पाउनुपर्ने स्वास्थ्यकर्मी हेर्या-हेर्यै, मन्त्रीका आसेपासेलाई चाहीं लाखौँ कोरोना जोखिम भत्ता

काठमाडौँ : स्वास्थ्य मन्त्रालयले मन्त्रिपरिषद्को आदेशविपरीत पहुँचका आधारमा जोखिम भत्ता वितरण गरेको पाइएको छ । कोरोना संक्रमितको पहिचान, नियन्त्रण र उपचारमा संलग्नले नपाएको अवस्थामा तत्कालीन स्वास्थ्यमन्त्री र राज्यमन्त्रीको सचिवालयका सदस्यहरूलाई जोखिममा काम गरेसरह सबै दिनको भत्ता उपलब्ध गराइएको हो ।

मन्त्रालय, यूएन एजेन्सी र अन्य अन्तर्राष्ट्रिय संस्थाबाट तलब बुझ्ने गरी सचिवालयमा रहेका कर्मचारीलाई समेत कोरोना अवधिमा जोखिम मोलेर काम गरेको भन्दै भत्ता दिइएको छ । यो खबर कान्तिपुर राष्ट्रिय दैनिक पत्रिकामा प्रकाशित छ।

मन्त्रालयले गत चैत ११ देखि कात्तिकसम्म २ सय ३० दिनको जोखिम भत्ता वितरण गरेको थियो । यसमा चैतदेखि असारसम्म १ सय १० दिनको पहिलो चरण, साउनदेखि असोजसम्म ९० दिनको र कात्तिकको ३० दिनको भत्ता वितरण गरेको थियो । तत्कालीन स्वास्थ्यमन्त्री भानुभक्त ढकालको सचिवालयमा बस्ने उपस्वकीय सचिव गुरुप्रसाद खतिवडा (भुवन) ले चैत ११ देखि असारसम्म २ सय ३० दिनकै जोखिम भत्ताबापत १ लाख ३९ हजार ३ सय ११ लिएका छन् ।

स्वकीय अधिकृत विष्णुप्रसाद खनालले २ सय ३० दिनकै १ लाख २४ हजार २ सय र प्रशासन सहायक कृष्णबहादुर गुरुङले पनि पूरै दिनको १ लाख ७ हजार १९ रुपैयाँ भत्ता बुझेका छन् । चैतदेखि असारसम्म मन्त्री ढकालको सचिवालयमा रहेका सुरक्षाकर्मीसहित १३ जनाले जोखिम भत्ता लिएका छन् । तीमध्ये पाँच जनाले १ सय १० दिनकै भत्ता लिएका छन् । त्यस्तै राज्यमन्त्रीको सचिवालयमा कार्यरत १६ जनाले कोभिड भत्ता लिएका छन् । तीमध्ये आठ जनाले चैतदेखि असारसम्म १ सय १० दिनकै जोखिम भत्ता लिएका छन् ।

प्रकाशित : बुधबार, फागुन १९, २०७७०९:०१

आफ्नो मत ब्यक्त गर्नुहोस् :

थापा र विप्लवबीच ३ बुँदे लिखित सहमति, साँझै काठमाडौं भित्रिए विद्रोही नेताहरू