चिनले अगाडि सरेको ‘एक क्षेत्र एक मार्ग’ को अवधारणाबारे छलफल

काठमाडौँ, २७ कात्तिक – चीन सरकारले अघि सारेको ‘एक क्षेत्र: एक मार्ग’ अवधारणाले यसमा संलग्न नेपालसहितका राष्ट्रलाई फाइदा पुग्ने सम्बन्धित क्षेत्रका जानकारहरूले बताएका छन् ।

नेपाल–चीन मैत्री मञ्चले आज यहाँ आयोजना गरेको ‘मार्ग र क्षेत्र प्रयासको संरचना’ विषयक कार्यशालाका सहभागीले एक क्षेत्र र एक मार्गबाट भौतिक पूर्वाधारको क्षेत्रमा सबैलाई लाभ हुनेमा जोड दिएका हुन् । नेपालका लागि चीनका राजदूत यु होङले चीन नेपाल स्वतन्त्र व्यापार सम्झौताको सम्भाव्यता अध्ययन यसै वर्ष पूरा हुनेमा आफू विश्वस्त रहेको बताउँदै चीन र नेपालबीच आर्थिक तथा व्यापारिक सम्पर्क विस्तारका साथै सांस्कृतिक आदानप्रदान अभिवृद्धि भएको बताउनुभयो ।

गत वर्षको तुलनामा यस वर्ष ६० प्रतिशत पर्यटक नेपाल भ्रमणमा आएका जानकारी दिँदै नेपालको सामाजिक आर्थिक विकास चीनको प्राथमिकतामा रहेको उहाँले बताउनुभयो । पूर्व परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले नेपाल संक्रमणकालको अन्त्यमा रहेको बताउँदै आगामी महिना हुने प्रतिनिधिसभा÷प्रदेशसभाको निर्वाचनबाट नेपालमा राजनीतिक स्थायित्व कायम हुने विश्वास व्यक्त गर्नुभयो ।

मञ्चका अध्यक्ष कल्याणराज शर्माको सभापतित्वमा भएको कार्यशाला उद्घाटनसत्रमा अर्थसचिव शंकरप्रसाद अधिकारीले एक क्षेत्र एक मार्गमा आबद्ध राष्ट्रबीच मैत्री र सहयोगलाई प्रगाढ तुल्याउँदै भौतिक पूर्वाधार निर्माण तथा समृद्धि प्राप्तिमा जोड दिनुभयो । उहाँले एक क्षेत्र एक मार्गअन्तर्गत हिमालयपार रेल तथा सडक परियोजना, भौतिक पूर्वाधार विकास, लगानी तथा व्यापार प्रवद्र्धनका साथै व्यापार विविधिकरणमा नेपाललाई सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

कार्यशालामा दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) का सदस्य माल्दिभ्स र श्रीलंकाबाहेक सबै सदस्य देशका अर्थशास्त्रीको सहभागिता थियो ।

प्रकाशित : सोमबार, कार्तिक २७, २०७४१४:१०

आफ्नो मत ब्यक्त गर्नुहोस् :

मंगलबार राति खाना खाएर सुतेका चौधरी बिहान मृत फेला