काठमाडौँ : सनातन हिन्दू धर्मावलम्बीहरूले प्रयोग गर्ने चान्द्र गणना पद्धतिमा आधारित पञ्चाङ्गबमोजिम प्रत्येक महिनाको शुक्ल पक्ष एवं कृष्ण पक्षको एघारौँ तिथिलाई एकादशी भन्दछन्। पञ्चाङ्गको एघारौं तिथि अनुसार चैत्र कृष्ण पक्षको एकादशीलाई पापमोचिनी एकादशी भनिन्छ। यो वर्ष पापमोचिनी एकादशी भोलि अर्थात चैत्र २५ गते परेको छ। हिन्दु धर्ममा अन्य व्रत र उत्सवका तुलनामा एकादशीको महत्त्व बढी छ र विशेषगरी यो एकादशीको विशेष महत्व छ। एकादशी व्रत भगवान् श्रीविष्णुको प्रिय तिथि हो, सोही कारण जीवनमा भगवान विष्णु जीको कृपा पाउनको लागि एकादशी व्रत राखिन्छ। स्मरणमा रहोस् कि एकादशीलाई ‘हरिदिवस’ र ‘हरिवासर’ पनि भन्दछन्। पापमोचनी एकादशीको मुहूर्त, व्रत विधि, महत्व र कथा :
पापमोचनी एकादशी व्रत मुहूर्त
एकादशी तिथि आरम्भ – चैत्र २५ गते राति २ बजेर २० मिनेटदेखि
एकादशी तिथि समाप्त – चैत्र २६ गते राति २ बजेर ४० मिनेटमा
हरिवासर समाप्ति समय – चैत्र २६ बिहान ८ बजेर ५५ मिनेटमा
एकादशी व्रत समय – चैत्र २६ गते दिउँसो १ बजेर ५० मिनेटदेखि ४ बजेर ३० मिनेटसम्म
पापमोचनी एकादशीको व्रत विधि :
पापमोचिनी व्रतमा भगवान विष्णुको चतुर्भुज रूपको पूजा गरिन्छ। व्रत लिनेले एकपटक दशमी तिथिमा सात्विक भोजन गर्नुपर्छ। मनबाट भोगविलासको भावना त्यागेर भगवान विष्णुको स्मरण गर्नुहोला। एकादशीको दिन सूर्योदय कालमा स्नान गरी व्रतको सङ्कल्प गर्नुहोला। भगवानको अगाडी बसी भगवद् गीता पाठ अथवा श्रवन गर्नुहोला। झुट या अप्रिय वचन नबोल्नुहोला र प्रभुको स्मरण गर्नुहोला।
पापमोचनी एकादशी व्रतको महत्व
धार्मिक मान्यता अनुसार पापमोचनी एकादशी व्रत बस्दा व्रतालुका समस्त प्रकारका पाप र कष्ट दूर हुन्छन्। यो व्रत गर्दा भक्तले ठुल्ठुला यज्ञ समान फल प्राप्त गर्छन्। पापमोचिनी एकादशी व्रत गर्दा सहस्त्र अर्थात् हजार गाई दान गरेबराबरको फल मिल्छ।
ब्रह्म हत्या, सुवर्ण चोरी, सुरापान र गुरुपत्नी गमन जस्ता महापाप पनि यो व्रत बस्दा दूर हुन्छ। यो एकादशी तिथिको ठुलो धार्मिक महत्व छ र पौराणिक शास्त्रमा पनि यसको वर्णन पाइन्छ।
पापमोचनी एकादशी व्रतको कथा
पौराणिक कथा अनुसार युधिष्ठिरको जिज्ञासा शान्त पार्न भगवान श्रीकृष्णले राजा मान्धाता र लोमश ऋषिको संवादलाई उद्धृत गर्दै यो एकादशी व्रतको महत्व बताएका थिए। उनले भने – राजा मान्धाताले एक समय लोमश ऋषिलाई सोधे कि प्रभु यो बताउनुहोस् कि मनुष्यले जानी नजानी गरेका पापकर्मबाट कसरी मुक्ति पाइन्छ। राजा मान्धाताको यस प्रश्नको जवाफमा लोमश ऋषिले एक सुनाए। चैत्ररथ नामक सुन्दर वनमा च्यवन ऋषिका पुत्र मेधावी ऋषि तपस्यामा लीन थिए।
यस वनमा एक दिन मञ्जुघोषा नामको अप्सराको नजर ऋषमाथि पर्यो। अत्यन्त सुन्दर तेजस्वी मेधावी ऋषिलाई तपस्या गरिरहेको देखेर अप्सरा मोहित भईन्। कामोत्तेजनाले अन्धो बनेकी अप्सराले कामोद्दीपक लेपन र वेशभूषामा उत्तेजक हाउभाउ प्रस्तुत गरी ऋषिलाई आकर्षित गर्ने प्रयत्न गर्न थालिन्।
कामदेव पनि त्यतिबेला त्यही बाटो हुँदै कतै जाँदै थिए र उनको नजर नजर त्यहीबेला अप्सरा र मेधावी ऋषि माथि पर्न गयो। कामदेवले दुवैको मनोभावना बुझेर उनीहरुलाई मिलनका लागि मद्दत गर्न थाले र अन्तत: ऋषि कामपीडित भए। दुवै कामान्धले बेहोसी जस्तै भए।
कामको वशमा आएर ऋषिले शिवको तपस्यालाई भुले र अप्सरासँग रमण गर्न लागे। उनले शिवतत्त्वलाई बिर्सिएर मञ्जुघोषाको प्रेममा परी वर्षौं बिताए।
समय बित्दै जाँदा ऋषिलाई आफू शिवको तपस्याबाट पहिल्यै बिमुख भएको चेतना भयो। आफ्नो तपस्या भंग गरिदिएको भन्दै ऋषि अप्सरासित क्रोधित बने र पिशाचिनी बन भन्दै श्राप दिए।
मुनिबाट पिशाची हुने श्राप पाएकी मञ्जुघोषाले विनयपूर्व त्यस योनिबाट छुटकारा पाउने उपाय बताउन अनुनय बिनय गरिन् । अप्सराको याचनाबाट द्रवित भई मेधावी ऋषिले चैत्र कृष्ण एकादशीको व्रत अर्थात पाप मोचिनी एकादशीको व्रतको विधि सविस्तार बताईदिए।
भोगमा निमग्न रहेका कारण ऋषिको तेज पनि लोप भएको थियो। उनी आफैं पनि पाप मोचिनी एकादशीको ब्रत बसे। जसले गर्दा उनको पाप नष्ट भयो। अर्कोतिर अप्सरा पनि यस व्रतको प्रभावले पिशाच योनिबाट मुक्त भईन्। पापबाट मुक्त भएपछि अप्सराले अझ सुन्दर रुप प्राप्त गरिन् र उनी स्वर्गको लागि प्रस्थान गरिन्। यसरी दुवैको पाप नाश भएको कथा अनुसार पाप मोचिनी एकादशी व्रतको महत्व अहिले पनि उतिकै रहेको छ ।