मसाल जुलुसबाट फर्कंदै गरेका नेकपाका सर्लाही इन्चार्ज बाटोमा मृत भेटिए

सर्लाही : मसाल जुलुसबाट फर्कंदै गरेका नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य तथा सर्लाही जिल्ला इन्चार्ज डाचाराज वाग्ले बाटोमा मृत भेटिएका छन्। जिल्ला प्रहरी कार्यालयका अनुसार उनको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको हो।

हरिपुर नगरपालिका–१ हजारबिगहा बस्ने अन्दाजी ४६ वर्षीय वाग्ले बुधबार साँझ बरहथवामा मसाल जुलुस निकालेपछि मोटरसाइकलमा राजमार्गतर्फ आउँदै थिए । उनलाई बुधबार राति पौने ९ बजे मुर्तिया वन कार्यालयनजिक जंगलमा लडिरहेको अवस्थामा मृत भेटिएका थिए। बरहथवा नगरपालिका-९ मुर्तिय वन कार्यालय नजिकबाट अबेर राति नयाँ रोड जाँदै गरेको उनको ज १० प ३२०६ नम्बरको मोटरसाइकल दुर्घटना भएको हो।

अबेर राति हिँडेका उनी बाटोमा पर्ने जंगलमा लडिरहेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । मोटरसाइकलबाट लडेका वाग्लेलाई स्थानीयले बरहथवास्थित प्राथमिक स्वास्थ्य केन्द्रमा लगिएको थियो तर चिकित्सकले मृत्यु भइसकेको घोषणा गरे।

प्रहरी उपरीक्षक सन्तोषसिंह राठौरका अनुसार वाग्लेको टाउको र खुट्टामा गम्भीर चोट लागेको छ। प्रहरीको प्रारम्भिक रिपोर्ट अनुसार वाग्लेले तीव्र गतिमा मोटरसाइकल हाँकेको कारण या जङ्गली जनावरले बाटो काट्दा दुर्घटना भएको अनुमान छ।

बुधबार दिउँसो बरहथवामा पार्टीको जिल्ला कमिटीको पूर्ण बैठकमा सहभागी भई साँझ वाग्लेले मसाल जुलुसको नेतृत्व गरेका थिए । वाग्ले नेकपाको प्रचण्ड-नेपाल समूहका नेता हुन्।

प्रकाशित : बिहिबार, माघ २२, २०७७११:१३

आफ्नो मत ब्यक्त गर्नुहोस् :

बन्दको अवज्ञा गरेको भन्दै चार ट्रकमा तोडफोड