कथा : सन्त्रास समय, कोरोनाले गर्दा आफ्नै भाईले दाईलाई घरभित्र पस्न नदिएपछि….

[sharethis-inline-buttons]

सिर्जना शर्मा

साउनको मध्य रात । बाहिर पानी जोडले दर्किरहेछ । अविरल दर्केको पानीको आवाजसँगै आकाश जोडले गड्किन्छ । भु..इँ..चा..लोऽऽ भन्दै अमर दौडँदै मूल ढोकामा पुग्छन् । म हतारिँदै उनको नजिक पुग्छु । “किन डराएको यसरी ? भुइँचालो हैन, चट्याङ परेको हो ।” म हाउभाउसहित साउतीमा उनलाई परिस्थिति बोध गराउँछु । निरिह बालकझैँ मेरो अनुहारमा हेर्दै उनी ढोका समाएर उभिरहन्छन् ।
‘हिँड्नुस् भित्र ।’ हात समाउँदै म उनलाई खाटमा सुताउँछु । बाछिटाले पर्दा छपक्क रुझाएछ । हतारहतार झ्याल टम्म बन्द गर्छु । खाटको साइड टेबलमा राखेको मोबाइल हेर्छु । समय २ः१४ भएको रहेछ । कोठामा बलेको मधुरो बत्तीमा उनका खुला आँखा सिलिङ, भित्ता, झ्यालका पर्दा, यत्रतत्र डुलिरहेका छन् । केही सम्झेझैँ उनी फेरि जुरुक्क उठ्छन् र ट्वाइलेट पस्छन् । केहीबेरपछि कोठामा फर्कन्छन्् र भन्छन््, “मीरा बाहिर एक हुल मान्छे हाँस्दै गफिँदै हिँडिरहेका छन् । यति राति कहाँ जान हिँडेका होलान् भनी हेरिरहेँ । सबैजना शम्भुको घरतिर पसे । …हाम्रो घरमा मात्र आजकल कोही आउँदैनन्… ।”
लामो समयदेखि म रातमा मस्त निदाउन पाएकी छैन । कहिले उनको सेवा त कहिले आफ्नै शारीरिक पीडाले निद खल्बलिन्छ । म झर्कंदै जबाफ दिन्छु,
“रातभर जाग्राम बस्नेले यस्तैयस्तै देख्छन् । …धेरै नसोच्नुस् । सुत्नुस् ।”
मेरो स्वरमा उनले पनि समानान्तर स्वर मिलाए, ‘किन हप्काएको मलाई ? म बूढो भएँ, मेरो पदकुर्सी सकियो
त्यसैले म हेप्न योग्य भएँ हैन ? …नबिर्स महारानी, साँझबिहान घरमा पाक्ने खान्की मेरै पेन्सनले धानेकोे छ ।”
उनका भनाइमा मेरो कुनै प्रतिक्रिया छैन । म झ्यालपट्टि फर्केर निदाउने कोसिस गर्छु । उनी खाटमा ध्यान मुद्रामा बसेर बर्बराइरहेका छन् । कतै रेडियोमा वाचकले कथा पढेझैँ उनका भडास्हरू मेरो कानमा ठोकिन्छन्,
“कस्तो पीडादायी समय यो ? न समय काटिने कामकाज, न मन रम्ने साथीभाइसँगको भेटघाट । मीतज्यू पनि आउनै छोडनुभो । के गरेर काट्नु यो पट्यार लाग्दो समय ?”
सामान्य हिसाबमा सबथोक छ हाम्रो जीवनमा । शान्त घरगृहस्थी, महिनावारी आउने पेन्सन, विदेशमा सम्मानित काम गरिरहेका छोराछोरी, माया इज्जत गर्ने भाइभतिजा । तर आफू रित्तो भान गर्छन् उनी सधैँ । उमेरको हदबन्दीले तीन वर्षअघि जागिरबाट अवकाश पाएपछि बिस्तारै उनको मनमा नैराश्य छाउन सुरु भयो । अर्को वर्षदेखि केले हो कुन्नि ? कान कम सुन्न थाले । कृत्रिम औजार कानमा राख्नै मान्दैनन् । बिना औजार कसैले बोलेको बुझ्दैनन् । कान सुन्न छाडेपछि उनी एकोहोरो हुँदै गए र जीवनको सार देख्न छोडे । अलि पहिलासम्म त मोबाइल हेर्थे, किताब पढ्थे । टोल समाजको समस्या सुल्झाउन नेतृत्व लिन्थे । घर नजिकै पर्ने शिव मन्दिर अगाडिको पीपल चौतारीमा साँझ बिहान टोलका समकालीनसँग कुराकानी गर्र्थे । ती सबै अहिले कोराना कहरले बन्द छन् ।
केही समयदेखि डाक्टरको सल्लाहबमोजिम
डिप्रेसनको औषधि खाइरहेका छन् । नियमित जाँचका लागि उनीलाई मनोविद् डाक्टरकहाँ लगेँ । स्वास्थ्य स्थितिमा राम्रो सुधार आएको सुनेर खुसी भएँ । घर फर्केपछि भने उनका उही कुरा दोहोरिरहे… “मीरा हाम्रो गाउँमा आजकल करोना पसेको छ रे । मध्यरातमा मैले पनि देखेँ तिनलाई । के थाहा कतिबेला मलाई नै खाने हुन् ? मलाई यसरी एक्ल्याएर नराख तिमी । जीवन अनिश्चित छ । मलाई मन परेका आफन्तसामु जान देऊ । इष्टमित्र साथीभाइ बोलाउन देऊ ।.. आफूले मन पराएका मान्छेसामु पो मन खुल्छ । दिल रम्छ । मीतकहाँ समेत मैले जानै पाइनँ । मेरो हर चाहनामा किन तगारो हाल्छ्यौ तिमी ? एक्लोपनले लघारेको यो संसार मेरा लागि कति शून्य ! कति भारी… ।’
“यताउता डुलिहिँड्ने रटना त्याग्नुस् । खास अहिले कोरोनाको डरले कसैैसँग कोही भेट गर्नै चाहन्नन् ।”
“मान्छेसँग मान्छे भागेर संसार चल्छ ?… यस्तो जाबो भाइरस कति आए कति गए । पृथ्वी नै ठप्प अडाउने अब ?? …तिमीले मलाई मुठीको माखो बनाएकी छौ । मेरा मानिस तिम्रा आफन्त भइदिएका भए बाटो फुक्थ्यो । तर त्यो भएन ।… तँलाई मन मरेको जुगेँ डाक्टरकहाँ त मलाई डो¥याउँदै लग्छेस् त ? अनि मेरा आफन्त कहाँ जान किन नहुने ?” अन्तिम शब्दभन्दा उनको स्वर ठूलो र रुखो मात्र हैन आँखा ठूलोठूलो भएको थियो ।
उनका कुराले मेरो रिस नाकको टुप्पामा पुगेको थियो । तर निलेँ । ‘पागलहरूलाई कुरा बुझाउन गाह्रो छ ।’ यति भन्दै म माथिल्लो तलामा उक्लिएँ र सोफामा ढलेँ । रातभर गिजल्टिएको निद्रा कमलो आसन पाउन नपाई मसक्क भएछ । बिउँझेर तल झर्दा कोठामा उनी थिएनन् । बाहिर भित्र यताउता हेरँे । उनी थिएनन् । मन झसङ्ग भो । “लौ अब कहाँ खोज्न जाऊँ ? हे राम !!” म राम पुकार्दै थिएँ, उनी खिस्रिक्क परेको अनुहार लिएर गेटबाट भित्रिए ।
“काँ गएको फेरि ? यसरी फुत्तफुत्त जथाभावी ननिस्कनुस् भनेर कति भन्नु ?” म खस्रो स्वरमा बोलेँ ।
‘त्यही हरिहरजीकहाँ गएको थिएँ । बरन्डामा बसेका थिएँ, भित्र पसे । स्वास्नीचाहिँले त मलाई हेर्दा पनि नहेरेर ‘वाँ हुनुहुन्न’ भन्दै झर्के जस्तो गरेर भित्र पसी बाऽऽ ….कस्तो अच्चम्म !! पहिला त पुग्न नपाउँदै ‘च्या ल्याउँ सर ?’ भन्थी । अहिले के कुराको मात लाग्यो त्यसलाई कुन्नि ?… मलाई त कस्तो ननिको लाग्यो छिऽऽ । अब त त्याँ कहिल्यै पनि जान्नँ ।’
“अनि यस्तो बेला कसैको घर जान हुन्न भनेर कति भन्नु तपाईंलाई ? मैले त बोल्यो कि विष हुन्छ ।” रुखो स्वरमा भनेँ  ।
“याँ पनि नजानू, वाँ पनि नजानू । यही कोठामा कोच्चिएर मरुँ ? म पिँजडाको सुगा हैन, मान्छे पो हुँ । दुनियाँका मान्छे निर्धक्क हिँडेका छन्, कामकाज ग¥या छन्, तिनलाई केही भा छैन । मैले चाहिँ कसैसँग भेट्नै नपाउने किन ? मानौँ म नै कोराना भाइरस हुँ जस्तो ।” उनी दुई हातले टाउको समाएर सोफामा थ्याच्च बसे ।
केही दिनपछिको एक अपरान्ह ल्यान्डलाइनको फोनमा आएको खबरले मलाई चिसो गरायो । मीतज्यूका भान्जा प्रवीणले जानकारी दिँदैै थिए “…मामालाई कोरोना पोजेटिभ देखिएको थियो । दुई दिनमा अस्पतालमै परलोक हुनुभो । …दाहसंस्कारमा पनि छोरोबाहेक परिवारका सदस्य पनि सामेल हुन पाएनन् ।”
“हरे राम ।” मेरा शब्द यत्तिमै अडिए ।… आँखामा पानी भरियो । म सारीको सप्कोेले पुछ्न थालेँ । यो खबर उनलाई कसरी सुनाऊँ ? सुनाएपछिको नतिजा के हुने हो ? म सोचमा थिएँ, उनी प्रश्न वर्षाउन थाले, “कसको फोन ? के भएछ मीरा ? केही दुःखका कुरा…?”
भूमिका बाँध्ने अवसरै थिएन । गहमा भरिएका आँसु चोरऔँलाले पुछ्दै भनेँ, “हजुरको मीतज्यू परलोक हुनु भो रे । भान्जाको फोन… ।”
‘मीतज्यू बित्नु भो रे ? के सुनेँ यो ?’ उनी आमाको पिटाइ खाएको बालकझैँ एकछिन क्वाँक्वाँ रोए । अनि निरिह स्वरमा भन्न थाले, “मीत भनेको जेठो दाइ समानको नाता हो । जीवनको सुखदुःखमा साथ दिने प्यारो व्यक्ति… । कस्तो अचम्म थाहै नदिई उहाँ हामी सबैलाई छाडेर जानुभो ?… मैले पटकपटक भनिराथेँ, मीतज्यू कहाँ जाऊँ भनेर मेरो कुरा कसैले सुन्दैनन् । उहाँलाई भेट्ने मेरो तीर्खा दिवङ्गत शरीरमा फूल चढाएर मेटिन्छ ? कस्तो दुःखद् ?… अन्तिम दर्शन गर्न भए नि म जान्छु छिट्टै… ।”
“कसरी जानु छिटो ? देश पूरा लकडाउनमा छ । सवारी साधन चलेका छैनन् । कोरोनाबाट मृत्यु भएका कारण उहाँको घरमा कोही जानसमेत पाइन्न रे । दाहसंस्कार त परिवारको साटोे सेनाले ग¥यो रे । यस अवस्थामा उहाँका लागि हामीले जेजसो गर्ने हो त्यो यहीँ गर्नुपर्छ ।”
“तँ पागल भइस् मीरा ? मीत बित्दा पनि म उनको घरमा नपुग्नु ? मलामी नजानु ? परिवारलाई समवेदना नदिनु ? यही हो हाम्रो धर्म ? यही हो हाम्रो संस्कार ? …१०० चोटि भने, ‘मीतज्यूकहाँ जाऊँ भनेर । महामारीका बेला कहीँ जानु हुन्न रे, दुस्मनी कमाइन्छ रे । …तेरो माइत जाऊँ भनेको भए पुच्छर ठाडो पार्दै दुगुर्थिस् । मेरो नातागोतासँग तेरो के आत्मीयता ? अब मेरो बाटो कसैले छेक्न सक्दैन,” उनी चिच्याउँदै गेटबाट बाहिरिए ।
अब के गरौँ, मैले सोच्न सकिनँ । उनलाई रोक्न पछिपछि दौडेँ, गोडामा जुत्ताबिना । बाटो हिँड्दै गरेका दुई जना किशोर मलाई हेरेर हाँस्दै अगाडि बढे । आफ्नो परिस्थितिसँग लाज लागेर आयो । हेर्दाहेर्दै उनी छेलिए । उनलाई छोप्ने मेरो प्रयास पनि छेलियो । म सडकको पेटीमा थ्याच्च बसेँ । शून्य भएँ । त्यसैबेला गस्तीमा हिँडेका पुलिसले मलार्ई घरजान भने । घरको गेटमा पुग्दा एउटा पुलिसको साथ उनी पनि मूल गेटमा देखिए ।
निदको गोली खाएपछि त्यो साँझ उनी मस्त सुते । भोलिपल्ट आकाशमा सूर्य निकै माथि पुग्दा भान्सामा खाना खान पसे । खाँदै गर्दा सोचेझैँ उनले भने, “मीरा मलाई यहाँ बस्नै मन छैन । मसानघाटजस्तै लागिरहेछ यो घर । …जाऊँ अन्तै बस्न ।”
“काँ जाने आफ्नो घर छोडेर ?”
केही सम्झेझैँ गरी उनले भने, “श्यामकहाँ जाऊँ ।”
“हुन्छ । जानुस् ।” मैले ओठ बाँधेँ ।
“किन ओठ बाँधेकी मीरा ? हामी अंशको दाबीमा लड्ने दाइभाइ हैनौँ, वंशको उदाहरण हाँै …।”
‘संसार अहिले कोराना कहरमा छ । यस्तो बेला कोही घरमा आएको कसैलाई मन पर्दैन । श्याम बाबु त अझ कोभिडसँग बेपत्तै डराउनु हुन्छ ।”
उनले अनुहार कच्याककचुक पारे र रुखो स्वरमा भने, “फेरि कोरोनाका कुरा । दाइभाइबीच नै भेटघाट नहुने कतै हाम्रो संस्कारमा छ ? मलाई कोराना भा’छ ? मेरो भाइलाई पनि भा छैन । अनि किन हामीबीच यो दूरी ? …पहाड ढले पनि पृथ्वी फाटे पनि त्यो कोरोने भूतले हामी भाइभाइको प्यारो सम्बन्ध तोड्न सक्दैन । …मेरो मीतज्यू मलाई थाहै नदिई बित्नुु भो । अब मेरो प्यारो भाइलाई नभेटी म मरुँ ? एक्लै जिउने एक्लै मर्ने भए सारा यो जगत् के प्रयोजनका लागि हो ?” बोल्दै बोल्दै उनी जुरुक्क
उठे र कोठामा पसे ।
खानपिन सकेर म करेसाबारीतिर लागेँ । केही बेरमा भित्र पस्दा उनी कोठामा थिएनन् । म हतारिँदै उनलाई खोज्न हिँडे । बाटोमा छिमेकी प्रमिलाले पो जानकारी दिइन्, “दाइ त श्यामकाँ पुगेर आउँछु भन्दै हुनुहुन्थ्यो… ।” म हतारिँदै त्यतै सोझिएँ । गेटमा उभिएका रहेछन् उनी ।
निकैबेर कलबेल बजाएपछि भाइबुहारीले एकसाथ बरन्डाबाट हेरे । दाइलाई देख्दा श्यामबाबु अनौठो भावमा बोल्नु भो, “अमर दाइ, यस्तो महामारीका बेला तिमी काँ हिँडेको ? तिमीलाई ज्यानको माया छैन…?”
उनी आफ्नै सुरमा बोलिरहे, “श्याम तिमी त मकहाँ आउनै छोड्यौ ? साह्रै नियास्रो लागेर मै आएँ… ।’
“समय जोखिमपूर्ण छ दाइ । यस्तो बेला ज्यान जोगाउनू, परिवार जोगाउनुपर्छ । …भेटघाट गर्ने दिन त फेरिफेरि आइहाल्छ नि ।”
“जाऊँ घर ।” मैले उनको हात बिस्तारै ताने ।
“छोड् ।” उनले जङ्गिँदै हात हटाए ।
‘कस्तो एकहोरो तपाईं ? यस्तो बेला बाबुले कसैलाई भेटनु हुन्न के… !”
“..तिमीलाई हतार भए जाऊ । म भाइलाई नभेटी जान्नँ ।… जीवन अनिश्चय छ । के थाहा मेरो जीवन पनि मीतज्यूको जस्तै दुई दिन नै फुस्स हुने हो कि ? बित्नुअघि भाइलाई मायाको अँगालो हाल्छु ।”
मेरो केही लागेन । हामी गेट बाहिर उभिइरह्यौँ । आकाशको रङ्ग धमिलिँदै गयो । श्याम बाबुको झ्यालका पर्दा टम्म कसिए । सडकका पोलमा बिजुली बले । मेरो मोबाइलमा टिङ्ग आवाज आयो । हेरेँ, श्यामबाबुको मेसेज रहेछ । हामीले एकसाथ पढ्यौँ “सरी दाइ–भाउजू, कोरोना सकिएपछि रमाइलो भेटघाट गरौँला, अहिलेलाई यस्तै भो… ।”

प्रकाशित : शनिबार, फागुन ०८, २०७७१०:३९

आफ्नो मत ब्यक्त गर्नुहोस् :

विश्वमै नभएका यी हुन् पाकिस्तानका निकै आश्चर्यलाग्दा र अनौठा १० कानुनहरु !