‘१० हजारमा लाइसेन्स बन्ने जमाना गए हजुर’

नेपालगन्ज : कारकाँदोस्थित यातायात व्यवस्था कार्यालयमा सोमबार बिहान १० बजे पुग्दा गेटमा रातो कुर्था र कालो सुरुवाल लगाएकी अधबैंसे महिलाले मुस्कानसहित प्रश्न गरिन्, ‘के कामले आउनुभएको हो ? म गरिदिन्छु नि !’ सुरुमा ग्राहकका रूपमा प्रस्तुत हुन गाह्रो भयो। संवाददाताले स्कुटर नवीकरण गर्न आएको हुँ भनेपछि उनले एक जना पुरुषलाई डाकिन्। ‘४३ सय रुपैयाँ राजस्व पर्छ। सेवाशुल्क तीन सय रुपैयाँ मात्र। सबैभन्दा सस्तो’, उनले फकाउन खोजिन्, ‘हजुर आफैंले गर्दा धेरै समय लाग्छ। हेर्नुस् त बैंकमा कत्रो लाइन छ। राजस्व शाखामा त्यो भन्दा लामो छ। हजुर १२ बजे लिन आउँदा तयार हुन्छ।’ यो खबर अन्नपूर्ण पोस्ट राष्ट्रिय दैनिक अखबारमा प्रकाशित छ। खबर शंकरप्रसाद खनालले लेखेका हुन्।

१० बजेर ११ मिनेट जाँदासम्म कार्यालयमा काम सुरु भइसकेको थिएन। कार्यालयकोे पूर्वउत्तरतिरको नेपाल इन्भेस्टमेन्ट बैंकको शाखा, पश्चिम-उत्तरमा राजस्व शाखा र फोटो खिचाउन सेवाग्राही लाइनबद्ध भइसकेका थिए। लाइनमा सेवाग्राहीभन्दा बढी बिचौलिया थिए। डुडुवा-५ कम्दीका वसन्त यादवलदे भने, ‘बाइक बेचें। पास गर्न आएको छु। साथी बिचौलिया छ। सबै काम उसैले गर्छ।’ ट्याक्टर बेच्न आएका बर्दिया बढैयाताल गाउँपालिका-जमुनीका आइतबारी खटिक दक्षिणतिरको चियापसलमा ढुक्कसँग बसेका थिए। ‘मैले के गर्नु छ। सबै उसैले (बिचौलिया) गर्छ। काम बनेपछि ल्याएर दिन्छु। कतै नजानु भनेको छ’, उनले भने, ‘काम बनेपछि पाँच सय/हजार दिऔंला।’

कार्यालयमा कर्मचारीसँग आफैंले काम गर्ने सेवाग्राही भेट्नै मुस्किल थियो। अपवाद भेटिए, बर्दिया मधुवनमा क्याम्पसमा अध्यापन गर्ने दिलीप लामिछाने। ‘किन दलाललाई पैसा दिने ? म आफैं काम गर्न सक्छु’, मोटरसाइकल नवीकरण गर्न आएका उनले भने।

प्रकाशित : मङ्गलबार, भदौ ०३, २०७६०७:२७

आफ्नो मत ब्यक्त गर्नुहोस् :

आफूलाई हिन्दुवादी देखाउन पशुपतिमा पुगेर ओलीले फ्याट्टै गरे यस्तो निर्णय