काठमाडौं : सर्वोच्च अदालतले तत्कालीन एमाले र नेकपा माओवादी केन्द्र ब्युँताउने फैसला गरेसँगै पुनः दुई पार्टीबीच गठबन्धन बनाएर सरकार गठनको गृहकार्य अगाडि बढेको छ । नेकपा एमालेभित्र वरिष्ठ नेता माधवकुमार नेपाल संकटमा परिरहेको बेला पुनः दुई पार्टीको गठबन्धनको गृहकार्य अगाडि बढेको हो ।
सर्वोच्च अदालतको फैसलापूर्व नै एमालेका नेताद्वय घनश्याम भुसाल र शकंर पोखरेलबीच एकताको विषयमा संवाद भएको थियो । नेताहरुबीच विभिन्न विकल्पमा छलफल अगाडि बढेको एक नेताले बताए । सर्वोच्चको फैसलासँगै एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली बलियो हुनुभएको छ । यो खबर नेपाल समाचारपत्र राष्ट्रिय दैनिक पत्रिकामा प्रकाशित छ।
संसदीय दलमा झन्डै दुई तिहाइ बहुमतमा रहनुभएका ओली केन्द्रीय कमिटीमा पनि बहुमत पु¥याउने खेलमा रहनुभएको छ । एमालेको १२० जना सांसद रहेकोमा माधव नेपाल पक्षमा ४० जना मात्र सांसद रहेका छन् । केन्द्रीय कमिटी बैठकमा नेपाल पक्ष बराबरीको अवस्थामा भए पनि संसदीय दलमा अल्मतमा हुँदा पार्टी विभाजन हुने सम्भावना तत्कालका लागि टरेको छ ।
पार्टी विभाजित गर्नका लागि नेपाल पक्षसँग संसदीय दल र केन्द्रीय कमिटी बैठकमा ४० प्रतिशत बहुमत पुग्ने अवस्था छैन । एमालेमा भए पनि वरिष्ठ नेता माधवकुमार नेपाल पक्षमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगको सहकार्यमा रहेका छन् ।
नेपाल पक्षका नेताहरु संकटमा परिरहेका बेला अहिलेको संकट टार्नका लागि प्रधानमन्त्री ओली र नेपाल पक्षका दोस्रा तहका नेताहरु परामर्शमा जुटेका छन् । नेपाल पक्षका एक नेताले भने– ‘दुई पार्टी अलग भएको अवस्थामा अहिलेको पार्टी जोगाउन र कार्यकर्ताको मनोबल उच्च बनाउन दुई पार्टीबीचको गठबन्धन बनाउनुपर्छ भन्ने विषयमा छलफल अगाडि बढेको छ ।’