सूर्यको कुनै राशिमा प्रवेशलाई नै संक्रान्ति भनिन्छ। आजबाट सूर्य मीन राशिमा प्रवेश गरेको कारण यसलाई मीन संक्रान्ति भनिन्छ। मीन बृहस्पतिको जलीय राशि हो र यसमा सूर्यको प्रवेशले विशेष परिणाम पैदा गर्छ। बिरामी र रोग बढाउँछ। मानिसहरुका मनमा चञ्चलता आउँछ। यस समयमा ज्योतिषीय कारण शुभ कार्य वर्जित हुन्छन्। यसलाई मीन मलमास(खरमास) पनि भनिन्छ। आज चैत्र १ गतेबाट मीन राशिमा प्रवेश गरेको सूर्य अर्को वर्षको बैशाख १ गतेसम्म यहीँ राशिमा रहन्छ।
कुन-कुन शुभ कार्य वर्जित र किन ?
यस समय विवाह वर्जित हुन्छ। यो बेला यदि विवाह गरे भावनात्मक र शारीरिक सुख दुवै पाइदैन। यतिबेला नयाँ घरको निर्माण गर्ने र किन्ने काम वर्जित हुन्छ। यस अवधिमा बनाईएका घर कमजोर हुन्छ र त्यो घरमा सुखशान्ति मिल्दैन।
नयाँ व्यवसाय या नयाँ कार्यको सुरुवात नगर्नुहोला। मीन मलमासमा नयाँ व्यवसाय सुरु गर्नु भनेको आर्थिक समस्या निम्त्याउनु हो। अन्य मङ्गल कार्यहरु जस्तै द्विरागमन, कर्णवेध र मुण्डन पनि वर्जित हुन्छ।
सूर्य गोचरको नकारात्मक प्रभावलाई कसरी कम गर्ने ?
यस राशि परिवर्तनको प्रभाव सामान्य रहनेछ। प्राय: मानिसको जीवनमा वाद-विवाद बढ्नेछ। तर मानिसहरुका झुकाव पनि इश्वर तर्फ बढ्नेछ।यस समयमा सूर्यलाई बेसार मिसिएको जल अर्पित गर्नुहोला। नित्य प्रात: सूर्य मन्त्र जप गर्नुहोला। धेरै समस्या भएमा आइतबार व्रत राख्नुहोला।