देउवासँग दाहाल-नेपालको प्रस्ताव : ‘धोका हुँदैन, नयाँ सरकारमा सहकार्य गरौं’

संसद्मा झन्डै दुईतिहाइ बहुमतनजिक रहेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) राजनीतिक रूपमा विभाजित भएपछि नयाँ सरकार कसरी बन्छ र चल्छ भन्ने अन्योल कायमै रहेका बेला दाहाल–नेपाल समूहले सरकार बनाउन नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग सहयोग मागेको छ ।

नेकपा दाहाल–नेपाल समूहले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्दै नयाँ सरकारमा सहकार्य गर्न कांग्रेस सभापति देउवासँग प्रस्ताव गरेको हो ।

चितवनमा बुधबार हुने भनिएको सभालाई सम्बोधन नगरी काठमाडौं आएका नेकपा दाहाल–नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपाल देउवालाई भेट्न बुढानीलकण्ठस्थित उनको निवास पुगेका थिए । त्यहाँ दाहाल–नेपालले सरकारमा सहकार्यका लागि प्रस्ताव राखेका थिए ।

‘प्रतिगमनविरुद्धको आन्दोलनमा जसरी हामी सबै दलसँग सल्लाह गरी अघि बढेका थियौं, अब बन्ने सरकारका लागि पनि त्यसरी नै अघि बढ्नेछौं, यसमा धोका हुँदैन, सहकार्य गरौं’, दाहाल–नेपाललाई उद्धृत गर्दैै स्रोतले भन्यो । खबर नागरिकमा प्रकाशित छ।

दाहाल र नेपालले देउवालाई भटेपछि बसेको सो समूहको संसदीय दल बैठकमा पनि प्रतिगमनविरुद्धको आन्दोलनमा जसरी अन्य दलसँग सहकार्य, सहमति भयो, त्यसरी नै नयाँ सरकार बनाउन पनि सहकार्य र सहमति हुने जानकारी गराएका थिए ।

‘यो लडाइँ सरकार बनाउनेभन्दा पनि प्रतिगमनविरुद्धको हो, ओलीको व्यक्तिगत विरोध पनि होइन, ओली प्रवृत्तिविरुद्धको लडाइँ हो, त्यसकारण संविधानको रक्षा गर्ने लडाइँ भएकाले यसमा सबैको जित भयो र आगामी दिनमा पनि अन्य दलसँग सहकार्य गरी अगाडि बढ्नेछौं’, अध्यक्ष नेपाललाई उद्धृत गर्दै सांसद झपट रावलले भने ।

प्रकाशित : बिहिबार, फागुन १३, २०७७०९:०९

आफ्नो मत ब्यक्त गर्नुहोस् :

विवाहको ७ महिनामा छोरी जन्मिइन्, आमाले नै अबोध ‘कोपिला’लाई निमोठेरै छाडिन्