निर्वाचन बहिष्कार गरेका तिङ्लावासी भन्छन् – ‘वडाध्यक्ष भए पनि निर्वाचन होस्’

ओखलढुंगा : सोलुखुम्बुको तिङ्ला गाउँ जनप्रतिनिधिविहीन छ। तर, निर्वाचन आयोगले उपनिर्वाचनमा समेटेको छैन। अन्य ठाउँका रिक्त पदमा भने मंसिर १४ गते उपनिर्वाचन गर्ने तयारी छ। यहाँका बासिन्दाले पहिले निर्वाचन बहिष्कार गरी आफ्ना माग सम्बोधन गराएका थिए। विकासमा पछि पर्दा जनप्रतिनिधिको अभाव महसुस भएको स्थानीय गम्बु शेर्पा बताउँछन्। ‘वडाध्यक्षको मात्रै भए पनि निर्वाचन होस्’, उनी भन्छन्, ‘कर्मचारीले मात्रै नचल्ने रहेछ।’ यो खबर अन्नपूर्ण पोस्ट राष्ट्रिय दैनिक अखबारमा प्रकाशित छ। खबर शिवप्रसाद ढुंगानाले लेखेका हुन्।

सोलुदूधकुण्ड नगरपालिकाको सीमामा पथ्र्यो, साबिकको तिङ्ला गाविस। स्थानीय तह पुनःसंरचनाका क्रममा जिल्लाको सिफारिसविपरीत नेचासल्यान गाउँपालिकामा समेटिएको थियो। त्यसको विरोधमा स्थानीयले तीनै तहका निर्वाचन बहिष्कार गरे। स्थानीय तह निर्वाचनमा ‘नो भोट नो क्यान्डिटेट’ अभियान चलाए। गाउँबाट कुनै पदमा उम्मेदवारी परेन। कसैले मतदान गरेनन्। यहाँको मतदाता संख्या २ हजार ४ सय ७६ छ। अपायक क्षेत्रमा समेटिएको भन्दै स्थानीयले स्वायत्त तिङ्ला गाउँपालिका संघर्ष समिति गठन गरेका थिए।

सरकारले फेरि अन्याय गरेको स्थानीय ललितबहादुर कार्की बताउँछन्। ‘हाम्रो माग निर्वाचन बहिष्कार थिएन। गलत निर्णय सच्याउनुपर्छ भन्ने थियो’, उनी भन्छन्, ‘मागको सुनुवाइ नहुँदा आन्दोलनले बहिष्कारको रूप लियो। निर्वाचन नगर्ने सरकारको लाचारी प्रवृत्ति निन्दनीय छ।’

प्रकाशित : शनिबार, साउन ३२, २०७६०७:२०

आफ्नो मत ब्यक्त गर्नुहोस् :

भत्ता काटिदिएको भन्दै ढिला आउन थाले अदालतका कर्मचारी, न्यायमा विलम्ब