आगामी निर्वाचनमा जनमत बटुल्न ओलीको यस्तो ट्रिक, हिँडे देश दौडाहामा

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले माघ १२ गते दाङ पुगेका बेला त्यहाँको राप्ती गाउँपालिका–७ र गढवा गाउँपालिका जोड्ने राप्ती पुल उद्घाटन गरे । जबकि यो पुलको निर्माण असारमै सकिएर प्रयोगमा आइसकेको छ । कात्तिक २६ गते चार्ज भएर प्रयोगमा आइसकेको ४ सय केभी क्षमताको नेपालकै पहिलो ढल्केबर सबस्टेसन पनि ओलीले सोमबार उद्घाटन गरे । ४ सय केभी सबस्टेसन कात्तिकमा र २२०/१३२ केभी सबस्टेसन पुस १९ मै चार्ज भइसकेको छ । यो समाचार कान्तिपुर राष्ट्रिय दैनिक पत्रिकामा प्रकाशित छ।

पुस ५ मा प्रतिनिधिसभा विघटन गरेर वैशाखमा चुनाव घोषणा गरेयता प्रधानमन्त्री ओली शिलान्यास र उद्घाटनलाई तीव्रता दिँदै जस लिने ध्याउन्नमा लागेका छन् । उनीजस्तै केही मन्त्री पनि उद्घाटन र शिलान्यासका लागि देश दौडाहामा छन् । प्रधानमन्त्री बिहीबार म्याग्दीको दानामा निर्माण भइसकेको दाना सबस्टेसन उद्घाटन गर्न जाँदै छन् । उद्घाटन मात्रै होइन काम सुरु भइसकेका आयोजनाको समेत उनले शिलान्यास गर्न भ्याएका छन् । उनले चितवनमा निर्माणाधीन सिटीहलको माघ १७ गते शनिबार शिलान्यास गरे । २७ महिनामा सक्ने भनिएको यो परियोजनाको मंसिर १८ गते सम्झौतापछि काम सुरु भइसकेको थियो । सामान्यतया पूर्वाधार निर्माणको सुरुवात गर्दाताका शिलान्यास गर्ने प्रचलन छ । तर, आफ्नो सरकारको नेतृत्वमा काम भएको देखाउन ओलीले निर्माण सुरु भइसकेपछि शिलान्यास गरिरहेका छन् । सरकारले काम गरिरहेको सन्देश दिन प्रधानमन्त्री ओलीले उद्घाटन र शिलान्यासमा जोड दिइरहे पनि यस्ता कार्यक्रमको प्रमुख ध्येय आगामी निर्वाचनमा जनमत बटुल्नु रहेको विश्लेषकहरू बताउँछन् ।

राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष मीनप्रसाद श्रेष्ठ प्रधानमन्त्री र मन्त्रीले गरिरहेको शिलान्यास र उद्घाटनको काम जनताका लागि अर्थपूर्ण नभई सत्तासीनहरूका लागि राजनीतिक लाभ लिने उद्देश्यले गरिएको बताउँछन् । ‘प्रधानमन्त्रीसहितको टिम संसद् विघटन हुनुअघि नै यत्तिको तदारुकतासाथ विकास निर्माणको अनुगमन र योजनामा खटिएको भए अहिले यो अवस्था आउने थिएन,’ उनी भन्छन्, ‘चुनाव घोषणा भएपछि उद्घाटन र शिलान्यासमा गरिएको दौडधुप राजनीतिक लाभ हासिलका लागि गरिएको हो ।’ धेरैअघि पूरा भइसकेका आयोजना उद्घाटन गर्न जाने र सोही बहानामा राजनीतिक भेला गर्दै चुनावी अभियान गर्नु शक्ति र सत्ताको दुरुपयोग भएको श्रेष्ठको ठम्याइ छ ।

सोमबार धनुषाको ढल्केबरमा सबस्टेसन उद्घाटनलगत्तै भएको सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेकपामा आफ्नो विरोधीलाई काम नलाग्ने समूह भन्दै उनीहरूले पार्टी छाडेर गए कुनै फरक नपर्ने टिप्पणी गरे । सरकारले मधेसमा विकास निर्माणको कामलाई तीव्रता दिएको भन्दै उनले मधेसमा सडक बन्न थालेपछि युवाहरूले बाइक चलाउँदा हात छाडेर चलाउन थालेको भन्दै सहभागीलाई हँसाए । ‘पहिला यहाँ गाडी चढ्दा पनि हेलमेट लगाउनुपर्ने अवस्था थियो,’ उनले भने, ‘अहिले बाइक चलाउनेले पनि ह्यान्डमा नसमाई चलाउन थालेका छन् ।’ ढल्केबरमा उद्घाटनपछि राजनीतिक सभालाई सम्बोधन गरेका ओली सोही दिन सिराहा पुगे । यस्तै, चितवनमा सिटीहल शिलान्यासका क्रममा उनले मेयर रेणु दाहाललाई भुराभुरीको संज्ञा दिए ।

प्रकाशित : बुधबार, माघ २१, २०७७११:०९

आफ्नो मत ब्यक्त गर्नुहोस् :

एमसीसीविरुद्ध नारा लगाएपछि मुन्टो तल झारेर चुप लागे  प्रचण्ड, झस्किएर रोके नारा लगाउनलाई