माघ शुक्ल पञ्चमीका दिन मनाइने ‘श्रीपञ्चमी’ पर्व आज विद्याकी अधिष्ठात्री देवी सरस्वतीको निष्ठापूर्वक पूजा–आराधना गरी मनाइँदैछ । चन्द्रमाजस्तो गोरो वर्ण भएकी तथा हातमा वीणा र पुस्तक लिएकी विद्याकी देवी सरस्वतीलाई भक्तजनहरूले भारती, शारदा, हंसवाहिनी, जगन्माता, वागीश्वरी, कौमारी, वरदायिनी, बुद्धिदात्री, ब्रह्मचारिणी, चन्द्रघण्टा र भुवनेश्वरीजस्ता नामले पुकार्छन् ।
विद्या र सिर्जनाकी देवी भएकाले विशेष गरी साहित्यकार, कलाकार, पत्रकार, शिक्षक र विद्यार्थी आ–आफ्ना कला–साधनाका वस्तु कलम, कापी, कुची र वाद्ययन्त्र आदिलाई सरस्वतीका रूपमा पूजा–आराधना गर्छन् । सरस्वतीलाई तान्त्रिकहरूले तन्त्र सिद्धिका लागि तारादेवीका रूपमा मान्छन् ।
सूर्य उत्तरतिर लागी दिन लामो हुने र वसन्त ऋतु प्रारम्भ हुने विश्वासका साथ आजको दिनलाई ‘वसन्त पञ्चमी’ पनि भनिन्छ । ऋग्वेदमा वाग्देवीका नामले प्रसिद्धि पाएकी ब्रह्माकी अर्धाङ्गिनी ब्रह्मायणीको पूजा उपासनाले सबै प्रकारको ज्ञान, सिद्धि र सद्बुद्धि प्राप्त हुने उल्लेख छ । यसैकारणले सरस्वती पूजालाई ठूलो महत्व दिइन्छ । आजका दिन सरस्वतीको पूजा गरी विद्यारम्भ गरेमा सर्वसिद्धि प्राप्त हुन्छ भन्ने विश्वास छ ।
आजका दिन विवाह, व्रतबन्ध, गुफा राख्ने र बेलविवाह (इही) जस्ता सामाजिक तथा धार्मिक कार्य गर्न साइत हेर्नुपर्दैन भन्ने मान्यता छ । यस वर्ष भने शुक्र अस्त भएकाले विवाह, व्रतबन्ध जस्ता कर्म यस पर्वमा गरिँदैन । यस दिन बालबालिकालाई शिक्षारम्भ गराउने र नाक–कान छेड्न पनि शुभ मानिन्छ ।
उपत्यकाका स्वयम्भू, मैतीदेवी र गैरीधारास्थित नीलसरस्वती, ललितपुरको लेलेलगायत अन्य जिल्लामा रहेका सरस्वतीका मन्दिरमा आज बिहानैदेखि पूजाआजा गर्न भक्तजन, खासगरी छात्रछात्राको घुइँचो लाग्ने गर्छ । सरस्वतीलाई चढाइएको सात गेडा अक्षता निलेमा विद्या र बुद्धि स्फुरण भई विद्यादेवीबाट चेतनाको ज्योति पाइन्छ भन्ने धार्मिक विश्वास छ । यस अवसरमा हनुमानढोका दरबारमा वसन्त श्रवण गरिन्छ । वसन्त श्रवणमा राजतन्त्र हुञ्जेल राजा जाने गर्नुभएकामा लोकतान्त्रिक गणतन्त्र स्थापना भएपछि राष्ट्राध्यक्षका नाताले राष्ट्रपतिको उपस्थिति हुन थालेको छ ।
नेपाल पञ्चाङ्ग निर्णायक समितिले दिएको साइत अनुसार बिहान १०ः१७ बजे हनुमानढोकाको नासलचोकमा वसन्त श्रवणको कार्यक्रम राखिएको छ । वसन्त श्रवणमा राष्ट्रपति विद्यादेवी भण्डारी पनि सहभागी हुने हनुमानढोका दरबार हेरचाह अड्डाका कार्यालय प्रमुख सन्दीप खनालले जानकारी दिए ।
वसन्त पञ्चमीमा शुभ संयोग :
यस पटक वसन्त पञ्चमीक दिन रवि योग र अमृत सिद्धि योगको खास संयोग बनेको छ। पूरा दिन रवि योग बनेको कारण यस दिनको महत्व अझ बढेको छ। बिहान ७ बजेदेखि दिउँसो १२:४५ सम्म पूजाको शुभ मुहूर्त छ।
वसन्त पञ्चमीको महत्व
शिक्षा प्रारम्भ गर्न या कुनै नयाँ कला सुरुवात गर्नको लागि यो दिन शुभ मानिन्छ। यस दिन गृह प्रवेश पनि गरिन्छ। आज कामदेव पत्नी रतिसँग पृथ्वीमा आउने मान्यता छ। यसकारण पति-पत्नीले यस दिन भगवान कामदेव र देवी रतिको पूजा गरेमा तिनको वैवाहिक जीवनमा कुनै मुश्किल आउने छैन। यस दिन लक्ष्मी र भगवान विष्णुको पूजा गर्ने विधान छ।
कसरी गर्ने माता सरस्वतीको पूजा ?
पहेलो या सेतो वस्त्र धारण गर्नुहोला। त्यसपछि पूर्व या उत्तर दिशातर्फ फर्केर पूजा गर्न सुरु गर्नुहोला। माता सरस्वतीको मूर्तिलाई पहेलो वस्त्र ओच्छ्याएर त्यस माथि स्थापित गर्नुहोला र कसरी, चामल, पहेलो फूल, मिठाई, मिश्री दही आदि प्रसादको रुपमा राख्नुहोला। माता सरस्वतीलाई चन्दन र पहेलो या सेतो पुष्प दाहिने हातले अर्पण गर्नुहोला। खीर अर्पित गर्नु सर्वोत्तम हुनेछ। त्यसपछि माता सरस्वतीको मूल मन्त्र ॐ ऐं सरस्वत्यै नमः जप गर्नुहोला। मन्त्र जप अघि प्रसाद ग्रहण नगर्नुहोला। कसैलाई अपशब्द नबोल्नुहोला। र साथै बोटबिरुवालाई कुनै नोक्सान नपुर्याउनुहोला।