वैवाहिक जीवनमा केही समस्याहरु आउन सक्छ। यसबाहेक तपाईको व्यापार-व्यवसायमा घाटा ब्होर्नुपर्नेछ। आर्थिक सङ्कटले घेर्नेछ। आफ्नो वाणी र स्वभावमा नियन्त्रण गर्नुहोला।
मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) : मिथुन राशिका जातकको धन हानि हुन् सक्छ। विवादबाट टाढै रहनुहोला। यात्रामा विशेष सावधानी अपनाउनुहोला।
कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) : आउँदो १५ दिनमा तपाईको रोकिएका सम्पूर्ण काम पूरा हुनेछन्। तपाईको शत्रु र विरोधी परास्त हुनेछन्। यस समयावधिमा कुनै पनि निर्णय हतारमा नलिनुहोला।
सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) : ग्रहणको कारण तपाईको धन स्थितिमा सुधार आउनेछ। बसाई सर्ने योग देखिन्छ। कुनै नयाँ काम सुरु गर्दा वेश हुनेछ।
कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) : ग्रहणको कारण करियरमा समस्या आउन् सक्छ। तपाईको स्वास्थ्य अचानक खराब हुन् सक्छ। यसकारण धेरै सावधान रहनुहोला। नजिकका आफन्तजनसँग झगडा नगर्नुहोला।
तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) : ग्रहणको कारण तपाईको स्वास्थ्य बिग्रिन सक्छ। तपाईको परिवारमा पनि समस्या आउँछ। अड्डा-अदालतको मामिलाले तपाईलाई पिरोल्छ। आउँदो १५ दिनसम्म तपाई एकदम होशियारपूर्वक रहनुहोला।
वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) : यस समयावधिमा आफ्नो कारोबारमा नोक्सानको ख्याल गर्नुहोला। करियरमा अचानक बदलाव आउन सक्छ। यस बाहेक वैवाहिक जीवनमा धेरथोर तनाव उत्पन्न हुने देखिन्छ।
धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) : आउँदो १५ दिनसम्म यात्रामा सावधानी अपनाउनुहोला। आर्थिक स्थिति सुध्रिनेछ। जागिरमा सरुवा हुन् सक्छ।
मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) : ग्रहणको कारण सन्तानको चिन्ताले मन भत्भती पोल्छ। शैक्षिक प्रतियोगितामा सफलता हात लाग्दैन। सोचविचार गरी आत्मसमीक्षा गर्नुहोला।
कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) : ग्रहणको कारण बिनाकारण बढ्ता सोच्दा मानसिक तनावले पिरोल्छ। करियरमा कुनै पनि लापरवाही नगर्नुहोला। यतिबेला जीवनमा ठुलो परिवर्तन आउने योग छ। स्वयमलाई यसको लागि तयार राख्नुहोला।
मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) : ग्रहणको कारण तपाईलाई लाभ हुनेछ। सबै रोकिएका कामहरु पूरा हुनेछन्। तपाईको आर्थिक स्थितिमा सुधार आउनेछ।